झिनो अंकले घट्यो नेप्से


काठमाडौं ।  तिहारपछि लगातार घटेको सेयर बजार आज साताको कारोबारको पहिलो दिन पनि घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक नेप्से परिसूचक १.३८ अंके घटेर २६८८.९२ अंकमा झरेको छ ।

त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ०.२५ अंकले घटेको छ ।

आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहको सेयर घटेको नेप्सेले जनाएको छ ।

कारोबार रकमका आधारमा आज लक्ष्मी विकास बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकको २७ करोड ३९ लाख ९३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

नेप्सेमा आज बोटलर्स नेपाल तराईका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने तेह्रथुम पावर कम्पनी लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था र महालक्ष्मी विकास बैंकको सेयर मूल्य सर्किट लेबलमा कारोबार भएको छ ।

त्यस्तै आईतबार नेप्सेमा हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

आज कूल २३० वटा कम्पनीको ७४ लाख ३४ हजार ५ सय ३७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५ सय २५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।