यसरी जन्मियो ‘एफवान सफ्ट’


सन् २००४ मा कलेजका केही विद्यार्थीले सुरु गरेको एफवान सफ्ट अहिले नेपालको प्रमुख सूचना प्रविधि कम्पनी भएको छ । यही समूहले सञ्चालन गरेको इसेवा नेपालको पहिलो मोबाइल सेवा वालेटमात्र नभइ नेपालकै अग्रणी डिजिटल भुक्तानी कम्पनीमा परिणत भएको छ । एफवान सफ्ट कसरी सुरु भयो? कसरी अहिलेको अवस्थामा आइपुग्यो? कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माकाे शब्दमा–

यो कम्पनीको सुरुवात हामी कलेजमै हुँदा भएको हो । हाम्रा फाउन्डर विश्वास (विश्वास ढकाल) ले कलेजमै अन्तिम वर्ष हुँदा सन् २००४ मा कम्पनी दर्ता गरेर सुरु गरेको हो । त्यो बेला के गर्न कम्पनी खोलेको मेसो थिएन । यही गर्न कम्पनी खोलेको भन्ने पनि थिए । कम्पनी खोलौं, केही न केही गरिहालिन्छ भनेर स्थापना गरिएको हो ।

हाम्रो विशेषता भने हामी सबै नेपालमै उत्पादन भएका विद्यार्थी हौं । विदेशमा पढेको कोही पनि छैन । सबै समकालीन, एक आपसमा साथी र साथीमार्फत् चिनजान भएको हो ।

पहिले स–साना वेबसाइट बनाउन थाल्यौं । डोमेन बेच्यौं । सानोतिनो कामले मात्रै पुगेन । आफ्नै प्रोडक्ट बनाउनु पर्छ र ठूलै प्रोडक्ट बनाउनुपर्छ भन्ने सोचेर हामीले सन् २००६ मा इ–सेवाको अवधारणा आयो । बाहिरी देशमा डिजिटल पेमेन्ट गर्न मिल्छ तर नेपालमा त्यस्तो व्यवस्था केही छैन । डिजिटल्ली पेमेन्ट गर्न हामी आफैले संरचना बनाउनु पर्छ भनेर इ–सेवाको अवधारणा आयो र ३ वर्ष जति बनाउने, परीक्षण गर्ने काम गर्‍यौं, अनि २००८–००९ मा इ–सेवा लञ्च गर्‍यौं ।

हाम्रो सबैको पृष्ठभूमि प्रविधि नै थियौं । हामीले जानेको नै ‘टेक्नोलोजी’ भएकाले यसै क्षेत्रमा काम गर्ने सोच्यौं । प्राविधिक क्षेत्रमै आफूलाई स्थापित गराउने लक्ष्यका साथ इ–सेवा सुरु गरियो । सुरु त गरियो तर नेपालमा हामीले मात्र ‘डिजिटल पेमेन्ट’ गरेर भएन । बैंक नै डिजिटल नभइ हामी डिजिटल हुन सक्दैनाैं भनेर इ–सेवासँगै बैंकहरूका लागि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङका प्रणाली बनाउन थाल्यौं । त्यति बेला इन्टरनेटको पहुँच सहज थिएन । भर्खर–भर्खर विस्तार भइरहेको थियो ।

इ–सेवा बनाउन भनेर हामीले छुट्टै लगानी उठाएको अथवा पैसा हालेको पनि छैन । कम्पनी दर्ता गर्दा र काम सुरु गर्ने बेलामा चाहिने हो, त्यो विश्वासकै पकेटबाट खर्च भयो र कम्पनीको सञ्चालन हामीले आफूसँग भएको बचत रकमबाट गरेका हौं । हामीले सुरु गर्दा वेबसाइट पनि बनाउँथ्यौं र अरु सफ्टवेयर पनि बनाउँथ्यौं । जति कमाइ भयो, सबै इ–सेवामा लगायौं । खासमा कसको लगानी कति के भन्ने नै थिएन ।

