‘फेष्टिभ मुडबाट फर्किए लगानीकर्ता,सेयर बजारमा चमक’


काठमाडौं । कारोबारको तेस्रो दिन आज सेयर बजार भारी अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज सेयरमापक परिसूचक नेप्से ७८ अंकले बढेको हो ।

आज नेप्से ७८.८२ अंकले बढेर २७५१.०७ अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि ११.५० अंकले बढेर ५१६.०८ अंकमा पुगेको छ ।
नेपाल राष्ट्रबैंकले मार्जिन प्रकृतिको सेयर धितोमा कर्जा ४ करोड र १२ करोडको सीमा लगाएसँगै बजार निरन्तर घटिरहेको थियो । सोही समयमै बैंकहरुले पनि निक्षेपमा व्याजदर बढाएपछि झनै बजार ओरालो लाग्यो जसले गर्दा ३२ सय पुगेको नेप्से परिसूचक २५ सयमा झरेको लगानीकर्ता बताउँछन् ।

अब सेयर बजारले निश्चय नै उकालो यात्रा तय गरेको नेपाल इन्भेन्र्टस् फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन् । “राष्ट्रबैंकको नीतिले बजार झरेको हो जसमा असोज मसान्त पनि पर्यो किस्ता बुझाउनु पर्ने र नजिकै चाडबाड आएको लगानीकर्ता सेयर बेचेर चाडबाड मनाउन लाग्दा बजार तल झरेको हो” अध्यक्ष ढकाल भन्छन् “हेर्नुस बजार ३ दिन देखि बढेको छ जसले गर्दा लगानीकर्ता फेस्टिबल मुडमा थिए अब लगानीको मुडमा आएका छन् ।”

अब सेयर बजार बढ्ने ठोकुवा गर्दै अध्यक्ष ढकालले भने “बैंक तथा वित्तीय क्षेत्रमा पनि तरलताको समस्या सहज भएको छ, बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांश घोषणा गरेका छन् , त्यसैले ढुक्क भएर राम्रा कम्पनीमा लगानी गर्दा राम्रो प्रतिफल पाइन्छ ।”

मंगलबार नेप्सेमा कारोबार भएका १३ उपमुह मध्ये सबैं उपसमुहको सेयर बढेको छ । आज नेप्से रहेका समुह मध्ये होटेल तथा पर्यटन समूह सर्वाधिक ७.५१ प्रतिशतले उकालो लागेको छ ।

वित्त समूह ५.६१ प्रतिशतले बढेको यो दिन बैंकिङ समूह २.४४ प्रतिशत, व्यापार समूह २.७६ प्रतिशत, विकास बैंक समूह ३.७७ प्रतिशत, जलविद्युत समूह ४.३३ प्रतिशत, निर्जीवन बीमा समूह २.६५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २.७८ प्रतिशत, अन्य समूह २.४६ प्रतिशत, लघुवित्त समूह ३.३४ प्रतिशत, म्युचुअल फन्ड समूह १.३५ प्रतिशत र लगानी समूह ४.५ प्रतिशतले बढेको छ ।

नेप्सेमा आज कारोबारका आधारमा कामना सेवा विकास बैंक सर्वाधिक अग्रस्थानमा रहेको छ । कम्पनीको ४४ करोड ७४ लाख ५७ हजार ७ सय ४६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ७ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किंट लागेको छ । यो दिन बेस्ट फाइनान्स, ङादी ग्रुप पावर, खानीखोला हाइड्रोपावर, राधी जलविद्युत, घलेम्दी हाइड्रो, माउन्टेन हाइड्रो र चन्द्रागिरी हिल्सको सेयरमूल्यमा १० प्रतिशत बढेको हो ।

आज साना किसान विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका १ करोड १४ लाख ८६ हजार १२३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।