मौद्रिकनीति समीक्षाको प्रभाव, ८० अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं । गत शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्यो । जु्न सेयर बजारले अपेक्षा गरेअनुरुप आएन । सम्पूर्ण लगानीकर्ताको पर्खाइमा रहेको मौद्रिक नीतिको समिक्षा हात्ति आयो हात्ति आयो फुस्स भने झै भयो ।

राष्ट बैंकले समीक्षामा सेयर बजारलाई राहत हुनेगरी बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो (कर्जा/निक्षेप अनुपात)सँग मार्जिन प्रकृतिको सेयर कर्जा (४/१२)को सीमामा कुनै परिर्वतन गरेन जसको प्रत्यक्ष प्रभाव आजको सेयर बजारमा देखिएको छ ।

साताको पहिलो दिन अर्थात् मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा पछिको पहिलो कारोबारको दिन आज नेप्से ८०.२९ अंकले घटेको छ ।
कारोबार सुरु भएसँगै घट्न सुरु गरेको नेप्से परिसूचक कारोबारको डेढ घण्टामा ६० अंकले घटिसकेको थियो ।

मौद्रिक नीतिमा केही फरबदल हुन्छ भनेर लगानीकर्ताले सेयर होल्ड गरेर राखेका थिए त्यो केही हुन सकेन त्यसैले बजारमा प्यानिक सेल भएको नेपाल पुँजीबजार संघकी अध्यक्ष राधा पोख्रेलले बताइन् ।

उनले भनिन्, “मौद्रिक नीतिको प्रभाव अझै २÷४ दिन बजारमा पर्दछ, सेयर बजारमा अब ४/’१२ को क्यापले कुनै असर नगर्ने जे हुनु थियो भैसक्यो अब लगानीकर्ताहरु पनि परिपक्क हुनुभएको छ । बजार पुनः उचाईमा पुग्नेमा हामी विश्वस्थ छौ ।”

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ८०.२९ अंकले घटेर २६५१.४९ अंकमा झरेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि १४.१९ अंकले घटेर ५०१.४५ अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ ।

आज कारोबार रकमका आधारमा महालक्ष्मी विकास बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको २९ करोड ८१ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज नेप्सेमा आइसिएफसी फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.७७ प्रतिशतले सर्किट लेबलमा कारोबार भइरहेको छ । त्यस्तै म्युचुअल फण्डसहित जम्मा १० वटा कम्पनीको सेयरमूल्य बढेको छ ।

आज हिमालयन पावर पार्टनरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य ८.४९ प्रतिशतले घटेको छ ।
कूल २३४ वटा कम्पनीको एक करोड १९ लाख ३ हजार २ सय २ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०७८ र एकीकृत निर्देशिका जारी गरेसँगै सेयर धितो कर्जामा कडाइ ग¥यो । राष्ट्र बैंकले एउटा बैंकबाट ४ करोडसम्म मात्र सेयर धितो कर्जा लिन पाउने व्यवस्था ग¥यो।

उक्त नीतिमा ४ करोड बढी लिन चाहनेले अरू दुईवटा बैंकबाट ४/४ करोड गरी १२ करोड सेयर कर्जा लिन पाउने व्यवस्था तोकियो । राष्ट्र बैंकले सेयर कर्जामा ४१२ को क्याप लगाएसँगै सेयर बजार निरन्तररुपमा ओरालो लागेको छ । ३२ सयको उचाँइमा पुगेको नेप्से परिसूचक अहिले २६ सयमा झरेको छ ।