ज्यो. दिवाकर पन्त
वैदिक धर्म संस्कृति सप्तरङ्गी भए पनि केही आलोचकहरूले यसलाई भाग्यवादी बढी भएको र कर्मवादी कम भएको भनि आ–आफ्नो विचार अघि सार्ने गर्छन् ।
भाग्यप्रतिको विश्वास जुन कुनै सभ्यता र संस्कृतिमा पनि अन्तर्निहित रूपमा रहेको पाइन्छ । तथापि, केही भौतिकवादीहरू सबै कर्महरू भौतिक देहको स्वरूपमा रहेको मानिसले चाहेमा गर्न सकिनेमा जोड दिन्छन् । भौतिक उन्नतिमा लागेका वैज्ञानिकहरू समेत भगवानमाथि विश्वास गर्दै आफ्नो खोज अनुसन्धानमा केन्द्रित हुने गरेको प्रशस्त उदाहरणहरू छन् ।
दुनियाँमा सभ्यताको होड तथा प्रतिस्पर्धा विगतमा पनि थियो, वर्तमानमा पनि चलिरहेको छ र भविष्यमा पनि रहने छ । संसारका तमाम सभ्यताकाको मूल मियोका रूपमा वैदिक धर्म संस्कृति रहेको छ । धन र सामरिक बलका आधारमा वैदिक धर्म संस्कृतिमाथि आक्रमण भएको पछिल्लो उदाहरण नेपाललाई धर्म निरपेक्ष देश बनाइनु एक हो।
वैदिक संस्कृतिले मानिसको भौतिक विकासदेखि मानसिक सन्तुलन तथा विकाससम्मका समग्र पाटाहरूलाई जोड दिएको छ । कर्मको माध्यमद्वारा उद्यमशील बनि अर्थको उपार्जन गरी समाजसेवा गर्दै अन्ततः मोक्षसम्मको यात्राको समग्र प्याकेज यही दर्शनभित्र रहेको छ ।
उद्यमशील जीवन पद्धति नै उत्तम पद्धतिको मान्यता
आचार्य चाणक्य हाम्रो पूर्वीय दर्शनका एक मूर्धन्य राजनीतिक–अर्थशास्त्री हुन् । उनले सयौं वर्षअघि प्रतिपादन गरेका सिद्धान्त जस्तै लाग्ने सिद्धान्त अंग्रेजी भाषामा प्रतिपादन गरी विश्वमा धेरै जना अर्थशास्त्री भएका भएका छन् । तर हामी उनै पाश्चात्य अर्थशास्त्रीका भनाइ पढेर बौद्धिकता दर्शाइ रहेका छौं ।
आचार्य कौटिल्य भन्छन्–
अर्थ एव प्रधान इति कौटिल्यः अर्थमूलौ हि धर्मकामाविति (राजर्षिवृत्तम्)
धर्म, अर्थ र काममध्ये सबै भन्दा प्रमुख अर्थ नै हो भन्ने आचार्य कौटिल्यको मत रहेको छ । अर्थमा नै धर्म र काम पनि निर्भर हुने गर्दछ ।
यसरी वैदिक सनातन संस्कृतिले परिकल्पना गरेको जीवनका मुख्य चार लक्ष्यहरू धर्म, अर्थ, काम र मोक्ष मध्ये अर्थ अर्थात उद्यमशीलता तथा आर्थिक उपार्जनलाई हाम्रा ऋषिमुनि विद्वान वैज्ञानिकहरूले मुख्य जोड दिएका छन् । आर्थिक पक्षको विकासबिना अन्य तीन पक्षको संरक्षण तथा जोड निष्फल हुने उनीहरूको निष्कर्ष विभिन्न तरिकाबाट अभिव्यक्त भएको छ । यसलाई व्यवहारमा तौलेर हे¥यो भने शतप्रतिशत सही हुन आउँछ ।
अर्का आचार्य विदुर ऋषिले त झन् उद्यमहीन मानिस यो संसारमा ज्यूँनुको अर्थ नरहने स्पष्ट बताएर उद्यमशीलताको महत्व जनजनमा बुझाउने प्रयास गरेका छन् । उनी भन्छन् –
