बालाराम घर्तीमगर
नेपालमा बस्नेलाई नेपाली, भारतमा बस्नेलाई भारी, बङ्गालमा बस्नेलाई बंगाली भनेझैं हिमवत्खण्ड बस्नेलाई हिन्दु नभनेर के भन्ने ? प्राचीनकालदेखि हिमवत्खण्डमा बस्ने हामी मगरहरू हिन्दुु हौं ।
हाम्रा संस्कार—संस्कृति, जीवन पद्धति, प्रथा र बसोबासका आधारमा पनि हामी हिन्दु हौं भन्ने विषय आफै प्रष्ट हुन्छ । गाईको पूजा गर्ने, कुल देवता पुज्ने, दसैँ–तिहार मान्ने, टीका र जमरा लगाउने, भूमी देवता, थानी देवता आदि पूजा गर्ने, महादेव, राम, कृष्ण, गौतम बुद्ध, महावीर, गुरु नानक आदिका पूजा, आरधना गर्ने ॐ कार परिवारले आफूलाई हिन्दु भन्न कुनै संकोच मान्नुपर्दैन ।
यही हिमवत्खण्डमा नै ऋषिमुनिहरूले वेद, उपनिषद्, पुराणलगायतका ग्रन्थहरूको निर्माण गरेका थिए । यिनै ग्रन्थहरूबाट हिन्दुधर्मले अझ सशक्त र मूर्तरूप लियो । आदिमकालदेखि यस क्षेत्रमा हिन्दु धर्मका विकास र वैभव थियो । यस क्षेत्रमा सनातन धर्मबाहेक अन्य धर्मको संकेतसम्म थिएन ।
वैदिक सनातन धर्म कुनै धर्मगुरु वा महात्मा विशेषले स्थापना गरेको होइन, सृष्टिको उषाकालदेखि मान्दै आएको धर्म हो । महापुरुष, महात्माबाट पछिल्लो कालमा अन्य धर्मको जन्म भएको देखिन्छ तर हाम्रो सनातन हिन्दु धर्म अपौरुषेय (कसैले पनि निर्माण नगरेको) र अनादि हो । प्रष्ट नभएका विषयलाई खोज–अनुसन्धान गर्नुपर्छ, अग्रजलाई सोध्नुपर्छ, आफ्नो परम्परालाई हेर्नुपर्छ ।
स्वार्थका लागि कोहीसँग रिस उठ्यो भन्दैमा इतिहासलाई बिर्सन र बंग्याउनु हुँदैन । योजस्तो महाअपराध अर्को केही मानिँदैन । भोलिका चेतनशील सन्तानले इतिहास बिगार्नेलाई माफ गर्ने छैनन् । तितोमिठो जे भए पनि इतिहास भनेको इतिहासै हो, त्यसलाई स्वीकार गर्नुपर्छ । गल्ती र कमजोरीलाई सुधार्दै जानुपर्छ । केही मगरहरूले आफूलाई कौशिक गोत्र भन्छ ।
कौशिक महर्षि थिए । उनी त हिन्दुका छोरा, हिन्दुका नाति थिए । त्यो विषयलाई शान्त र विवेकी भएर सोच्नुपर्दछ । शास्त्रका अध्ययन नगर्ने, आफूले इतिहासको खोजी नगर्ने, अरुले जे भन्यो त्यसैमा विश्वास गर्ने, मद्यपानमा लठ्ठिने भएपछि हाम्रो हामी आफैले आफू को हो ? भन्ने विषय भुल्दै गएका छौँ ।
हामो परम्परामा दुई वटा दसैँ छन् । चैतमा मान्ने दसैँलाई सानो दसैँ र आश्विनमा मान्ने दसैँलाई ठूलो दसैँँ भनिन्छ । मगर भाषामा ‘बडे’ का अर्थ ठूलो हुन्छ । यसरी आश्विनको दसँैलाई मगरभाषाबाट नै बडादसैँ नामकरण गरिएको हो ।
हिन्दुहरूको दोसो ठूलो चाड हो तिहार । तिहारमा गाईलाई लक्ष्मीका रूपमा विशेष विधिविधानले पूजा गरिन्छ । गाईलाई पिढोँका साथ नुन पनि खुवाइन्छ । हाम्रो क्षेत्रमा यही कि गाईलाई नुन ख्वाउन नुनथलो, पानीघाट वा गौचरमा भेला गरिन्छ । जौँ,मकै आदिको पीठोमा चामलको रोटी एवं नून मिसाएर गाईलाई खुवाउने पदार्थ तयार गरिन्छ जसलाई मगर भाषामा ‘ती’ भनिन्छ ।
