सुनछहरीमा पर्यटनको विकासका प्रयास


जुनिसकुमार विष्ट । पहिचानको राजनीतिको दवदबा थियो तर रोल्पाको सुनछहरी गाउँपालिकाको नाम सुनछहरी झरनाको नामबाट नामकरण गरियो ।

स्थानीय तहमा चर्चित र सर्वस्वीकार्य बनेको सुनछहरी झरनालाई पर्यटनको केन्द्र बनाउन योजनाबद्ध प्रयास सुरु भएको छ ।

मुलुक संघीयतामा गइसकेपछि थप पहिचान पाएको यो झरना प्रदेशको योजनामा समेत परेको छ । गाउँपालिकाले ५ लाख रुपैयाँ खर्च गरेर विस्तृत परियोजना अध्ययन सकेलगत्तै लुम्बिनी प्रदेश सरकारले यसै आर्थिक वर्षमा भौतिक पूर्वाधार विकासका लागि १५ लाख रुपैयाँ छुटाएको छ ।

सुनछहरी पर्यटनको केन्द्र र नाममात्रै होइन, पर्यटन क्षेत्रको विकासका लागि उत्प्रेरणाको स्रोतसमेत बनेको छ । सुनछहरीसँगै धार्मिक, प्राकृतिक र राजनीतिक रुपले चर्चित जलजला क्षेत्र, भित्री गाममा रहेको बिबाङ दह, दहबाङ ताल, तिलाचान दह, सेरमको जैमाजा भिर, जेठी कान्छी कोठी भिर, सुनछहरी गाउँपालिकाको प्रत्येक गाउँबस्ती देखिने बजुधुरी, १० वर्षिय जनयुद्धको क्रममा लडाइँ भएको गामको गोङबाङ धुरी, जनयुद्धको क्रममा देशकै सबैभन्दा बढी व्यक्तिले ज्यान गुमाएको जेलबाङ गाउँमाथि पर्यटकीय सम्भावनाको खोजी सुरु भएको छ ।

गाउँपालिका, प्रदेश र केन्द्रको नजरमा नपरेका र स्थानीय महत्व बोकेका क्षेत्रलाई वडास्तरबाटै भए पनि पहल जारी छ ।

पर्यटकीय सम्भावनालाई थप प्रर्वद्धन गर्न पछिल्लो तीन वर्षमा सुनछहरी गाउँपालिका अन्तर्गतका वडापालिकाहरूले पर्यटन सम्बन्धित विभिन्न कार्यक्रम गरिसकेका छन् भने भौतिक पूर्वाधारमा समेत गच्छेअनुसार लगानी गरिरहेका छन् ।

सुनछहरीको वडा नम्बर १ कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा तिलाचनमा १ लाख ५० रुपैयाँको लागतमा तिलाचन प्रतिक्षालय निर्माण गरेको छ । वड भित्र विभिन्न पर्यटकीय सम्भावना बोकेका ठाउँहरू रहे पनि वडामा सीमित बजेट आउने भएकोले पर्यटन क्षेत्रको विकासको लागि पर्याप्त बजेट छुटाउन नसकिएको वडा अध्यक्ष महावीर रानामगरले बताए ।

उनले भने, “वडाभित्र विभिन्न धार्मिक मठ मन्दिर बनाउने योजना छ तर वडा स्तरका बुद्धिजीवी वर्गले पहिले समुदायको विकास गर्न सुझाव दिएकाले वडाको पर्यटन विकासमा अझै ध्यान दिन सकिएको छैन ।”

वडाको माथिल्लो भेगमा रहेको तिलाचन दहलाई व्यवस्थापन तथा प्रचार–प्रसार, धनबाङ दह संरक्षण र सेरमको धुरीमा रहेको बजुबराहको थान रहेको ठाउँमा मन्दिर निर्माण गर्ने युवा क्लबको वार्षिकोत्सव लगायतका कार्यक्रम गरी पर्यटनको प्रचारप्रसार गर्ने आगामी योजना रहेको वडाध्यक्ष रानाको भनाई छ ।

सुनछहरी गाउँपालिकाको सेरमको फुलिबन पहिरोले बस्ती नै स्थानान्तरण गर्नुपरेकोले प्रदेश सरकारको बजेट त्यतै खर्छ भएका कारण पनि वडाको पर्यटन क्षेत्रको विकास गर्न नसिकिएको वडाध्यक्ष रानाको भनाइ छ ।

सुनछरहीको वडा नम्बर २ भित्रीगामले पनि पछिल्लो तीन वर्षमा पर्यटनको लागि विभिन्न कार्यक्रम गरेको छ । बिबाङ दहमा करिब ७ लाख रुपैयाँको लागतमा मन्दिर निर्माण गरिएको छ ।

वडा अध्यक्ष तेमन घर्ती मगरले भने, सुनछहरी गाउँपालिकाकै एक गन्तव्य बिबाङ दह भएकोले गाउँपालिका कार्यालयले नै बिबाङ दहको डीपीआर गर्ने निर्णय भएको छ र वडाको पहल पनि छ ।”

