सामाजिक सुरक्षा कोषमा १० अर्ब २९ करोड रुपैँया संकलन


काठमाडौं । सामाजिक सुरक्षा दिवसको अवसरमा मन्त्रालयमा उपस्थित १० आश्रित परिवारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले मन्त्रालयबाट सिस्टम मार्फत पेन्सन भुक्तानी गरेका छन् ।

शनिबार सामाजिक सुरक्षा कोषको सुरुवात भएको ३ वर्ष पुगेर ४ वर्ष लागेको उपलक्ष्यमा मन्त्री श्रेष्ठले १० आश्रित परिवारलाई ४४ हजारदेखि ४ हजारसम्म पेन्सन वितरण गरेका हुन् । कार्यक्रममा मन्त्री श्रेष्ठले यो कार्यक्रम सातै प्रदेशमा सुरुवात गर्ने बताए । शनिबार मात्रै सामाजिक सुरक्षा कोषले ५२ जनालाई पेन्सन वितरण गरेको छ ।

सामाजिक सुरक्षा कोषमा २ लाख ९५ हजार ६ सय २२ श्रमिकहरु आबद्ध भएका छन् । २०७५ मंसिर ११ गतेदेखि सुरुवात भएको सामाजिक सुरक्षा कार्यक्रममा हालसम्म १५ हजार ८ सय २४ रोजगारदाता आबद्ध भएका छन् ।

कोषमा १० अर्ब २९ करोड योगदान रकम संकलन भएको छ । जसमा गत लकडाउन अवधि जेष्ठ र आषाढ महिनाको नेपाल सरकारवाट योगदान रकम प्राप्त हुन वाँकि रहेको जनाइएको छ ।

कोषमा आवद्ध योगदानकर्ताहरु मध्ये हाल सम्म ६ हजार ४ सय ५० योगदानकर्ताहरुलाई रु ७ करोड १६ लाख ८५ हजार औषधि उपचार वापत भुक्तानी गरेको जनाएको छ ।

दुर्घटनामा परेका १ सय ९१ योगदानकर्तालाई उपचार खर्च रु ६० लाख ५८ हजार भुत्तानी गरेको छ । साथै कोषमा आवद्ध असामायीक निधन भएका (१ सय २३) योगदानकर्ताको आश्रित पति पत्नि वा बुबा आमालाई रु १ करोड १३ लाख भुक्तानी गरेको छ । आश्रित परिवारलाई मासिक रु २० लाख ६५ हजार पेन्सन भुक्तानि गर्ने जनाएको छ ।

सामाजिक सुरक्षा कार्यक्रम श्रमिक, रोजगारदाता र सरकारको त्रिपक्षिय सहकार्यमा संचालित रहेको छ ।

सरकारको लक्ष्य र योजना अनुसार अनौपचारिक र स्वरोजगार क्षेत्रलाई यहि वर्ष कोषमा आबद्ध गर्ने तयारी गरिराखेको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए । दायरालाई बिस्तार गरी सबै नागरिकलाई सामाजिक सुरक्षाको छाता भित्र आवद्ध गर्ने उनले भने ।

सामाजिक सुरक्षा योजना कार्यविधिको दोस्रो संशोधन गरी योगदानकर्ता मैत्री बनाउदै लगिएको जनाइएको छ ।

योगदान रकम संकलन सुरुको दिनदेखि नै प्रविधिको प्रयोग गरी अनलाईन गरिएको थियो भने यस वर्ष देखि सुविधा भुक्तानि अन्तर्गत अवकास तथा पेन्सन भुक्तानी पनि अनलाईन गरिएको छ ।

विस २०७४ सालमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा आए संगै २०७५ मंसिर ११ कार्यक्रमको शुभारम्भ भएको हो ।

यो कार्यक्रम २०७५ मंसिर ११ गते काठमाडौंका बिजुलीका पोल पोलमा तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलीको झुण्ड्याएर नयाँ युगको सुरुवात भनेर तामझमका साथ सामाजिक सुरक्षा योजना सार्वजनिक गरेको थियो ।

निजी क्षेत्रमा कार्यरत सबै मजदुरलाई सामाजिक सुरक्षा तथा बुढेसकालमा पेन्सन दिन सो योजना ल्याइएको हो । त्यसका लागि मजदुर र रोजगारदाताले सामाजिक सुरक्षा कोषमा आवद्ध भएर मासिक आम्दानीबाट तोकिएअनुसारको योगदान गर्नुपर्छ ।