मगर भाषामा ‘हार’को अर्थ गाई हुन्छ । यसरी तिहारको शब्दको उत्पत्ति शब्द मगर भाषाबाट भएको हो भन्ने पुष्टि हुन्छ । गाईलाई हाम्रा पुर्खाहरूले आमाका रुपमा मान्दै आएका हुनाले गौमा पनि भनिन्छ । अहिले पनि परम्परागत रूपमा गाई तिहारका दिन लामो तोरण बाटेर गोठमाथि टाँगिन्छ । तोरण जति लामो भयो, उति नै गाई वा पशुधन वृद्धि हुन्छ भन्ने मान्यता छ । भौगोलिक रूपले पनि हाम्रो क्षेत्र गाईपालनका लागि उपयुक्त छ । पहाडी क्षेत्रमा भैँसीहरू हिँड्न सक्दैनन् ।
गाईको दूधले चिसोबाट लाग्ने रोग एवं समस्यालाई हटाउँछ, गोरुलाई जोत्न प्रयोग गरिन्छ । जन्मदेखि मृत्युपर्यन्त एवं कृषि कार्यमा उपयोगी भएकाले धार्मिक र भौतिक दुवै रूपमा गाईलाई आमा र देवीका रूपमा पुज्ने चलन छ । तिहारलाई हामीले बलिराजा उत्सवका रूपमा लिने गर्दछौं । उनको स्वागतका लागि भैलो, देउसी आदि खेलिन्छ ।
भैलो महादेवले मानिसको उत्पत्ति कसरी गराए भन्ने बयान गरिन्छ । समय अनुसार भैलो गाउँदा परिर्वतन हुँदै गएको छ । पहिलेको जस्तो बयान गर्ने चलन अहिले छैन । हाम्रो क्षेत्रमा अहिले पनि यसको अवशेष देख्न र सुन्न पाइन्छ । हामीले त्यसलाई लेखेर संरक्षण गर्न नसक्नु ठूलो भूल भयो । चाडपर्वमा महादेवको बखान र स्तुति गर्नेका सन्तति अन्य धर्म कसरी हुन सक्छन् ?
नेवारहरूले मादललाई मगरखी भन्दछन् । नेवारभाषामा ‘खी’को अर्थ बाजा हुन्छ, त्यसैले मगरखीको अर्थ मगरको बाजा हुन्छ अर्थात् मादलसँग मगरहरूको इतिहास र संस्कृति जोडिएको छ । महादेवलाई नटराज (नाचका राजा) भनिन्छ, कृष्ण बाँसुरीका नायक, सरस्वतीलाई वीणाकी ज्ञाता, विष्णुको हातमा शंख आदि देखाएर संगीत क्षेत्रमा हिन्दुधर्मावलम्बीहरूको प्राचीनकालदेखि नै आधिपत्य रहेको देखाइएको छ ।
मादल, डमरु, त्रिशूल, कहाल आदि हाम्रा बाजा देवीदेवतासँग भएकाले हामी अरु धर्मका कसरी भयौँ ? संस्कृति, कला, चाडपर्व, जात्रा आदि भुल्दै जानाले पनि हामीलाई ठूलो घाटा लागेको छ । यिनीहरूले मानिसको पहिचान र इतिहासलाई बोकेको हुन्छ । यीभित्र मनोरञ्जन, खानपानमात्रै होइन अस्तित्व र जीवन लुकेका हुन्छन् । केही वर्षअगाडिसम्म लोकप्रिय र प्रचलनमा रहेका मारुनी नाच, सिङ्गारु नाच, पैसारी नाच, सराङ्गे नाच, झ्याउरे नाच, झोरा नाच, कौरा नाच अहिले क्रमिक रूपमा कम हुँदै गएको छ ।
पहिलेको जस्तो विधिविधानसहित मनाउने पनि गरिँदैन । मारुनी नाचमा कृष्ण चरित्र, रामायण र महाभारतका कथाहरू भनिन्छन् । नाचको प्रारम्भमा सूर्यलाई नमस्कार गर्दै ‘आकाशका नौलखा तारा समेरा, पतालका बासुकी नाग समेरा (सबै मेरा), सिमेभूमे तेत्तीस कोटी देवीदेवता मेरा’ भनी विभिन्न देवीदेवता, नाग आदिको स्मरण गरिन्छ । सिमेभूमेलाई मान्ने, कृष्णचरित्र, रामायण र महाभारत कथाहरूलाई आफ्नो मूल संस्कृति मान्ने हामीलाई गैर–हिन्दु भन्ने आँट कसरी गरे ? यो असाध्यै विचारणीय र सोचनीय विषय हो ।
