हटेन ‘गभर्मेन्ट सटडाउन’, कम्तिमा ३ दिन कायमै रहने


काठमाडौं । विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएपनि अझै कम्तिमा ३ दिन ‘गभर्मेन्ट सटडाउन’ कायमै रहने भएको छ ।

छोटो बाटो अपनाउँदा पनि कम्तिमा ३ र बढीमा ५ दिन विधेयक जारी हुन समय लाग्ने सरकारको अनुमान छ । प्रतिनिधि सभामा एमालेको अवरोधका बीच आज विनियोजन विधेयक बहुमतले पारित भएको छ ।

पारित विधेयक अब राष्ट्रिय सभामा जाने छ । राष्ट्रिय सभाबाट विधेयक पारित हुन नियम निलम्बन नगरे मन्त्रालयगत छलफलका लागि ३ दिन र निलम्बन गरे २४ घण्टा लाग्नेछ । राष्ट्रिय सभाले नियम निलम्बन गरे एक दिनमै विधेयक पारित गरेर फेरि प्रतिनिधि सभामा प्रमाणीकरणका लागि आउने छ ।

राष्ट्रिय सभाबाट पारित विधेयक प्रतिनिधि सभाले स्वीकार गरेर सभामुखले प्रमाणित गरेर राष्ट्रपति समक्ष पठाउनुपर्ने छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि बल्ल बजेट कार्यान्वयनमा जाने छ । राष्ट्रिय सभाले छिटो प्रक्रिया बढाए ३ दिनदेखि ५ दिने समय लाग्न सक्ने अर्थमन्त्रालयका एक अधिकारीले अनुमान गरे ।

सोमबार संशोधित प्रतिस्थापन विधेयक भदौ ३१ गतेदेखि नै लागू हुने प्रस्तावसमेत बहुमतले पारित भएकाले सरकारले उधारोका रुपमा खर्च चलाउन सक्ने भए पनि राष्ट्रिय सभाबाट पारित भइ प्रमाणीकरण नभइन्जेल औपचारिक रुपमा भने नेपालमा पहिलो पटक भएको ‘गभर्मेन्ट सटडाउन’ भने केही दिन लम्बिने भएको छ ।