कोभिडको सर्वाधिक असर बागमतीको अर्थतन्त्रमा


काठमाडौं । कोभिड-१९ को सर्वाधिक असर बागमती प्रदेशमा परेको छ । देशको अर्थतन्त्रमा करिब ३८ प्रतिशत हिस्सा ओगट्ने बागमती प्रदेशको अर्थतन्त्र गत आर्थिक वर्ष २०७६/७७मा ३.७ प्रतिशतले संकुचित भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

सरकारले कोभिड-१९ महामारीको संक्रमण विस्तार गर्ने भन्दै गत आर्थिक वर्षको अन्तिम चौमासिकमा लगाएको लकडाउनले देशको समग्र अर्थतन्त्र २.१ प्रतिशतले संकुचित हुँदा बागमतीमा सबैभन्दा बढी असर परेको हो ।

विभागका कोभिडजनित मन्दी कारण अनुसार गत वर्ष प्रदेश १ को अर्थतन्त्र १.२ ले, प्रदेश २ को अर्थतन्त्र १.६ प्रतिशतले, गण्डकीको अर्थतन्त्र १.७ प्रतिशतले, लुम्बिनीको अर्थतन्त्र १.८ प्रतिशतले ऋणात्मक भए पनि सुदूरपश्चिम र कर्णालीको क्षेत्रीय अर्थतन्त्रले भने सकरात्मक वृद्धि हासिल गरेका थिए ।

चालू आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रिय अर्थतन्त्रमा प्रदेश १ को हिस्सा थोरैले खुम्चिएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा करिब १६ प्रतिशत हिस्सा ओगटेको प्रदेश १ को हिस्सा चालू आर्थिक वर्ष १५.६ प्रतिशतमा झरेको छ ।

बागमतीपछि प्रदेश १ दोस्रो ठूलो अर्थतन्त्र भएको प्रदेश हो । चालू आर्थिक वर्षमा बागमती प्रदेशको अर्थतन्त्र १६ खर्ब ८ अर्ब रुपैयाँ बराबर पुग्दा प्रदेश १ को अर्थतन्त्रको आकार ६ खर्ब ६४ अर्ब रुपैयाँबराबर पुगेको तथ्यांक विभागले जनाएको छ ।

बागमतीको अर्थतन्त्रले गत आर्थिक वर्षमा राष्ट्रिय अर्थतन्त्रको ३७.२ प्रतिशत हिस्सा ओगटेकोमा चालू आर्थिक वर्षमा केही वृद्धि भइ ३७.७ प्रतिशत पुगेको छ ।

अर्थतन्त्रका आकारमा लुम्बिनी तेस्रो ठूलो अर्थतन्त्र हो । कुल राष्ट्रिय अर्थतन्त्रको १४ प्रतिशत हिस्सा ओगट्ने लुम्बिनीको अर्थतन्त्रको आकार ५ खर्ब ९६ अर्ब रुपैयाँबराबर पुगेको छ ।

यसैगरी, प्रदेश नं २ चौथो ठूलो अर्थतन्त्र भएको प्रदेश हो । कुल राष्ट्रिय अर्थतन्त्रको १३.२ प्रतिशत हिस्सा ओगट्ने प्रदेश २ को अर्थतन्त्रको आकार ५ खर्ब ६२ अर्ब रुपैयाँबराबर पुगेको छ ।

यस्तै, कुल राष्ट्रिय अर्थतन्त्रको ९ प्रतिशत हिस्सा ओगट्ने गण्डकी प्रदेशको अर्थतन्त्रको आकार ३ खर्ब ७२ अर्ब रुपैयाँबराबर पुगेको छ भने राष्ट्रिय अर्थतन्त्रको ७ प्रतिशत हिस्सा ओगट्ने सुदूरपश्चिमको अर्थतन्त्रको आकार २ खर्ब ९४ अर्ब रुपैयाँबराबर पुगेको छ ।

सबैभन्दा सानो अर्थतन्त्र कर्णालीको अर्थतन्त्रको आकार १ खर्ब ७२ अर्ब रुपैयाँबराबरमात्र छ भने यसले राष्ट्रिय अर्थतन्त्रमा ४ प्रतिशत योगदान राख्छ ।