हिमाली क्षेत्रमा हावापानी र भूबनोटले गर्दा धान उब्जनी कम हुन्छ । यहाँ कोदो, गहुँ, जौ आदि अन्नबाली लगाइन्छ । जौ खेती हिमाली क्षेत्रमा असाध्यै राम्रो हुन्छ । यसलाई भूटेर, उसिनेर वा पिसेर खाने चलन छ । यसलाई औषधिमा प्रयोग गर्नुका साथै धार्मिक अनुष्ठान पनि उत्तिकै पवित्रतम मानिन्छ । जौ, तिल, कुश राखेको पवित्र जल ग्रहण गर्ने परम्परा अझैँ छ ।
जमरा पनि जौको नै लगाइन्छ । मगरभाषाको ‘जौ उमारा’बाट अपभ्रंश हुँदै जमरा भएको हो । प्राचीन समयमा मात्र होइन अहिले पनि बुझेका मानिसहरूले जौको जमरा लगाउँछन् । देवीदेवता पूजा गर्दा जौ चढाउने एवं त्यहाँ उम्रिएको जमरालाई प्रसाद मानेर लगाउने मगर सभ्यता हो ।
बडादसैँमा सबैभन्दा पहिले देवीलाई जमरा अर्पण गरी नवदुर्गा प्रसादको रूपमा लगाइन्छ । जमराले क्यान्सर आदि रोग निको पार्ने हुनाले अहिले यसलाई महाऔषधिको रूपमा पनि प्रयोग गर्न थालेका छन् । फोक्सोलाई जमराको रस अमृत समान हुने तथ्यमा वैज्ञानिकहरु पनि सहमत छन् । जाँड, रक्सी आदिको दुव्र्यवसनमा नपरेसम्म हाम्रा पुर्खाहरू वैज्ञानिक, चिन्तक विश्लेषण गर्ने सामथ्र्य भएका महामानव थिए ।
हाम्रा पुर्खाले प्राचीनकालमा नै धेरै विषयहरूको पहिचान गरी नामकरण गरेका थिए । कुनै पनि वस्तु, पदार्थको नाम राख्दा त्यसका गुण, विशेष, स्वभाव आदिलाई ध्यान दिएको पाइन्छ । मगर भाषामा सूर्यलाई निमि भनिन्छ । ‘नि’को अर्थ नीलो आकाश, ‘मी’को अर्थ आगो । अर्थात नीलो आकाशमा आगो भनी सूर्यका नामकरण गरे । सूर्य तातो हुन्छ, यही तापका कारण यसको नाम निमि भयो । तारालाई सोरो नाम दिए । पृथ्वीबाट जीवात्माले गाँस, बास र कपास प्राप्त गरेको हुनाले यसलाई भूमिदेवताका रूपमा पूजा गरे ।
पानी कति छ त्यसको आधारमा खोला, नदी, समुद्र गरी विभिन्न तहमा विभाजन गरे । मगर भाषामा समुद्रलाई सामुद्रो भनिन्छ जसको अर्थ नुनिलो पानी हुन्छ । पशुपक्षीहरूको पहिचान गरी नाहुर, झारल, घोरल, चौरी (बन्सोजस्तो चौरमा चर्ने) आदिको पहिचान गरे । धातुको गुणअनुसार सुन, रूप, काँस, अभ्रकको नामकरण गरे । धातु र मानव जीवन बीचमा नजिकको सम्बन्ध रहेको हुनाले धातुबाट नै बराह देवताका नाम पनि राखे ।
धूपी, ठिगनी, झम, भूम आदि वनस्पतिका नाम पनि हाम्रो भाषामा राखिएको छ । सूर्यको पहिलो झुल्का (किरण) हिमाली क्षेत्रमा पर्ने हुनाले पनि मगरहरू आफूलाई सूर्यवंशी भन्न थाले । हाम्रा पुर्खाहरूले हिमवत्खण्डमै बसेर आफ्ना वरिपरि रहेका धातु, वनस्पति, पानी, आकाश आदिको नाम राख्ने काम गरेका हुन् । यी वस्तुहरू मंगोलमा पनि पाइन्छन् तर त्यसको नाम हाम्रो भाषामा छैन त्यसैले हामी यही भूमिका हिन्दु हौं, बाहिरबाट आएका मंगोलियन होइनौं ।