विश्वभर फैलिएको कोभिड–१९ कोरोना भाइरसको कारण यस आर्थिक वर्षमा डीपीआर गर्न नसकिएको वडा अध्यक्ष घर्तीको भनाई छ ।

वडा नम्बर २ ले यस वर्ष वडाको बजेटबाट रेड पान्डा संरक्षण कार्यक्रमको लागि ५० हजार बजेट विनियोजन गरेको छ । यस वडामा पर्यटनको लागि कोठी भिर, कार्जङधुरी टिकाचुली र बिबाङ दह पर्यटकीय हिसाबले मुख्य हुन । यी ठाउँको विकास नहुनुको मुख्य समस्या नै मोटरबाटो भित्री गाउँमा नपुग्नु नै रहेको वडा अध्यक्ष घर्तीको भनाइ छ ।

ती ठाउँको विकास र प्रचार–प्रसारको लागि गाउँपालिका तथा प्रदेश सरकारमा प्रस्तावना पेश गरेको अध्यक्ष घर्तीले जानकारी दिए ।

वडा नम्बर ३ बाहिरी गामले पनि पर्यटन विकासलाई प्राथमिकता दिएको छ । सम्बन्धित केही कामहरु सम्पन्न भइसकेका छन् भने केही कार्य आगामी योजनामा रहेको वडा कार्यालयले जनाएको छ । वडाले पाँच लाख रुपैयाँको लगानीमा गोबाङ सहिद स्तम्भ र पार्क निर्माण गरेको छ भने दहबाङ तालको संरक्षणको लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ मा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बाहिरी गाम वडा कार्यालयको आगामी योजनामा दक्षिण क्षेत्रबाट कोठिभिरको फेदीबाट टुप्पोसम्म समुद्री सतहबाट १०,७०० फिट उचाईसम्म सिढीं निर्माण गर्ने भनिएको छ । गोङबाङ युद्ध पर्यटकीय स्थलको रुपमा बिकास गर्ने,प्यूठान जिल्लाको नौबहिनी गाउँपालिकाको सिमाना,रोल्पाको लुङग्री गाउँपालिकाको सिमाना र ९ हजार फिटको उचाईमा रहेको सुनछहरी गाउँपालिकाको सिमानाको तीनपुरे स्थानलाई पनि पर्यटकीय स्थलको रुपमा बिकास गर्ने लक्ष्य रहेको वडा अध्यक्ष मोतबहादुर घर्तीले बताए ।

त्यस्तै वडा नम्बर ४ स्युरीले पनि आफ्नो भुगोलभित्र रहेको सुनछहरी झरनाको प्रचार प्रसारमा समेत आफ्नो गतिवधि सञ्चालन गर्दै आएको छ । गाउँपालिकाको एक लाख आर्थिक सहयोगमा जिल्ला समन्वय समिति संयोजक राजबहादुर बुढामगर, गाउँपालिका अध्यक्ष आशबहादुर पुनलगायत जिल्लाका पत्रकारको टोलीसहित सुनछहरी झरनाको फेदीमा एक दिने सुनछहरी उत्सव मनाएको थियो ।

सुनछहरी झरना बाहेक पनि वडामा पर्यटनको सम्भावना बोकेका थुप्रै स्थान रहेका वडाध्यक्ष खडगबहादुर घर्तीमगरले जानकारी दिए । स्युरीको शिवजी थान, भुमे थान र फूलबारी लेक पर्यटन विकासको लागि सम्भावना बोकेको स्थान हुन ।

वडाध्यक्ष घर्ती भन्छन्, “हामीले स्युरीमा पहिले शिवजी थानलाई मन्दिरको रूपमा विकास गर्ने दोस्रोमा भूमे थानलाई मन्दिरको रुपमा विकास गर्ने र स्युरीकै फूलबारी लेकलाई संरक्षण गरि पर्यटन विकास गर्ने योजना रहेको छ ।”

वडा नम्बर ५ जैमाकसलाले विगतको तीन वर्षमा पर्यटन विकासको लागि एउटा मात्र कार्यक्रम गरेको छ । जैमाकसलाको जुबाङमा रहेको बराह मन्दिर निर्माणको लागि स्थानीय युवा क्लबको समेत लागतमा वडापालिकाले २ लाख बजेट खर्च गरेको छ ।

डाध्यक्ष तिर्खबहादुर बुढाथोकी भन्छन्, “वडा पालिकामा पर्यटन विकासको थुप्रै सम्भावना बोकेका ठाउँ रहे पनि भौगोलिक कठिनाइ र बस्तीहरू छरिएर रहेकाले सामाजिक विकास गर्नमै बजेट खर्च भएको छ तर पर्यटनका लागि प्राथमिकता काम भन्ने होइन ।”

