चितवन । बेरोजगार बनेका सौराहाका होटल मजदूरलाई विकास निर्माणमा परिचालन गरिने भएको छ । उनीहरुलाई पर्यटकीय प्रवद्र्धन गर्ने संरचना निर्माणमा लगाइने भएको हो ।
प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम र पर्यटन बोर्डको सहयोगमा सौराहाको राप्ती किनारमा रहेको सौराहा भिजिटर सेन्टरलाई आकर्षक बनाउन लागिएको हो । रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घ चितवनका अगुवाइमा काम गर्न लागिएको हो ।
नगरप्रमुख नारायण वनका अनुसार सो ठाउँमा झाडी फाँडेर तलाउ बनाइने छ । यससँगै तलाउ माथिबाट राप्तीको ढिकमा जाने गरी काठको पुल राखिने छ ।
भिजिटर सेन्टरमा आकर्षक बगैँचा बनाइने छ । सोही ठाउँमा सार्वजनिक शौचालय, बस्ने ठाउँलगायतका निर्माणका काम हुने छन् । उनले भने, “बेरोजगार रहेका मजदूरलाई काम दिइने छ भने सौराहा किनार आकर्षक बन्ने छ ।” प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रमबाट रु ९० लाख र पर्यटन बोर्डबाट रु ६० लाख बजेट निकासा भएको छ । यो रकममध्ये ७५ प्रतिशत मजदूरका लागि काम गरेबापत भुक्तानी गरिने छ । सो क्षेत्रमा रहेको सङ्ग्रहालयलाई पनि स्तरीय बनाइने छ ।
नगरप्रमुख वनका अनुसार एक व्यक्तिले दैनिक रु एक हजार ज्याला पाउने छन् । मजदूरले गर्ने काम बढी हुने गरी योजना बनाइएको छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार सौराहाका होटल तथा रेष्टुराँमा पाँच हजार ५०० मजदूरले काम गर्दछन् ।
कोभिडसँगै न्यून मजदूरले काम पाएका छन् भने अधिकांश बिदामा रहेका छन् । यस संरचनामा काम गर्न सक्ने मजदूर मात्र एक हजारभन्दा बढी छन् । सङ्घले आह्वान गरेको सूचनामा हालसम्म ५०० ले काम गर्न इच्छा व्यक्त गर्दै नाम टिपाएका छन् । यसका लागि होटलले सिफारिस गर्नुपर्ने हुन्छ ।
उनले भने, “हाम्रो पहलका कारण धेरथोर सहयोग मजदूरलाई हुँदैछ ।” यससँगै राप्ती किनार पर्यटकका लागि अकर्षक बन्ने छ ।
भिजिटर सेन्टरसँगै बन्न लागेको तलाउमा उद्धार गरिएका गोहीलाई छाडिने छ । त्यहाँ माछा पनि राखिने भएको हुँदा यसले पर्यटकलाई थप अकर्षित बनाउने उनको भनाइ छ । सौराहाको होटल जङ्गल क्राउनका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरीले यसबाट बिदामा बस्न बाध्य भएका मजदूरलाई केही राहत हुने वताए । रासस
प्रतिक्रिया दिनुहोस्