मगरहरू आफूलाई सूर्यवंशी, कौशिक गोत्र, उद्यमी शाखा, निरमंसीकूल भनी निरामांसीको पूजा गर्दछौँ । निरामंसीको अर्थ मासु नखाने हुन्छ । निरामंसीकूल भएकाले हाम्रा पुर्खाहरु मासु खाँदैनथे । फूल फल, अन्न, कन्दमूलमात्र खान्थें र देवीदेवतालाई पनि त्यही अर्पण गर्दथे ।
शाकाहारी एवं सूर्यवंशी मगरहरू कसरी गैर–हिन्दु भयो ? राज्यको सुरक्षा, युद्ध आदि प्रयोजनका लागि प्राचीनकालमा विभिन्न किसिमका बाण र अस्त्रहरू प्रयोग गर्दथे । हामा पुर्खाहरुलाई बाण बनाउने र प्रयोग गर्ने रामो ज्ञान थियो । विष नामको विरुवाको लेप लगाएको बाण असाध्यै विषयुक्त हुनाले प्रतिपक्षलाई बाँच्न गाहो हुन्थ्यो ।
मगरहरू प्राचीन कालदेखि युद्धकलामा निपूर्ण भएकै हुनाले विश्व युद्ध, नेपालको सीमा विस्तार, प्रजातान्त्रिकलगायतका आन्दोलनमा उनीहरूको उपस्थिती र भूमिका महत्वपूर्ण रहेको थियो । विद्वानहरुका अनुसार चार उपवेदमध्ये धनुर्वेद एक हो । धनुर्वेदमा हातहतियारसम्बन्धी ज्ञान भण्डार प्रशस्त छ । हिन्दु धर्मावलम्बी भएकाले नै हाम्रा पुर्खाहरू बाण विद्यामा निपूर्ण थिए ।
निरमांसीकुलको पूजा गर्दा देवताको प्रतिमाका रूपमा चिन्डो (ढल्के लौका) राखिन्छ । चिन्डोमा कमेरोले ठाडो २२ वटा रेखा बनाई कूलदेवताको आकृति बनाइन्छ । कुलदेवताको आकृतिमा ठकरीको पातको माला लगाइन्छ । कुलदेवतालाई ठकरीबाहेक अन्य वनस्पति पात चल्दैन । ठकरीको पात लिन जाने मानिसले उपवास बसेर चोखोनीतोमा विशेष ध्यान दिनुपर्ने नियम छ ।
अन्य जानकारी एवं नियम पालन नगरेका मानिस पात टिप्न गए भने देख्दैन, पाउँदैन भन्ने जनविश्वास अहिले पनि छ । निरमांसीकुल भएको हुनाले पूजाको दिन घरभित्र छालाको सामान राख्नु हुँदैन । गोबर माटोले सम्पूर्ण घर लिपपोत गरी शुद्ध बनाउनुपर्छ । विधानसहित कुलदेवताको पूजा गरी सकेपछि चिन्डोलाई धुरी खामो (लग्ने खाँबो) मा राख्नुपर्छ ।
यो पूजा विशेष गरी रातमा अर्थात् राती सुत्नभन्दा पहिले गर्नुपर्दछ । हामी मगरहरू सिद्ध, बराहलाई कुलका रूपमा पूज्दछौं । ऐरु, गोठु, पितृ आदिलाई पूजा गर्दछौं । ब्राह्मण क्षेत्रीहरूले जसरी शुभ र अशुभ कर्म गर्दछन्, हाम्रो पनि त्यही विधान हो । आफैले अभक्ष खान थालेपछि देवता, पितृ आदिलाई अभक्ष्य चढाउन थालियो । यस क्रम बढ्दै गएर हामी हिन्दु हौं कि होइनौ भन्ने विषयमा शंका आउन थाल्यो ।
बाघको बच्चा भेडासँग हुर्किए पनि उसको शरीर, स्वभाव, जीवन शैलीबाट नै थाहा हुन्छ कसको बच्चा हो ? यसैले हामी हिन्दु हौं, शाकाहारी हौं, देवी देवता, ऋषिमुनि, महापुरुष महावीर, गौतम बुद्ध, राम, कृष्ण आदिका सन्तान हौं भन्ने विषय हाम्रा लवज, खानपान र पूजा पाठ पद्धतिबाट प्रष्ट हुन्छ ।