द्वावम्भसि निवेष्टव्यौ गले बध्वा दृढां शिलाम् ।
धनवन्तमदातारं दरिद्रं चातपस्विनम् ।।
जो धनी भएर पनि दान गर्दैन वा समाज उत्थानका लागि प्रयत्न गर्दैन र जो गरिब भएर पनि कष्ट सहेर उन्नतिका लागि प्रयास गर्दैन भने त्यस्ता दुई प्रकारका मानिसहरूलाई घाँटीमा पत्थर बाँधेर तलाउमा फालिदिए पनि हुन्छ ।
यसरी आचार्य विदुरको भनाइबाट मानिसको जीवनलाई उद्यमशीलतामा केन्द्रित गर्ने र उदमशीलताबाट उत्पन्न आर्थिक उन्नतिलाई केवल आफ्नो र परिवारको सुख सुविस्तालाई मात्र प्रयोग नगरी समाजको हितलाई समेत प्रयोग गर्नुपर्ने अत्यन्त सु–स्पष्ट र बृहद् सन्देश पाउन सकिन्छ।
उनी थप भन्छन् –
द्वावेव न विराजेते विपरीतेन कर्मणा ।
गृहस्थस्च निरारम्भः कार्यवांश्चैव भिक्षुकः ।।
दुई यस्ता क्षेत्रका मानिसहरूलाई विपरीत कर्म गरेमा शोभा दिँदैन– अकर्मण्य गृहस्थ तथा प्रपञ्चमा लागेको सन्यासी अर्थात भिक्षु ।
यसरी आचार्य विदुरले गृहस्थ जीवन यानेकि पेसागत जीवनमा रहेर कर्म नगर्ने मानिसको शोभा नहुने छर्लङ्ग पारेका छन् ।
भाग्य चम्कन पनि कर्मको आवश्यकता
हाम्रो पूर्वीय दर्शनले अवश्य भाग्यको अर्थात प्रारब्धको फल मानिसको जीवनमा रहने भनेकै छ । तर यसको अर्थ वर्तमान जीवनमा कर्म नगरी केवल भाग्यको भर मात्र पर कदापि भनेको छैन् । प्राप्त भाग्यको क्रमलाई व्यावहारिकता दिनका लागि पनि लयबद्ध कर्म आवश्यक पर्ने र त्यसका लागि आर्थिक उन्नतिसहितको उद्यमशील कर्म आवश्यक हुनेमा जोड दिइएको छ ।
आचार्य चाणक्य पुनः भन्छन् –
वरं वनं व्याघ्रगजेन्द्रसेवितं द्रुमालयं पत्रफलाम्बुभोजनम् ।
तृणेषु शय्या शतजीर्णबल्कलम् न बन्धुमध्ये धनहीनजीवनम् ।।
उद्यमहीन तथा धनहीन अर्थात निर्धन भएर दाजुभाइका बीचमा रहनु भन्दा बाघ, हात्तीले भरिएको वनमा बसेर पानी र फल खानु तथा रूखका बोक्राका चिथ्रा लगाएर घाँसमा सुत्नु राम्रो हुन्छ ।
यसरी आचार्य चाणक्यले आर्थिक उन्नति प्रगतिले सामाजिक प्रतिष्ठा आर्जन हुने मात्र होइन निर्धन भएको अवस्थामा आफ्नै बन्धु वान्धवले समेत हेप्ने विषयको संवेदनशीलता झल्काएका छन् । यसबाट आफ्नो जन्मथलो तथा समाजमा रहेर उन्नति नभएको अवस्थामा उद्यमशीलतामार्फत आर्थिक उन्नतिका लागि उत्तम समाजको खोजी गर्नु पर्ने सन्देश उनले प्रवाहित गरेका छन् ।
अझ यस पक्तिबाट कर्मबिना कुनै पनि कार्य हुनै नसक्ने उल्लेख सु–स्पष्ट रूपमा गरिएको छ –
