किताब र कफी जोड्ने सपना


“अभिभावकले यो ठाउँमा आउनु पर्छ भनेर बच्चा ल्याएर आउनुहुन्छ, किताब किनाउनु हुन्छ । बरु यहाँ आएर बस न भन्नु हुन्छ, यहाँ बस्दा साथी पनि बन्छ र तैले सिक्छस् भनेर ल्याउनहुन्छ, यो हो अहिले हाम्रो कमाइ ।”

अनुप आचार्य
संचालक, रिडर्स हब एन्ड क्याफे

सन् २०१० मा अनुप आचार्यले एपेक्स कलेज काठमाडौंबाट एमबीए गरे । एमबीए गरेपछि मानव संशाधन व्यवस्थापन गर्ने कम्पनी (एचआर कम्पनी) खोले र रोजगारीका लागि मध्यस्थकर्ता (जब प्लेसमेन्ट)को काम सुरु गरे । उनले त्योभन्दा पहिले नै एमबीए गर्दागर्दै साथीहरूसँग मिलेर ‘अनलाइन बुक स्टोर’ सञ्चालन गरिसकेका थिए । ‘राम्रो बुक डटकम’ खोलेका अनुपको दाबी अनुसार यो नै नेपालको पहिलो ‘अनलाइन बुक स्टोर’ थियो ।

सन् २०११ सम्म आउँदा ‘बुक स्टोर’ राम्रो चल्ने अनुभूति उनलाई भयो तर तालमेल बिग्रदँै गयो । किताब पढ्ने थोरै भएकाले अनलाइन बुक स्टोरमा चाल बिग्रियो । तैपनि, एचआर कम्पनी चलिराखेकै थियो । समस्यामाथि समस्या थपिन भने छोडेन ।

भूकम्प नाकाबन्दीपछि राम्रो बुक डटकममा धक्का लाग्यो । उनी भन्छन्,“राम्रो थियो तर के भइदियो भने भूकम्प आयो, भूकम्पले गर्दा थोरै गाह्रो परिराखेको थियो, फेरि नाकाबन्दी भइदियो, नाकाबन्दी भएपछि अहिलेको जस्तो डेलिभरी गर्ने पनि धेरै थिएनन् । त्यसपछि हामी आपैmले बाइकहरूमा पु¥याइराखेका थियौं । तर ५ सय रुपैयाँमा पेट्रोल हालेर किताब पु-याउन समस्या भयो, त्यो भएर बन्द ग-यौं ।”

अनलाइन बुक स्टोर र एचआर कम्पनी चलाएपछि अनुप अध्यापनतिर लागे । कोभिड—१९ को महामारी सुरु भएपछि एचआर कम्पनी पनि चौपट भयो । उनले सुनाए, “मेरो एचआरको फिल्ड हो, व्यवसाय एकदमै डाउन, दुई वर्ष भइसक्यो, लकडाउनमा हाम्रो कम्पनीबाट मान्छे लिने कुरै भएन भर्ना भन्दा पनि हटाउने क्रम चलिराखेको छ,‘हायरिङ’ गर्नुपर्ने कम्पनीमा ‘फायरिङ’ चलेपछि अब यो समस्या पनि भयो ।”

अनलाइनबाट बुक बिक्री गर्दा अनुपलाई एउटा धारणा बनेको थियो– भौतिक रुपमै मानिस उपस्थित भएर पुस्तकलाई समातेर ‘फिल’ गरेर जसरी किताब किन्छ अनलाइनबाट त्यस्तो हुँदैन । अर्थात्, अनलाइनबाट किनेको किताबको त्यति माया हुँदैन । उनले सुनाए, “अनलाइन प्रविधिले मान्छेलाई आकर्षण त गर्छ । घरैमा किताब मगाइराखेको हुन्छ । तर समातेर आपैm किताबलाई महसुस गरेर किन्नुको मज्जा छुट्टै हुँदो रहेछ भनेर मलाई लाग्यो ।”

