निफ्राको खुद मुनाफा बढ्याे, प्रतिसेयर आम्दानी भने घट्यो


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफामा वृद्धि भएको छ । बैंकले आज सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद मुनाफा ३४.३७ प्रतिशतले बृद्धि भएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले २४ करोड २० लाख रुपैयाँ खुद मुनाफा हासिल गरेको छ । यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.३७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १८ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष सोही अवधीमा बैंकको चुक्ता पुँजी ६६.६७ प्रतिशतले बढेको छ । त्यस्तै जगेडा कोष पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष सोही अवधीमा ४५ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष सोही अवधीमा बैंकको वितरणयोग्य मुनाफामा पनि बृद्धि भएर १९ करोड ६ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै बैंकको सञ्चालन मुनाफामा पनि बृद्धि भएको छ अघिल्लो बर्ष यहि अवधिमा संस्थाको सञ्चालन मुनाफा २८ करोड ३५ लाख रुपैयाँ रहेकोमा बैंकको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४६.२८ प्रतिशतले बृद्धि भएर ४१ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।
बैंकको खुद मुनाफामा बृद्धि भए पनि प्रतिसेयर आम्दानीमा भने घटेको छ ।

अघिल्लो बर्षको यहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैया ४७ पैसा रहेकोमा अहिले त्यो १ रुपैयाँ १६ पैसाले घटेर ४ रुपैयाँ ८४ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ७४.३७ गुणा रहको छ रहेको छ भने बैंकको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ २२ पैसा रहेको छ ।