श्वेत–गंगा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक सानिमा क्यापिटल


काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सर्वसाधारण तथा कर्मचारीलाई ४७ करोड ७९ लाख बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ४७ लाख ७९ हजार कित्ता शेयर जारी गर्न लागेको हो ।

कम्पनीले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटलाई नियुक्त गरेको छ । सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक डा. सुवर्ण दास श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८.१ मे.वा. क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

उक्त आयोजनामा लगानी गर्न कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत हुन आउने कम्पनीले जनाएको छ । यस आयोजनाबाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ के.भी. न्यु खिम्ती सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ । कम्पनीद्वारा निर्माणाधिन उक्त आयोजनाको निर्माण प्रगति हालसम्म करिब ७५ प्रतिशतको हाराहारीमा रहेको छ ।