उनी कहिलेकाहीँ साथीसँग बसेका बेला किताब (बुक) र कफीको संयोजनबारे कुराकानी गर्थे । उतिबेला नै सोचेका पनि थिए । उनले तत्कालीन विगत सुनाए, “आर्थिक अवस्था र सम्भावनाबारे निर्धक्क भइएन र जसका कारणले निरन्तरतामा जान सकिएन । बरु टिचिङतर्फ लागेँ ।”
कोभिड—१९ का कारण अनुपले गरिरहेको काममा अप्ठेरो परिस्थिति सिर्जना ग-यो ।

भक्तपुर कौशलटारका रैथाने अनुपले लकडाउनमै योजना बनाए कफी र ‘बुक’लाई जोड्ने योजना जुन पहिले पनि सोच आएको थियो । लकडाउनले पहिले सोचेको सपनाको ढोका खोलिदियो । सुरु गरे भौतिकरूरूपमै पुस्तकलाई साक्षात्कार गराएर पाठकमाझ जाने ।

‘उपेक्षित ठाउँ’मा नयाँ काम

कौशलटार चोकबाट गठ्ठाघर बाँयातिर सडक छेउमै उनको जग्गा थियो । त्यही जग्गामा आफ्नो सपनाको जग हाल्ने निधो गरे । यति गरिरहँदा उनको मनमा थियो पुस्तकालय वा पुस्तक बजारका लागि भक्तपुर उपेक्षित ठाउँ हो । कसरी उनको मनमा यो आयो त ? उनले आफ्नो अनुभव र बुझाइ सुनाए, “४ वर्ष अगाडि अनलाइन बुक स्टोर चलाउँदा भक्तपुरबाट कतैबाट पनि अर्डर आएन किनभने यो ठाउँमा पढने नै मान्छे नभएको जस्तो भयो । अर्को कुरा हामीलाई अहिले पनि पुस्तक किन्न प¥यो भने काठमाडौं भोटाहिटी वा भृकुटीमण्डप पुग्नुपर्छ, कतै गएर शान्त किसिमले बसेर पढौं भने ठाउँ छैन ।”

भक्तपुरको अध्ययन शैलीले अनुपलाई अलिकति संकोचमा भने पु¥याएको थियो, पढ्ने बानी नभएको ठाउँमा योजना सफल हुन्छ कि हुँदैन होला ? तर केही आधार उनले समाएर आफ्नो योजनामा आफै विश्वस्त हुने प्रयास गरे । कारण थियो, बिस्तारै मानिसहरूमा पढ्ने बानीको विकास हुँदैछ अर्को उनी आफै शैक्षिक क्षेत्रमा थिए, अर्को आफ्नै जग्गा अनि वरिपरि बढेको बस्ती । सबैतिरबाट आफूलाई विश्वस्त बनाएपछि सुरु गर्ने निर्णय गरे, ‘रिडर्स हब एन्ड क्याफे’ ।

उत्साहित

उनले सबै पूर्वाधार तयार गरेर कोरोना संक्रमणको दोस्रो लहर कम हुँदै गएपछि क्याफे औपचारिक रूपमा सञ्चालनमा ल्याए । क्याफे झट्ट हेर्दा पुस्तक पसल जस्तो पनि लाग्छ । उनले अनुभव सुनाए, “कति मान्छे त झुक्किएर फर्किन्छन् ।” क्याफे छिर्ने बित्तिकै झ्वाट्ट आखाँ ¥याकमा राखिएका पुस्तकमा पुग्छन् जसले गर्दा मानिस झुक्किन्छन् पनि । तर अनुपले सुरु गरेको क्याफेको विशेषता नै यही हो । भित्र छिरेपछि कुनैपनि व्यक्ति पुस्तक किन्न सक्छ, त्यहाँ नभएका पुस्तक ल्याइदिनका लागि अर्डर गर्न सक्छ वा ¥याकमा भएका पुस्तक झिकेर कफी खाँदै समय बिताउन सक्छ । त्यतिमात्रै होइन आफैसँग ल्याएको पुस्तक पढेर बस्न सक्छ ।

