संघ-प्रदेश कृषि मन्त्री संयुक्त वैठक सम्पन्न, कृषिमा क्षतिको तथ्याङ्क एक हप्ताभित्र संकलन सम्पन्न हुने


काठमाडौं । संघ तथा प्रदेशस्तरीय कृषि मन्त्रीहरूको समन्वय बैठकले वर्षाले धानबाली लगायत कृषि क्षेत्रमा पुराएको तथ्याङ्क एक हप्ताभित्र संकलन गरिसक्ने निर्णय गरेको छ ।

आज बसेको बैठकले प्रदेशस्थित कृषि सम्बद्ध मन्त्रालयका जिल्लास्थित कार्यालयहरूले स्थानीय तहहरूको समन्वयमा क्षतिको कृषकस्तरको विवरण संकलन गरि एक हप्ताभित्र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पेश गर्ने निर्णय गरिएको  हो ।

असोज ३१ गतेदेखिको अविरल वर्षाले मुख्यतया धानबालीमा र सो साथ पशुपन्छी, केरा खेती, मत्स्यपालन लगायतमा ठूलो क्षति पुराएपछि समन्वय बैठक बसेको हो ।

बाढिपहिरोबाट पीडित कृषकहरूलाई राहत उपलब्ध गराउने सम्वन्धमा पूर्ण क्षति, आंशिक क्षति र सामान्य क्षति पुगेको क्षेत्रफलका आधारमा निश्चित मापदण्ड बनाइ प्रति इकाइ क्षेत्रफल निश्चित रकम राहत स्वरुप उपलब्ध गराउने निर्णय भएको  छ ।

त्यस्तै आगामी सिजनका लागि मल, वीउविजन तथा सिंचाइ सामग्रीहरुरू निशुल्क उपलब्ध गराउने, किसानको वर्गीकरणका आधारमा ऋण तथा व्याज मिनाहा/ छुटको व्यवस्थाका लागि पहल गर्ने लगायतका विकल्पहरूमा छलफल भएको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

क्षतिको कृषकस्तरको विवरण प्राप्त भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राहतका लागि आवश्यक बजेटको अनुमान तयार गरि बजेट व्यवस्थाका लागि प्रस्ताव पेश गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

संघ प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ अनुसार विषयगत समिति गठन गरी कृषि तथा पशुपन्छी विकास सम्बन्धी कार्यमा संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने निर्देशिकामा प्रदेश मन्त्रालयको राय/ सहमति लिइ स्वीकृतिको प्रक्रिया अगाडि बढाउने निर्णय भएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिए ।