बैंकिङ क्षेत्रमा देखिएको तरलता कम गर्न २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दै राष्ट्र बैंक


काठमाडौं । तरलताको अभाव टार्न नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता कम गर्न भोलि कार्तिक २५ गते, बिहीबार उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको हो।

बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । बैंकले यसअघि यही महिनामा दुईपटक रिपो जारी गरिसकेको छ । बिहीबार जारी हुने रिपोसहित अब रु ५० अर्ब बराबरको रकम वित्तीय प्रणालीमा प्रवाह हुनेछ।

उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले भोलि दिउँसो २ बजेसम्म बिडिङ गर्नुपर्नेछ । उक्त रिपो राष्ट्र बैंकले १४ दिने अवधिका लागि जारी गर्न लागेको हो । यो रिपो मंसिर ९ गते परिपक्क हुनेछ।

रिपो तथा रिभर्स रिपो केन्द्रीय बैंकले छोटो समयावधीका लागि बैंकिङ्ग प्रणालीमा तरलता प्रवाह गर्न तथा बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलतालाई प्रसोचन गर्न उपयोग गर्ने उपकरण हुन् । यस अन्तर्गत तरलताको अवस्था हेरी केन्द्रीय बैंकले बैंक तथा वित्तिय संस्थाहरुबाट अल्पकालिन सापटी दिने वा लिने कार्य गरी तरलताको व्यवस्थापन गर्ने कार्य गर्दछ।

बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपो मार्फत प्रणालिमा तरलता प्रवाह गर्दै आएको छ । तरलताको व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुबिधा जस्ता उपकरणको प्रयोग गर्दछन्।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा छोटो अवधिको लागि तरलता प्रवाह गर्न प्रयोग हुने उपकरणलाइ रिपो भनिन्छ। यसअन्तर्गत तरलता आवश्यक परेको बैंक तथा वित्तिय संस्थाहरुबाट ट्रेजरी बिल वा विकास ऋणपत्र धितोको रुपमा लिई निश्चित व्याज लिने शर्तमा नेपाल राष्ट्र बैंकले उक्त संस्थाहरु लाइ अल्पकालीन सापटी प्रदान गर्दछ जसले गर्दा बैंकिङ्ग प्रणालीमा तरलता प्रवाह हुन जान्छ।