छोटो समयको अनुभव सुनाउँदै अनुपले भने,“मैले यति धेरै त सोचेको थिइन कि यस क्षेत्रमा बस्नेहरू यति राम्रा पाठक रहेछन् । उहाँहरू त गुम्सेर बस्नुभएको रहेछ, कलेजका भाइबहिनी पनि आउने, यहाँ भएका पुस्तक पढ्ने, उहाँहरूले लिएर आएको पुस्तक पढेर बस्नुहुन्छ ।”
अनुपलाई रिडर्स हब भनेर राखेको नाम सार्थक बन्न थालेको जस्तो लाग्छ । पढ्ने मानिसहरू आउँछन्, भेला हुन्छन्, पुस्तकको बारेमा छलफल गर्छन्, पढ्ने पुस्तकबारे बहस हुन्छ ।

सबै गतिविधि नियाल्ने अनुपले ‘पढ्ने संस्कृति नभएको हो कि वातावरण नभएको हो’ भन्नेबारेमा प्रश्न गरे । उनको भनाइ थियो, “पढ्ने संस्कार नभएको होइन रहेछ । बच्चाहरूले ठाउँ नपाएको भन्ने कुरा बुभ्mयौं । यही क्षेत्रका भाइबहिनीहरू नियमित आउनु हुन्छ र भन्नुहुन्छ– ठाउँ नै थिएन, साथीहरू भेला भएर चिकेन स्टेसनमा किताबको कुरा गर्न भएन, बर्गर हाउसमा गएर किताबको कुरा गर्न भएन यो ठाउँमा किताबको कुरा गर्न पाउँछौं ।”

प्रोफेसर, उच्च सरकारी अधिकारी, लेखक, प्राज्ञिक क्षेत्रका मानिसहरू, विश्वविद्यालय, कलेजका विद्यार्थीहरू रिडर्स हबका नियमित ग्राहक बनिरहेका छन् र यो क्रम बढ्दो छ । अनुप भन्छन्,“हाम्रो अभिप्राय भनेको पठन संस्कृति विकास गर्ने हो, त्यसमा सफल हुँदै गएका छौं । यो भक्तपुर क्षेत्रमा बस्ने रिडर्सहरू, लेखकहरू, ऐकेडेमिसियनहरूमात्र होइन, समान्य मान्छे जसले राम्रो ठाउँ खोजिरहेका छन्, उहाँहरू लागि राम्रो प्लेटफर्म बन्दै छौं ।”

तर, अनुपलाई के थाहा छ भने संस्कार एकैपटक विकास हुँदैन । अहिले जे देखिएको छ त्यो प्रारम्भिक स्वरूप मात्रै हो । केही समय आफूले नै मेहनत गर्नुपर्छ भन्ने उनलाई पनि थाहा छ । उनको भनाइ थियो,“एउटा संस्कार विकास गर्ने सोचाइका साथ आएका हौं । रातारात यो हुँदैन, केही वर्ष त मेहनत गर्नै पर्छ ।”

कतिपयले खिसी गरे

अनुपको पारा देख्दा कतिपयले यस्तो के गरेको समेत भने ? कतिपयले खर्च उठ्छ त भनेर समेत प्रश्न गरे । अनुपले सुनाए, “कतिपयले त यस्तो ठाउँमा बर्गर हाउस खोल्दे, चिकेन स्टेसन खोल्दे, बाल्कोटतिर जग्गा दलालहरू टन्नै छन्, आउँछन्, टन्नै कमाइ हुन्छ, यस्तो के गरेको पनि भने तर मेरो चाहना भनेको संस्कार निर्माण गर्ने हो ।”

जग्गा व्यवसायीहरू सुरु–सुरुमा आए पनि तर अब उनीहरू आउन छोडेको अनुपले सुनाए । अनुपले हाँस्दै भने, “यहाँ आउने बित्तिकै पुस्तक देख्छ, मानिस पढिरहेको देख्छ, शान्त वातावरण हुन्छ अनि होहल्ला गर्ने, मनलाग्दी गर्ने मान्छे कहाँ आउँछ त !”

