महालेखाले भन्यो : माथिल्लो तामाकोशीको लागत मूल्य ८५ अर्ब पुग्छ


काठमाडौं । माथिल्लो तामाकोशीको लागत मूल्य ८५ अर्ब रुपैया पुग्ने देखिएको छ । २०७४ सालपछि लागत संसोधन नभए पनि व्यवस्थापनबाट प्राप्त विवरणअनुसार तामाकोशीको कुल लागत मूल्य ८५ अर्ब पुग्ने देखिएको महालेखाले जनाएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं प्रतिवेदनअनुसार २०७२/०७३ सालमा सम्पन्न गर्नेगरी तामाकोशीको कुल लागत ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएको थियो ।

तर, ०७३ सालमा सम्पन्न हुने गरी लागत अनुमान तयार गर्दा वित्तीय खर्च, निर्माणाधीन अवधिको ब्याज खर्च, विनिमय नाफा, नोक्सान ब्याज खर्च र नोक्सानी समावेश नगरिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनका अनुसार मूल्य समायजन, भेरिएसन, विनियम नोक्सानी, ब्याज खर्च र आयोजनाको निर्माणाधीन अवधि लम्बिएकोले सञ्चालक समितिको २०७४ साल चैत ३० गते निर्णयबाट ४९ अर्ब २९ करोडको संसोधित लागत स्वीकृत गरेको छ ।

उक्त निर्णयपछि लागत संसोधन नभएता पनि व्यवस्थापनबाट प्राप्त भएको विवरण अनुसार निर्माण अवधिको ब्याज सुरूमा १४ अर्ब अनुमान गरेकोमा ३२ अर्ब रुपैयाँ पुग्ने देखिएको एवं निर्माण सम्पन्न अवधि लम्बिन गएकोले आयोजनाको कुल लागत ८५ अर्ब पुग्ने देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।