उद्यमेन हि सिध्यन्ति कार्याणि न मनोरथैः ।
न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।
दुनियाँमा कुनै पनि काम केवल सोचेर मात्र प्राप्ति हुँदैन् । यसका लागि कठिन परिश्रमबाट मात्र प्राप्त गर्न सकिन्छ, जसरी सुतेर बसेको सिंहको मुखमा हरिण आफै आहाराका लागि आउँदैन् । सिंहले सिकारका लागि मेहनत गर्ने पर्दछ ।
सही दिशातर्फको निरन्तर कर्म नै यस्तो अचुक सूत्र हो जसले मानिसलाई आर्थिक रूपमा सम्पन्न बनाउँछ । जो व्यक्ति आर्थिक रूपमा सम्पन्न हुन्छ ऊ नै सर्वत्र सम्मानित हुन्छ भन्ने मान्यतालाई हाम्रो शास्त्रहरूमा आधारस्तम्भकै रूपमा राखिएको छ ।
भाग्य र कर्मको समुचित सन्तुलनबाट मात्र जीवन सफल हुने कुरा यथार्थ हो । न त भाग्यको भरमा उन्नति हुन सक्छ न त व्यर्थको कर्मका आधारमा आर्थिक उन्नति हुन्छ । यसलाई आमनेपाली बोलीचालीको भाषामा ‘भाग्य छ भन्दैमा डोकोमा दुध दुहेर अड्दैन्’ भनिएको छ । यसलाई वैदिक शास्त्रहरूमा यसरी लिपिबद्ध गरिएको छ–
यथा ह्येकेन चक्रेण न रथस्य गतिर्भवेत् ।
एवं परुषकारेण विना दैवं न सिद्धति ।।
जसरी एक पाङ्ग्रा जोडेर रथ गुड्न सक्दैन् ठिक त्यसैगरी बिना पुरुषार्थ कुनै पनि भाग्य सिद्ध हुनै सक्दैन् ।
वर्णाश्रम व्यवस्थामा पुरुषार्थमा जोड
वैदिक सनातन संस्कृतिमा वर्णाश्रम व्यवस्था रहेको छ । यसको अभ्यासका बारेमा समयक्रममा आलोचना र विरोध पनि हुँदै आएको छ । तर शास्त्रहरूमा जुन मर्मसहित यसको स्पष्ट पारिएको छ सोही अनुसार व्यवहारमा विश्लेषण र लागु नहुँदा यसो हुन गएको हो ।
शास्त्रहरूले वर्ण व्यवस्था व्यक्ति जन्मने बित्तिकै नभइ उसको कर्मका आधारमा क्रमशः निर्धारण हुने कुरा उल्लेख गरेका छन् । यस विषयलाई यसरी सजिलै बुझ्ने गरी भनिएको छ –
जन्मना जायते शुद्र, संस्कार द्विज उच्चयेते ।
वेद पाठात भवेत विप्र, ब्रह्मा जानाति ब्राह्मण ।
जन्मदा व्यक्ति शुद्र हुन्छ, संस्कारले मानिसलाई पुनः जन्मेको जस्तो अर्थात द्विज बनाउँछ । वेद अर्थात् उपयुक्त शिक्षा आर्जन गरेपछि मानिस मानिस विद्वान अर्थात विप्र हुन्छ । यस अवस्थापछि उच्चतमस्तरको सबैको कल्याण गर्न सक्ने मर्म र तागतसहितको जीवन र जगतसमेतलाई छर्लङ्ग बुझ्न सक्ने शिक्षा पाएपछि मात्र मानिस ब्राह्मण हुन्छ।
यसरी वर्ण कुनै पनि व्यक्ति जन्मने बित्तिकै निर्धारित हुने नभइ उसको कर्मका आधारमा हुने विषयले कर्म अर्थात निरन्तरको अभ्यास अर्थात् उद्यमशीलताबाट मात्र मानव जीवन सार्थक हुने प्रष्ट्याइएको छ ।
