सोमबार पनि नेप्से परिसूचक २१ अंकले ओरालो लाग्यो


काठमाडौं ।  कारोबारको साताको दोस्रो दिन पनि नेप्से परिसूचक ओरालो लागेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से २१.५१ अंकले ओरालो लागेको हो ।
गत शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षाको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएकाले अब बजारमा केही दिन करेक्सन आउन सक्ने लगानीकर्ता बताउँछन् ।

राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितोमा कर्जामा लगाएको ४/१२ को क्याप नहटाए पनि केही हेरफेर गर्छ भन्ने लगानीकर्तालाई ठुलो आशा थियो तर त्यो हुन सकेन जसको कारण बजारमा केही प्यानिक सेल भएको नेपाल सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए ।

उनि भन्छन् “बजारमा एक दुई दिन यसको असर रहन्छ नै अब लगानीकर्ता परिपक्क भइसकेका छन्,४ १२ को सीमाले बजारलाई लामो समय प्रभाव पार्दैन बजार पुनः लयमा नै फर्किन्छ ।”

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक २१.५१ अंकले घटेर २६२९.९७ अंकमा झरेको छ । सेन्सेटिभ परिसूचक पनि ५.९२ अंकले घटेर ४९५.५३ अंकमा झरेको छ ।

आज पनि महालक्ष्मी विकास बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको २९ करोड ८१ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

नेप्सेमा आज न्यादि पावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यस्तै आज आइसीएफसी फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कूल २२८ वटा कम्पनीको ८२ लाख २५ हजार ८ सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८९ लाख ३७ हजार १३३ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।