काठमाडौं । ललितपुरको जावलाखेल मैदानमा चलेको १४ औं गोदावरी पुष्प मेला सोमबार सम्पन्न भएको छ। कृषि विभाग र फ्लोरिकल्चर एसोसिएसनको संयुक्त आयोजनामा सोमबार सम्पन्न भएको हो ।
चार दिनदेखि चलेको मेलामा ३६ हजार ९ सयले अवलोकन गरेको फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष मीन बहादुर तामाङले जानकारी दिए। फूल प्रवर्द्धनका लागि मेलाको आयोजना हो ।
![](https://taksarnews.com/wp-content/uploads/2021/11/puspa-mela-16-768x576.jpg)
‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने अभियानका साथ आयोजना गरिएको मेला प्रदर्शनीमा व्यावसायिक ४४ र सूचनामूलक चार गरी ४८ वटा स्टल थिए।
नजिकिएको तिहार तथा छठ लक्षित आयोजना गरिएको मेलामा ७९ लाख रूपैयाँको कारोबार भएको छ। मेलामा विभिन्न प्रजातिका फूल तथा बिरूवा प्रदर्शनीमा राखिएको थियो।
![](https://taksarnews.com/wp-content/uploads/2021/11/puspa-mela-14-768x576.jpg)
मेलाले पुष्प व्यवसाय प्रवर्द्धन गर्न र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पु-याउने विश्वास लिइएको मेला संयोजक सिताराम पन्तले बताए ।
तिहारमा सयपत्री, गोदावरी र मखमली गरी १८ लाख बढी मालाको माग छ। जसमा सयपत्री १५ लाख ५० हजार, गोदावरी १५ हजार र मखमली ३ लाख हुन्छ।
![](https://taksarnews.com/wp-content/uploads/2021/11/puspa-mela-16-768x576.jpg)
तिहारका लागि सयपत्रीका १३ लाख ५० हजार वटा माला आन्तरिक उत्पादनले धान्दै आएको छ भने २ लाख माला छिमेकी मुलुक भारतबाट आयात हुन्छ। यस वर्ष भने थप ५० हजार वटा माला आयात गर्नुपर्ने एशोसियसनका महासचिव विश्वमणी पोख्रेलले बताए ।
सयपत्रीको व्यवसायिक उत्पादन काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोर्खा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, सुनसरी, मोरङ, सर्लाही, सिराहा, रूपन्देही, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ, कैलालीमा हुँदै आएको छ।
![](https://taksarnews.com/wp-content/uploads/2021/11/puspa-mela-19-576x768.jpg)
मखमलीको व्यवसायिक उत्पादन काठमाडौं उपत्यकका इचंगुनारायण, गुण्डु, गोदावरीका साथै कैलाली, पाल्पा, धादिङ र इलाममा हुँदै आएको छ। यस वर्ष माला प्रतिगोटा ८० देखि ९० रूपैयाँ पुग्ने एसोसिएसनले जानकारी दिएको छ । प्रतिगोटा ५० देखि ६० रूपैयाँ थोक मूल्य नै छ। त्यसमा २० देखि २५ प्रतिशत नाफा राख्दा ८० देखि ९० रूपैयाँसम्म पर्न सक्ने देखिएको हो ।
अध्यक्ष तामाङले सयपत्री आयात गरिए पनि तिहारमा मखमली भने निर्यात हुँदै आएको बताए । नेपालीहरू बस्ने अष्ट्रेलिया, युरोप लगायत खाडीका केही देशमा एक लाख माला निर्यात हुँदै आएको छ।
![](https://taksarnews.com/wp-content/uploads/2021/11/puspa-mela-18-768x576.jpg)
पछिल्लो समय कोरानाका कारण बर्सेनि फूलको कारोबार घट्दै गएको एसोसिएसनले बताएको छ। कोरोनाअघिको सामान्य अवस्थामा आव ०७५/०७६ मा २ अर्ब ४२ करोडभन्दा बढीको वार्षिक कारोबार भएको थियो।
०७६/०७७ मा कोभिडका कारण २ अर्ब १५ करोड रूपैयाँको कारोबारमा सीमित भयो। ०७७/७८ मा वर्षभरी निषेधाज्ञाले गर्दा झनै कमी आई १ अर्ब ६३ करोडको कारोबार भएको छ।
![](https://taksarnews.com/wp-content/uploads/2021/11/puspa-mela-13-576x768.jpg)
प्रतिक्रिया दिनुहोस्