लिपछि टेलिकमसम्बन्धी काम गर्दा आधारभूत पुँजी भने उठाएको थियौं । हामीले यति पैसा हाल्ने भनेर औपचारिक रुपमा निर्णय गरेर अगाडि बढेको होइन । यसमा क्षमता नै बढी प्रयोग गर्‍यौं र जति कमाउन सक्यौं, त्यसैलाई आधार बनाएर अगाडि बढ्यौं ।

कम्पनीका संस्थापक विश्वास ढकाल हुन्, म साथी भएर सुरुदेखि नै जोडिएको हो । असगर अलि र सुवास सापकोटा पछि समयक्रममा जोडिँदै गए । यसरी इ–सेवाको संस्थापक हामी चार जना भन्न मिल्छ । हामीले २००९ को इसेवा लञ्च गर्ने बेलाको हाम्रो ३०–३५ जनाको टिम भएकोमा अहिले ८५० भन्दा बढी हाम्रो टिममा छन् । अहिले लगानी भने ५ जनाको ।

सन् २००४ देखि २०१४ सम्म संघर्षकै समय रहयो । सन् २०१४ मा आएपछि बल्ल इ–सेवाले ‘मार्केट क्याच’ गर्छ भन्ने हामीलाई विश्वास भयो । यस बीचमा ग्राहक पनि तयार भए र हाम्रो उत्पादन प्रयोग हुन थाल्यो । सन् २०१४ पुगेपछि हामी राम्रो बाटोमा छौं भनेर भनेर विश्वास जाग्यो ।
योभन्दा पहिले पनि हामीले काम गरिरहेका थियौं ।

बजारमा बैंकलाई सफट्वेयर बेचिरहेका थियौं । मोबाइल बैंकिङका प्रणाली बनाइ रहेको थियौं । मोबाइल बैंकिङ बनाएर धेरै आम्दानी हुने बेला भइसकेको थिएन । हामीले तयार गरेको सेवा बैंकले किन्नु प¥यो । सहयोग गर्नुप¥यो ।

मी आप्नो भ्याइ–नभ्याइ त्यही काममा दिनरात हिँडिरहेको थियौं । कुनै बेला त इ–सेवा बन्द गर्नुपर्ने हो कि भन्ने दिन पनि आएको थियो । सप्mटवेयर पनि बनाइ रहेका थियौं र इसेवा पनि बनाइराखेको थियौं । सफ्टवेयर बेच्ने काम हामीले गरि नै राख्यौं । त्यो गरिरहँदा इ–सेवामा हाम्रो सानोतिनो दुःखले राम्रो बहाल भयो, जसका कारण सन् २०१४ पछि पछाडि फर्केर हेर्न परेको छैन ।

साँच्चै त्यतिबेला सजिलो थिएन । हाम्रो प्रोडक्ट नै के हो भनेर मान्छेले बुझ्दैन थिए । इ–सेवा पैैसा तिर्ने माध्यम हो भने पनि पैसा कहाँ हुन्छ ? पैसा कहाँ तिर्ने ? त्यो सबै कुरा बुझाउनु पथ्र्यो । हामीले पैसा तिर्न मिल्छ भनेपछि सेवा लिन्छन् भन्ने विश्वास थियो तर भनेजस्तो भएन । तर पनि हामीले निरन्तरता दिइराख्नुपर्ने नै थियो । निरन्तरतको मेहनतले बजार बन्दै गयो भने इन्टरनेट पनि विस्तार हुँदै गयो अनि हाम्रो उत्पादन पनि बढ्दै गयो ।

हामीले सफ्टवेयर बनाउदा कहिल्यै पनि सम्झौता गरेनौं । जे जे मापदण्ड पूरा गर्नुपर्ने हो सबै पूरा गर्दै गयौं । आज जे छौं जो छौ, हिजोको दिनमा पनि टिम यही नै हो । सफ्टवेयर प्रयोग गर्दै जसले पनि लगानी र प्रतिफल त खोज्छ नै ।

