ह्वावेकाे ‘सिड फर द फ्युचर २०२१’ नेपालमा, यसरी सहभागी हुन सक्नेछन् आईसीटी अन्डरग्राजुएट


काठमाडौं । ह्वावेले सूचना तथा सञ्चार प्रविधि(आईसीटी) अध्ययनरत (अन्डरग्राजुएट) विद्यार्थीहरू र आईसीटी क्षेत्रलाई भविष्यमा उद्योगको विस्तार गर्न खोज्नेहरूका लागि ‘सिड फर द फ्युचर २०२१’ कार्यक्रम ल्याएको छ ।

विश्वभर संचालनमा रहेकाे याे कार्यक्रम नेपालमा पनि सुरू गरिएकाे हाे । बुधबार पत्रकार सम्मेलन गर्दै यस विषयमा जानकारी गराइएकाे छ । यो ह्वावेको विश्वव्यापी रुपमा लागू गरिएको सामाजिक उत्तरदायीत्व अन्तर्गतको फ्ल्यागशीप कार्यक्रम हो ।

कार्यक्रम अन्तर्गत नेपालका २० जना आईसीटीका अन्डरग्राजुएट विद्यार्थीहरूको लागि सूचना प्रविधिका क्षेत्रमा ज्ञानको अनुभव गर्न पाउने अवसर ह्वावेले जनाएकाे छ । नोभेम्बर २९ देखि डिसेम्बर ६ सम्म आईसीटी सम्बन्धित प्राज्ञिक व्यक्तिहरूका लागि टेक्नोलोजी, नवपर्वतन र सांस्कृतिक आदानप्रदानको अनलाइन अवसर उपलब्ध गराउने जनाएको छ ।

अनलाइन कोर्सबाट सहभागीहरूले ह्वावेको नेपाल कार्यालय, उद्योग विज्ञहरूबाट कक्षा र ह्वावेका आधार शिविरको अनुभव गर्न पाउने छ । ‘सिड फर द फ्युचर’ प्रोग्राम २०२१ मा सहभागी हुन आवेदन दिन पर्ने योग्यता तोकेको छ ।

अनुसार कुनै पनि कलेजका कुनै पनि समूहका आईसीटी अन्डरग्राजुएट विद्यार्थीहरूकाे कम्तीमा ३.० जीपीए हुनुपर्ने, अंग्रेजी भाषाको राम्रो दखल भएको , टेलकम र सूचना प्रविधी विषयमा धेरै रूचि भएकाहरूले आवेदन दिन पाउने छन् ।

यो कार्यक्रमका सहभागीलाई कुनै पनि पारिश्रमिक नदिइने पनि उल्लेख गरिएको छ । www.seedsnepal.com मा क्लीक गरी अध्ययन गरिरहेको प्रतिष्ठानबाट सिफारिस पत्र सहितको आवेदन नोभेम्बर ७ सम्म पठाइ सक्नुपर्ने छ । केही जानकारी लिन परे फोन नम्बर ९८०१२५१९९२ फोन गरी सोध्न सकिने ह्वावे नेपालले जनाएकाे छ ।

उत्कृष्ट विद्यार्थी छनाेटका लागि ह्वावेले सूचना प्रविधी प्राेफेसर तथा विज्ञ सम्मिलित निर्णायक मण्डलसमेत गठन गरेकाे छ ।

यो ८ दिने कार्यक्रममा सहभागीहरूले फाइभ जी, क्लाउड कम्प्युटिङ र एआई प्रविधि समेत गरी सुरुआती र एडभान्स कोर्स प्राप्त गर्नेछन् । परम्परागत तथा आधुनिक चीनको दृश्यस्थल र द्रुतगतिमा उन्नति गरिरहेका कम्पनीहरूको अनुभव सहभागीहरूले चीनको भर्चुअल भ्रमणबाट प्राप्त गर्नेछन् ।

ह्वावेका विज्ञहरू, बाह्य उद्यमी, प्राफेसरहरू वा वैज्ञानिकहरूबाट साइबर सिक्युरिटीदेखि हवाई उद्योगजस्ता विभिन्न शीर्षकका ज्ञानको अनुभव सहभागीहरूले प्राप्त गर्नेछन् ।

कक्षा कोठाको समूह छलफल, बहस, गोलमेच संवादमा एक अर्काको सांस्कृतिक विषयमा ज्ञान सहभागीहरूले आदानप्रदान गर्न पाउने छन् । ‘टेक फर गुड’ शीर्षकको समूह प्रोजेक्टमा विभिन्न किसिमका ज्ञान सहभागीहरूले प्राप्त गर्न पाउने भएको ह्वावेले काठमाडौंमा एक कार्यक्रम गरी जनाएको छ ।

पत्रकार सम्मेलनमा सामूहिक तस्वीर खिचाउँदै कार्यक्रमका निर्णायक मण्डल, ह्वावेका नेपाल प्रतिनिधीलगायत ।