लकडाउनमा चिया उत्पादन र आयात घट्यो, निर्यातबाट आम्दानी बढ्यो


काठमाडौं । कोरोना भाइरसका कारण गत वर्ष मुलुकभर लकडाउन हुँदासमेत चिया निर्यातबाट हुने अम्दानी भने बढेको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको छ ।

अघिल्लो वर्ष २५ हजार २०५ मेटन उत्पादन भएकोमा लकडाउनको कारण उत्पादनमा कमी आएको बोर्डले जनाएको छ ।

गत वर्ष लकडाउनका बाबजूद २ अर्ब ७८ करोड रूपैयाँ बराबरको ११ हजार १८५ मेटन चिया निर्यात भएको भन्सार विभागको तथ्यांक छ । चालू आवको ९ महिनामा मात्र ३ अर्ब ६ करोड रूपैँया बराबरको ९ हजार ५७० मेटन चिया निर्यात भएको छ ।

बोर्डले हरेक वर्ष राष्ट्रिय चिया दिवसका दिन चियाको तथ्यांक सार्वजनिक गर्दै आएको छ । कोरोना प्रभावका कारण बुधबार परेको आज २५ औँ राष्ट्रिय चिया दिवस भर्चुअल रुपमा मनाइएको बोर्डका कार्यकारी निर्देशक डा। विष्णु प्रसाद भट्टराईले बताए ।

“महामारीले धेरै क्षेत्रमा नकारात्मक असर पारे पनि अन्य क्षेत्रको तुलनामा नेपालको चिया क्षेत्रले त्यति धेरै क्षेति व्यहोर्नु परेन, लकडाउनकाबीच पनि स्वास्थ्य सम्बन्धी सरकारले तय गरेका मापदण्डहरू पालना गरि बोर्डको अग्रसरतामा चिया बगान र उद्योगहरू सञ्चालनमा रहे,” भट्टराईले भने, “जसले गर्दा अन्य बाली एवं वस्तुको उत्पादनमा गिरावट आउँदा पनि चियाको निर्यातमा उल्लेखनिय वृद्धि भएको देखिन्छ ।”

चिया नेपालको आत्मनिर्भर भई निर्यातमासमेत निरन्तर योगदान गरिहेको क्षेत्र हो । विभिन्न ब्राण्डका चिया निर्यातकासाथै आयात पनि हुने गर्छ । गत वर्ष भने आयातमा ठूलो मात्रामा कमी आएको तथ्यांक छ ।

आव ०७५/७६ मा ११ करोड रकम बराबरको चिया आयात भएकोमा गत वर्ष ७ करोड ७४ लाख रकम बराबरको मात्र आयात भएको थियो । चालू आवको ९ महिनामा भने आयात बढेर १२ करोड ५४ लाख रकम बराबरको आयात भएकोछ ।