हाम्रो सेवाका कारण बैंकहरू पनि आकर्षित भए । सुरुमा त उनीहरूलाई पनि थौरै लगानीमा प्रयास गरेर हेरौं न भन्ने हामीले बनाएको हो । मोबाइल बैंकिङ एसएमएसबाट चल्छ, सबै ग्राहकले मोबाइलबाट रिचार्ज गर्न सक्छ भन्ने कुरा हामीले मात्र ल्याएको हो बजारमा । तर त्यही कुरा पछि बैंकहरूले गरे । हामी सँगसँगै त्यो पनि बढ्दै गयो ।

काम गर्दा हामीले जहिले पनि माया नै पायौं । बैंकहरूले पनि हामीलाई उत्साह नै दिए किनकी हामीले नयाँ कुरा सोची रहेका थियौं । ठूलो लगानी केही थिएन तर राम्रो प्रयास गरिरहेका थियौं । सबै जनाको सकारात्मक मानसिकता नै थियो ।

त्यतिबेला हामीलाई सजिलो के भयो भने धेरै कर्मसियल बैंक एकैचोटी खुलेको थियो । नयाँ–नयाँ वाणिज्य बैंक खुल्ने क्रम चलिरहेको थियो । धेरै बैंकहरूको प्रतिस्पर्धा थियो । अलिकति अरुको भन्दा राम्रो सेवा दिऊँ भन्ने सोच बैंकहरूमा थियो । अरुभन्दा फरक गरौं भन्ने विचार बैंकमा थियो । उहाँहरूले पनि यस्तो गर, उस्तो गर भन्नुहुन्थ्यो । यस्तो ग-यो भने सेवाग्राहीलाई राम्रो सेवा हुन्छ, नयाँ कुराको सुरुवात हुन्छ, भन्नुहुन्थ्यो ।

काम गरिरहँदा बजारमा प्रतिस्पर्धा त थियो । तर हामीले जसरी स्पस्टताका साथ यस्तो हुन्छ है भनेर भन्न सक्यौं अरु त्यसरी जान सकेनन् । हामीसँगै धेरै कम्पनी खुले । तर भविष्य कसरी विकास गर्ने भनेर स्पष्ट नभएकाले उनीहरू बन्द भए हामी सबै चुनौतीहरू पार गर्दै यो स्थितिमा आइपुग्यौं ।

वास्तवमा हामीले नेपालमा कहिल्यै पनि नभएको र कहिल्यै नगरिएको कुरा हामी गर्दै थियौं । हामी डिजिटल पेमेन्टमा काम गर्छौ भन्दा राष्ट्र बैंकबाट स्वीकृति लिएर मात्र पाउँछौं यस्तो काम गर्न भन्थे । सन् २००९ देखि २०१६ सम्म हामीलाई मान्छेले यिनीहरूको बिजनेस स्वीकृति नलिइएको भनेर धेरै जनाले ‘कमेन्ट’ गर्नु हुन्थ्यो । तर हामीले राष्ट्र बैंकसँग कुरा नगरेको त होइन ।

अर्थ मन्त्रालयमा पनि गएर के गर्ने हामीले काम गर्न पाउने हो कि होइन भन्दा ‘तपाईंहरूले बजारमा नआउने भन्ने हुँदैन, प्रविधि नीति–नियम भन्दा अगाडि हुन्छ । तपाईं बजारमा काम गर्नुस् र प्रमाणित गर्नुस् । यसको लागि नीति–नियम बनाउनुपर्ने आवश्यकता महसुस जुन दिन हुन्छ, त्यो दिन हामी तपाईंहरू खोज्दै आउँछौं’ भनियो । राष्ट्र बैंकको पनि त्यही कुरा आयो । यसले हामीलाई के भयो भने जे सेवा केन्द्रित भएर हामी लागिरहेका छौं, लागौं र कुनै दिन नियमन हुन्छ भन्ने निष्कर्षमा पुगियो । खासमा भन्दा हामीले काम सुरुवात गर्दा नियमन गर्ने कानुन थिएन ।