गरम पुः हाम्रो ३१ पुस्ता अगाडि महामानव हुन्, उनी तान्त्रिक थिए । महादेवलाई आगम (तन्त्र)का जन्मदाता मानिन्छ । यही परम्परालाई गरमपुःले निरन्तरता दिएका थिए । केही मगरहरूले अहिले पनि तन्त्र, मन्त्र, झारफुक आदिलाई आफ्नो पेशाका रूपमा प्रयोग गरिरहेका छन् ।
कुल परम्परा अनुसार श्रावण १ गतेदेखि १५ गतेसम्म देवीदेवताको पूजाआजा गर्दैनौँ । यतिबेला तेत्तीसकोटी देवीदेवताहरु पतालमा बसेका बलिराजालाई भेट्न जान्छन् र हामीले अर्पण गरेका उपहार ग्रहण गर्दैन भने मान्यता अहिले पनि यथावत छ । आकाश, पाताल, तेत्तीस कोटी देवीदेवता, बलि आदिका वर्णन केवल हिन्दु धर्मशास्त्रले मात्र गर्दछ । साउनको १५ दिनसम्म देवीदेवता पातालमा बस्ने हुनाले मन्त्र जप्ने, छालाको जुत्ता लगाउने काम गरिदैन ।
सहरतिर यो परम्परा कमजोर जस्तो देखिए पनि गाउँघरतिर पालन गरिदैछ । साँघु, फट्के आदि तर्दा नदीलाई नमस्कार गरी जुत्ता फुकाल्ने चलन छ । रामले पनि लंका जाँदा नदीको स्तुति गरेको वर्णन रामायणमा पाइन्छ । नदीलाई गंगा देवीका स्वरूप मानिने हुनाले यसो गरिएको हो । तन्त्र विद्यामा हाम्रा पुर्खा धेरै पहिलेदेखि नै अभ्यस्त र पोख्त थिए ।
गरम पुः हाम्रो ३१ पुस्ता अगाडि महामानव हुन्, उनी तान्त्रिक थिए । महादेवलाई आगम (तन्त्र)का जन्मदाता मानिन्छ । यही परम्परालाई गरमपुःले निरन्तरता दिएका थिए । केही मगरहरूले अहिले पनि तन्त्र, मन्त्र, झारफुक आदिलाई आफ्नो पेशाका रूपमा प्रयोग गरिरहेका छन् ।
हाम्रा पुर्खाका कुनै पनि क्रियाकलाप, दिनचर्या अन्य धर्मका थिएनन् । यस क्षेत्रमा अन्य धर्मका मानिसहरू पनि थिएनन् । जयप्रकाश मल्लपछि अन्य धर्मका मानिस काठमाडौँ उपत्यकामा प्रवेश गरे पनि हाम्रा क्षेत्रमा यिनीहरूको प्रवेश निकै पछि भएको थियो । बौद्ध, जैन, नानक, कबीरपंथी, हिन्दु सबै ॐकार परिवारमा रमाएर बसेका छौँ । केही कर्म र अनुष्ठान फरक जस्ता देखिए पनि ॐकार परिवारको मूलघर, सिद्धान्त एउटै हो । हाम्रो आधार वेद हो ।
वेदले मगरजातिलाई जीवन्त रूपमा जीउन, प्रार्थना गर्न, औषधि बनाउन, बाण हान्न, पूजा गर्न सिकायो । हाम्रा नाम, हाम्रा गाउँ—ठाउँ, हाम्रा पूजा—आराधना, हाम्रा कार्यशैली, हाम्रा जीउने कला, भेषभूषा सबै हिन्दु संस्कार, संस्कृति आधारित छन् । यसैले हामी वैदिक सनातनवादी हौं । हिमाल क्षेत्रमा बस्ने हामी हिन्दु हौँ ।
हिन्दुधर्म र हिन्दु थलोमा जन्मिएर, हिन्दु धर्ममा हुर्किएर, हिन्दु धर्म मे फूलेर, हिन्दुधर्मलाई फैलाउने मगरजातिहरूले आफू हिन्दु होइनौं, सनातन परम्परा का अनुयायी होइनौं भन्नु कति न्यायसङ्गत र युक्ती सम्मत तर्क होला? आफैले विचार र विवेक पुयाएर सोच्नुपर्ने विषय हो ।
(एतिहासिक घटनाक्रम भाग—१ बाट साभार)
प्रतिक्रिया दिनुहोस्