विभिन्न निकायबाट निर्धारित घरजग्गाको मुद्रास्फीति पाँच प्रतिशतदेखि दश प्रतिशतले फरक


काठमाडौं । सरकारका विभिन्न सरोकारवाला निकायले घरजग्गाको क्षेत्रमा मुद्रा स्फीतिको अवस्था फरक फरक देखिएको छ ।

ती निकायहरूको तुलना गर्दा पाँच प्रतिशत देखि दश प्रतिशतसम्मको अन्तर देखिएको छ ।

वाणिज्य बैंकहरूको तथ्याङ्कको आधारमा निकालिएको घर जग्गा मुद्रा स्फीति र नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको घर जग्गा मुद्रा स्फीतिमा १० प्रतिशतको अन्तर देखिएको हो ।

आर्थिक वर्ष २०७६्/७७ मा वाणिज्य बैंकहरुबाट प्राप्त तथ्याङ्कको आधारमा घर जग्गा मुद्रास्फीति २६.४५ रहेको देखिएको छ । भने मालपोत कार्यलयहरुको तथ्याङ्क अनुसार मुद्रास्फीति १९.७३ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको घर जग्गा मूल्य सर्वेक्षण प्रतिवेदनमा २०७७/७८ मा भने वाणिज्य बैंक मुद्रास्फीति १६.३१ प्रतिशत र मालपोत कार्यलयहरुमा १२.५७ रहेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ को प्रथम नौ महिनामा घर जग्गाको कारोबारमा केही शिथिल भएकोले मुद्रास्फीति कम रहेको प्रतिवेदनमा उल्लेख छ ।

घरजग्गाको मूल्यमा आउने अस्वभाविक उतारचढावले देशको पुरै आर्थिक स्थायित्वमा प्रतिकुल प्रभाव पार्न सक्ने सम्भावना भएकाले यस क्षेत्रको मूल्य स्थिति सम्बन्धमा जानकारी राख्नको लागि हरेक ३ महिनामा घरजग्गा कारोबारको मूल्य सर्वेक्षण गर्ने जनाइएको छ ।

राष्ट्र बैंकले ७ प्रदेशको २० जिल्लाका घर जग्गा धेरै कारोबार हुने महानगरपालिका र नगरपालिकाका २ वडाको तथ्याङ्क सङकलन गरेको थियो ।

तर वाणिज्य बैंकहरुको घरजग्गाको धितोमा प्रवाह भएको कर्जा कारोबार सङ्ख्या तथा शाखा सञ्जालको आधारमा बढी कारोबार भएका र विस्तृत शाखा सञ्जाल रहेका वाणिज्य बैंकहरु छनोट गरी तथ्याङ्क सङ्कलन गरेको जनाएको छ ।

नेपाल बैंक, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक तथ्याङ्क सङ्कलनको लागि छनोट भएका थिए ।

२० सर्वेक्षण स्थलहरु मध्ये दश जिल्लाका मालपोत कार्यलयहरूमा स्थलगत सर्वेक्षण र १० जिल्लामा अनलाइनमा गइसकेकोले भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट अनलाइन तथ्याङ्क सङ्कल गरेको जनाएको छ ।

नेपालमा पहिलो पटक घरजग्गाको मूल्य सर्वेक्षण गरिएको हो । यस प्रतिवेदनले शहरी क्षेत्रलाई मात्र समेटेको छ ।