अर्को कुरा हामीले बैंकलाई सफ्टवेयर बेच्यौं । हामीले इ–सेवा पनि बैंकसँग कुरा नगरी ल्याएको भए गाह्रो हुन्थ्यो होला तर हामीले बैंकसँग सहकार्य गर्‍यौं । इ–सेवालाई बाटो देखाउने काम बैंकसँगको सहकार्यले गर्‍यो । बैंकहरू आफै नियमनमा भएकाले नियमन नहुँदा–नहुँदै पनि राम्रो वातावरण बनिरहेको थियो, इसेवाको लागि । त्यो भएर हामीलाई पछिसम्म सजिलो भयो । पछि राष्ट्र बैंकले लाइसेन्स नीति बनाउँदा पनि उहाँहरूले इसेवा नै अध्ययन गर्नुभयो ।

काम गर्दागर्दै बेलाबेलामा आर्थिक समस्या नपर्ने होइन, बेलाबेलामा परि नै हाल्थ्यो । हामीले दिनभर कमाएर बेलुका खानुपर्ने किसिमको काम गरेर अथवा महिनाको खर्च निकाल्ने किसिमको कम्पनी हो हाम्रो । त्यसमा सानो ब्यालेन्स हुँदा गाह्रो पर्ने भयो तर प्रतिस्पर्धीले गर्दा वा अन्य कारणले हाम्रो टिममा भाग्यबस कहिल्यै चुनौती सामना गरेनौं ।

हामी सबैजना एफवान सफ्टमा काम गरिराखेका छौं । सबैजनालाई एकदम मध्यम वर्गबाट आएका हौं । हामी आफैंले कमाएर गर्नुपर्ने भन्ने दबाब थिएन । त्यसले गर्दा हामीलाई धेरै स्वतन्त्रता भयो । हामी सबै जनाले परिवारको साथ पायौं । कुनै कोणबाट हामीलाई निरुत्साहन भएन । जे गरिराखेको छ आफ्नै काम गरिराखेको छ । केही न केही भइराखेको छ । घरमा पैसा दिन नसके पनि घरबाट पैसा माग्नु परेको थिएन । घरपरिवारले पनि कम्पनी चलाइ रहेका छन्, आफ्नो खर्च उठाइराखेको छन् भनेर सहयोग भयो ।

आजको दिनमा कुनै–कुनै माध्यमबाट सबै बैंक जोडिनु भएको छ । कुनै पनि बैंक छैन जुनमा हाम्रो सफट्वेयर नै छैन । हाम्रो सेवा नभएको हाम्रो कुनै बैंक नै छैन । सानो सेवा होस् ठूलो सेवा होस् कुनै माध्यमबाट जोडिएको छ ।

एफवान सफ्टमा हेर्‍यो भने हामीले सुरु गर्दा इसेवा पेमेन्ट भनेर सुरु गर्‍यौं । एफवान सप्ट मोबाइल बैंकमा मात्र सीमित भएनौं । नेपाल टेलिकममा अहिले हामीले ‘टप–अप’ को सेवा दिइरहेका छौं । मोबाइल टपअपको सुविधा इ–सेवा आएपछि हो । अनलाइनबाट बत्तिको बिल तिर्ने इ–सेवा आएपछि थालिएको हो । सन् २०१५ मा विद्युत् प्राधिकरणले डिजिटलाइज गरेको हो । खानेपानीमा धारा हुनेहरूको सप्mटवेयर प्रयोग गरेर पैसा तिरिन्छ । डिजिटाइज नभएको ठाउँमा डिजिटाइज गर्न हामीले धेरै काम गर्‍ यौं ।

बसको टिकट काट्नु पर्‍यो, जहाजको टिकट लिन पर्‍यो सबै सुविधा छ । बुद्ध एयरले इ–टिकेटिङ गर्नुपर्‍यो भनेर हामीलाई भन्यो । त्यसपछि लगभग सबै आइएसपीहरूले भने । हरेक व्यवसायमा प्राथमिकतामा इ–सेवा नै हो । हामीले यत्रो वर्ष गरेको मेहनतको फल नै यो विश्वास हो । आज कसैको पेमेन्ट गर्नु गर्‍ यो भने पहिलो दिमागमा आउने भनेको इ–सेवा नै हो ।