जैमाकसलामा पर्यटन विकासका लागि बजुधुरी एउटा सम्भावना बोकेको ठाउँ हो भने बजुधुरीको फेदीमा रहेको प्राचिनकालमा स्थापित बिष्टकुल देव मन्दिर र बजुधुरी वरिपरि रहेको तामाखनीलगायतका ठाउँहरू छ्न । अध्यक्ष बुढाथोकी भन्छन् “अब हामीले पर्यटन विकासका लागि योजना बनाइ काम गर्छौँ । बजुधुरीमा भ्युटावरको लागि प्रदेश तथा संघ सरकारमा प्रस्तावना पेश गर्ने हाम्रो योजना पनि छ ।”

सुनछहरीको वडा नम्बर ७ जेलबाङ अरु वडाभन्दा फरक पहिचान बोकेको छ । २०५२ सालदेखि चलेको जनयुद्धमा यो वडाका ७३ जनाले ज्यान गुमाएका थिए । जेलबाङ गाउँपालिकामै पर्यटन विकासका लागि उच्च सम्भावना बोकेको वडा हो । जेलबाङमा पछिल्लो तीन वर्षमा पर्यटन विकासका लागि विभिन्न कार्य भएका छ्न ।

वडाध्यक्ष टीकाबहादुर बुढा मगरका अनुसार सुलिचौर थबाङ मोटरबाटोदेखि जेलबाङ बागतारे हुँदै जलजलासम्म र जेलबाङ मजिबाङ हुँदै ओखरेनी छेडासम्म जलजला जानको लागि साइन पोस्ट निर्माण भएको छ । जलजला जानको लागि नै जेलबाङबाट जलजलासम्म गुरिल्ला पद मार्गको लागि तीन वर्षमा क्रमशः ३५ लाख, २५ लाख र १० लाख बजेट प्रदेश सरकारमार्फत बजेट आएको छ ।

जेलबाङदेखि जलजलासम्म २ मिटर चौडाइ भएको गुरिल्ला पद मार्गको निर्माणको लागि आएको यस आर्थिक वर्षको बजेट १० लाखको काम पनि सुरु भइसकेको अध्यक्ष बुढाले जानकारी दिए । गत आर्थिक वर्षमा जेलबाङमा गाउँपालिकाको ६ लाख र वडाको २ लाख बजेटबाट गाउँपालिका भरिका ४२ जना व्यक्तिहरूको सहभागितामा एक हप्ते होमस्टे तालिम पनि सञ्चालन भएको छ ।
जेलबाङमा अहिले चार वटा स्थानमा होमस्टे सञ्चालित छ्न ।

जेलबाङको जेलबाङ ठूलो गाउँ, माजिबाङ, बागतारे र ओखरेनी छेडामा ती होमस्टे सञ्चालनमा रहेको वडाध्यक्ष बुढाले जानकारी दिए । बुढाले भने, “जलजला जाने पर्यटकहरू बस्नका लागि होम स्टेले सञ्चालनले सजिलो भएको छ । वडामा पर्यटनको निकै सम्भावना छ । जनयुद्धको आधार इलाका र जलजलाको प्रवेशद्वार भएकोले पनि यो पर्यटनको हिसाबले राम्रो सम्भावना बोकेको क्षेत्र हो ।”

जेलबाङको माथि एउटा धुरी छ, लङजुङ, जहाँबाट जेलबाङको प्रत्येक बस्तीहरू अवलोकन गर्नका साथै छिमेकी गाउँपालिका तथा जिल्लाको बस्ती तथा ठाउँहरू अवलोकन गर्न सकिन्छ । लुङजुङमा जेलबाङका ७३ जना सहिदको सम्झनास्वरुप सहिद बाटिका बनाउने योजना रहेको वडाध्यक्ष बुढाको भनाइ छ । उनले भने, “बस्तीहरू नियाल्न भ्यूटावर पनि निर्माण गर्ने साथै यस ठाउँमा रहेको प्राकृतिक दहलाई विस्तार गरि ठूलो बनाउने र सोही स्थानमा प्रतीक्षालय निर्माण गर्ने योजना पनि छ ।”

जेलबाङ जलजलासँग जोडिएको छ । जलजलाबाट बग्ने खोला जेलबाङ हुँदै बग्छ । त्यही जलजलाको तल खोलामा एउटा निकै मनमोहक सुनसरी नामको झरना रहेको छ । सो झरना रमणीय र धेरै पर्यटक आउने उच्च सम्भावना बोकेको र त्यस झरनालाई पनि विकास र प्रचारप्रसार गर्ने योजना रहेको अध्यक्ष बुढाले बताए । जेलबाङमा फलाम खानी, तामाखानी पनि छन् । फलाम खानीको सुरुङ्गमा जाने ठाउँमा रेलिङ सहितको बाटो बनाउने त्यसको विकास गर्ने कुरा अध्यक्ष बुढाले जानकारी दिए ।

आर्थिक वर्ष २०७७/०७८ मा वडा नम्बर ७ जेलबाङले होम स्टे प्रभावकारी सञ्चालनको लागि अध्यन अवलोकन भ्रमण तथा ब्रोसर डकुमेन्ट्री निर्माणको लागि ४ लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष बुढाले बताए ।