अनुपको विश्वास छ, संस्कार विकास गरेपछि ग्राहक त भइ नै हाल्छ नि । उनले भने, “मलाई थाहा छ, रातारात कमाउने हाम्रो व्यवसाय होइन ।” केही समयको अनुभवले पठन संस्कार विकास गर्न भूमिका खेल्दै व्यवसाय गर्न सकिन्छ भन्ने उनलाई विश्वास पलाएको छ । उनी भन्छन्, “अभिभावकले यो ठाउँमा आउनु पर्छ भनेर बच्चा ल्याएर आउनुहुन्छ, किताब किनाउनु हुन्छ । बरु यहाँ आएर बस न भन्नु हुन्छ, यहाँ बस्दा साथी पनि बन्छ र तैले सिक्छस् भने ल्याउनहुन्छ, यो हो अहिले हाम्रो कमाइ ।”

बुक र कफी कल्चरबारे उनले सुनाए, “कहाँ छिरेछु भन्ने खालको मान्छे पनि हुन्छन् तर पढ्ने मान्छेले वाह ! यो ठाउँमा आएछु भन्छन्, बिस्तारै साथी बनाएर किताबको कुरा गरिराखेका हुन्छन्, समूह निर्माण गर्छन्, किताब मसँग पनि छ, मैले पढेको म ल्याइदिन्छु भन्छन्, बुक आदान–प्रदान गर्छन्, वास्तवमा राम्रो माहोल भइरहेको छ ।”

निःशुल्क बसाइ !

अनुपको योजना नै सबै खाले व्यक्ति पाठक बनुन् भन्ने छ । त्यसैले उनको दाबी छ ,क्याफे नाम भए पनि अन्यत्र भन्दा सस्तो नै छ । क्याफे छिरेर कुनै व्यक्ति कति समय बस्छ, कति अध्ययन गर्छ उसको कुरा हो । अनुप भन्छन्, “अन्य क्याफेभन्दा सस्तो नै छ । यहाँ बसेको हामीले कुनै शुल्क लिएका छैनौं । मेन्यूअनुसार उसले के खान्छ त्यही नै हो । समय कति लिन्छ उसको कुरा हो ।”

रिर्डस क्याफेमा छिर्ने व्यक्ति कफीदेखि पुस्तकसम्मको ग्राहक हो । अनुपले सुनाए,“एउटा किताब पढने व्यक्ति ३ वटा किताब किन्न सक्ने व्यक्ति बन्न सक्नुहुन्छ, साथीभाइसँग कुराकानी गरेर प्रचार गरिदिनुहुन्छ, एउटा साटो २ वटा कफी लिनुहुन्छ, हामीले विकास गर्न खोजेको कुरा यही नै त हो अनि किन बसेको शुल्क लिने ?”

अनुपलाई अहिले श्रीमतीले साथ दिइरहेकी छन् । ४ जना कर्मचारी छन् । छोटै समयमा नयाँ अवधारणासहित काम गर्दा उत्साहित बनेका उनी थप नयाँ योजना बुन्दैछन् । तर कुरा टुंगाउदै गर्दा अनुपले भने, “योजनाचाहिँ अहिले नभनिहालौं ।”

अर्थात्, अब अनुपलाई लागेको छ आफ्नो अभियान अगाडि बढ्यो । सुरुवाती खर्चबारे हामीले प्रश्न गर्दा हिसाब सुनाए,“जग्गा आफ्नै भएकाले सजिलो भयो तर समग्र हेर्दा १५ देखि २० लाख खर्च गर्दा यो शैलीको क्याफे तयार गर्न सकिँदो रहेछ किनभने बुक पनि राख्नुप¥यो, सुरुमा कसैले पत्याउँदैन तर पछि बिस्तारै ट्रेन्डिङमा ल्याउन सक्छौं ।”

(टक्सार म्यागजिन, असाेज २०७८ मा प्रकाशित)

प्रस्तुतिः हिम विष्ट