स्वदेशी केराले धान्छ मागकाे ६० प्रतिशत हिस्सा, सरकारी बेवास्ताले मर्कामा परेकाे उत्पादककाे गुनासाे


काठमाडौं । नेपालमा उत्पादन भएको केराले बजारकाे ६० प्रतिशत हिस्सा धान्ने गरेकाे केरा महासंघ नेपालले जनाएकाे छ । स्वदेशमै राेजगारी सिर्जनादेखि अर्थतन्त्रमा भूमिका खेलिरहेकाे केरा उत्पादनकाे क्षेत्र प्रवर्द्धन गर्न सरकारले ध्यान नदिँदा उत्पादक मर्कामा परेकाे महासंघकाे तर्दथ समिति अध्यक्ष विष्णुहरि पन्थले बताए।

मंगलबार काठमाडौंमा सम्पन्न केरा व्यवसायीको सम्भावना, अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष पन्तले हाल २८ जिल्लामा व्यवसायिक केरा उत्पादन  भइरहेकाे बताए ।

नेपालको उत्पादनले ६० प्रतिशत माग समेट्ने भएकाले ४० प्रतिशत मात्र आयात गरे हुने अवस्थालाइ व्यवास्ता गर्दै सरकारले नेपालमा उत्पादित केरा भन्दा पनि बाहिरबाट आयात गर्न प्रोत्साहन गर्ने गरेको किसानहरुले गुनासो गरेका छन् ।

नेपालको उत्पादनले वैशाख, जेठ, असार, साउन महिनासम्म खपत हुने गर्दछ । नेपालमा अहिले २५ हजार हेक्टरमा केरा खेती भइराखेको किसान महासंघको तथ्यांकले देखाएको छ । ३७ हजार ५०० उत्पादक छन् भने २८ हजार ३०० जनाले रोजगारी पाएका छन् ।

नेपालमा थप १५ हजार हेक्टरमा उत्पादन भए शतप्रतिशत उत्पादन धान्ने देखिन्छ । “नेपालमा यान्त्रिकरणको कम प्रयोग, बैंकमा धेरै ब्याजदरमा ऋण, दक्ष प्राविधिकको अभाव कामदारको ज्याला धेरै भएको कारण २० प्रतिशत बढी पर्छ,” पन्तले भने ।

राष्ट्रिय किसान आयोगकी प्रवक्ता जीवन्ती पौडेलले किसानको हिस्सा अर्थतन्त्रमा पहिलो हुनुपर्नेमा रेमिट्यान्सले पहिलो भएकोमा दुख लागेको बताइन । नेपालमा बाहिरबाट आएको तरकारी, फलफुलजन्य सामग्री नक्वारेन्टाइन चेकजाँच नै आउने गरेकाले स्वदेशी उत्पादन मारमा परेकाे उनकाे भनाइ छ।

उनले २८ जिल्लामा नभई सबै जिल्लामा सम्भावना रहेको बताइन् । कार्यक्रममा राष्ट्रिय किसान महासंघका संस्थापक अध्यक्ष तथा सल्लाहकार उद्धव अधिकारीले केरा खेती मात्र भन्दा मिश्रित बालीमा ध्यान दिनु पर्नेमा जाेड दिए ।

अहिले जलवायु परिवर्तनका कारण एकल बाली नभई मिश्रित बाली तिर ध्यान दिनु पर्ने उनकाे भनाइ छ । महासंघका अध्यक्ष नवराज बस्नेतले नेपालमा गुणस्तरिय बिउविजन पाउन मुस्किल रहेको बताए।

नेपालको केरा र भारतको केरा फरक भएको चितवन केरा उत्पादन संघका महासचिव जनकराज पन्तले बताए । नेपालमा मल, सिञ्चाइ, कामदारको ज्याला जस्ता कारणले भारतिय केरासँग प्रतिस्पर्धा गर्न नसक्ने उनकाे भनाइ छ ।

भारतीयहरु पहिले देखिनै व्यवसायिक भएको र नेपाल व्यवसायिक हुँदै गर्दा यसले असर गरेको उनले बताए । केराको उत्पादनले नेपालको अर्थतन्त्रमा पनि केही हिस्सा ओगट्न सक्ने पन्तते बताए । नेपालमा उत्पादन प्रशस्त सम्भावना भएका कारण ५ देखि १० वर्षमानै अत्मनिर्भर हुन सक्ने उनले बताए ।