हामीलाई यतिले पुगेको छैन । ७५ प्रतिशत डिजिटलाइज, ५० प्रतिशत अथवा १०० प्रतिशत डिजिटलाइज गर्न मिल्छ तर मानिसहरूले गरिरहेका छैनन । काठमाडौं बाहिर गाउँमा गएर हेर्दा अझ पनि धेरै बाँकी छ नि । १०/१५ रुपैयाँको तिरो तिर्न पालिकाको कार्यालयमै जानुपर्छ । गाउँमा बत्तिको बिल मोबाइलबाट तिर्छन् तर तिरो तिर्न पालिकामा जानुपर्छ । त्यहाँ त हामी पुगेको छैन । अहिले पनि धेरै ठाउँ छ जहाँ हामी पुगेका छैनौं ।

अहिले नेपालमा कारोबार हुने कति प्रतिशत इ–सेवाले कभर गरिराखेको छ भन्दा न्यूनतम १ वा २ प्रतिशत मात्र होला । अहिले डिजिटल भुक्तानी वा कारोबार गर्ने २९ कम्पनी बजारमा छन् र सबै मिलेर कति प्रतिशत कारोबार गरे होलान् भन्दा २ प्रतिशत पनि छैन । यसरी हेर्दा ९८ प्रतिशत त मान्छेले आज नगद नै चलाइ रहेको देखिन्छ । बृहत् पहुँचमा पुग्न सकेका छैनौं । यो त सुरुवात मात्र हो । हामीले यो क्षेत्रमा धेरै काम गर्न सकिन्छ भनेर प्रमाणित मात्रै गरेका छौं । धेरै मान्छेको बीचमा जान त बाँकी नै छ ।

अन्य देशमा नगदरहित नै भन्ने बेला भइसक्यो । नगद नै चाहिन्छ भन्ने छैन । पसलमा सामान किन्दा नगद नै चाहिन्छ भन्ने अवस्था हटिसक्यो । मोबाइलबाट तिर्न मिल्ने भइसक्यो । तर मान्छेले चलाई रहेका छैनन् । ती मुलुकमा पनि कति धेरै काम छ अझ । त्योभन्दा पनि अझ नेपालको कति ४५– ५० प्रतिशत जनसंख्याको मात्र बैंक खाता छ ।

हाम्रै तथ्यांक हेर्ने हो भने ५० लाख मान्छेले अहिलेसम्म मोबाइलबाट पैसा तिरेका छन् । जीवनमा एकचोटी भए पनि मोबाइलबाट पैसा तिर्नेको संख्या ५० लाख छन् । ३ करोड जनसंख्यामा २ करोड ५० लाख जनाले मोबाइलबाट पैसा तिरेको छैन । ५० लाखले चलाउँदा २९ वटा कम्पनी टिकिरहेका छन् भने सबैले चलाउँदा अझ धेरै कम्पनी चल्छन् होला । एउटा कम्पनीले सबै काम गर्छु भनेर सक्दैन पनि होला । ३ करोड मानिस डिजिटल्ली जाँदा त पाँच गुणा बजार हुनसक्छ । त्यस कारण हामीले सुरुवात मात्र गरेको जस्तो लाग्छ अहिलेको डिजिटल कारोबार ।

अलिपेले सन् २००३ मा नै सेवा सुरु गरेको थियो । चीनमा ८० प्रतिशत कारोबार अलिपेबाट हुन्छ । भारतमा डिजिटल पेमेन्टले अर्कै फड्को मारिसक्यो । हामी लेसुरु गरेका छौं । हामीले प्रयोग गर्ने प्रविधि खासै फरक छैन । तर हाम्रोमा बजार राम्रोसँग बुझ्न नसकेको हो कि ? यद्यपि, फड्को नमारेको नै भन्न पनि मिल्दैन । सन् २००९ लाई आधार मानेर हेर्ने हो भने त फड्को मारिएकै हो । तर भारत चीनले जस्तो छलाङ् अझै भएको छैन । सायद अझै हाम्रो समय भएको छैन ।

प्रस्तुतिः हिम विष्ट

टक्सार म्यागजिन, भाद्र २०७८ मा प्रकाशित