त्यसै गरी चार आश्रम व्यवस्थामा पनि कर्मशील आश्रम नै अन्य आश्रमको आधारस्तम्भ भएको स्पष्ट पारिएको छ । चार आश्रमहरू– ब्रह्मचर्य, गृहस्थ, वानप्रथ र सन्यास आश्रम मध्ये गृहस्थ आश्रम अर्थात कर्मशील÷उद्यमशील आश्रम नै अन्य तीन आश्रमलाई धान्ने तह हो । यसरी हेर्दा वैदिक सनातन संस्कृतिले कर्मको महत्वलाई विभिन्न दृष्टिकोणबाट दर्शाएर आर्थिक उन्नतिमा जोड दिएको छ ।
वैदिक चाडपर्वहरूको सप्तरङ्गी चक्र
वैदिक सनातन संस्कृतिअन्तर्गत रहेका दशैं र तिहार सर्वाधिक लोकप्रिय र आमपर्वका रूपमा स्थापित चाड हुन् । दशैं सामरिक खालको चाड हो । यस चाडमा शक्तिको प्रदर्शन तथा देश र समाजको रक्षार्थ आवश्यक पर्ने सौर्यको अभ्यास वा प्रदर्शन हुन्छ ।
त्यसैगरी दीपावली अर्थात तिहार धन, धान्य तथा आर्थिक पक्षको प्रधानता दिने चाड हो । यस चाडमा धन धान्यकी अधिष्ठात्री लक्ष्मीमाताको पूजा आराधना गरेर गर्ने गरिन्छ ।
माथिका विभिन्न पंक्तिमा उल्लेख गरिएझैं कर्मबिना धनधान्यको उन्नति हुन नसक्ने भएकाले तिहार उद्यमशीलता पूज्ने चाड हो । त्यसैले घर, कार्यालय, व्यापारिक स्थल, उद्योग कलकारखाना, सेवा प्रदायक स्थान सबैमा सरसफाइ गरी रङ्गीन तथा उज्यालो पार्ने गरिन्छ । यसले अन्ततोगत्वा उद्यमशीलता र कर्मशीलतालाई निर्धारित तिथिमा सम्झाएर समाजलाई आर्थिक उन्नयनमा निरन्तर लाग्न अभिप्रेरित गरिरहेको छ ।
उन्नति गर्न नसक्दा विकसित गरिएको अपमानित शब्दावली
विश्व अर्थशास्त्र अध्ययन जगतमा एउटा शब्दावली प्रयोग भएको पाइन्छ, त्यो हो द हिन्दू रेट अफ ग्रोथ (The Hindu Rate of Growth) यो शब्दावली आर्थिक दृष्टिकोण भएको भनिएता पनि वैदिक सनातनीहरूलाई अपमानित गर्ने खालको भएको देखिन्छ ।
भारत स्वतन्त्र भएपछिको तीन दशकको अवधिमा भएको आर्थिक उन्नतिलाई दर्शाउन यो शब्दावली प्रयोग गरिएको थियो । सन १९५० देखि सन १९८० सम्मको दशकमा भारतको आर्थिक वृद्धिदर औसतमा ३.५ प्रतिशतको मात्र रहेको थियो । जबकि त्यस अवधिमा एसियाका अन्य देशहरूमा आर्थिक वृद्धिदर त्यसको दोब्बर रहेको थियो । यस्तो अवस्थामा भारतको दुर्दशालाई अर्थशास्त्रीहरूले उक्त शब्दावलीको प्रयोगबाट व्यक्त गरेका थिए ।
हुन त भारतको त्यस्तो आर्थिक दुर्दशाको वृद्धिदर हुनुमा हिन्दू धर्म संस्कृतिको कुनै पनि भूमिका नभएको भए पनि अपमानित गर्ने उद्देश्यसहित केही पश्चिमा अर्थशास्त्रीहरूले यस्तो बहसलाई स्थापित गरेका थिए । त्यस दशकमा संसारमा अध्ययन गरेका अर्थशास्त्रीहरूलाई यस शब्दावलीसहितको बेग्लै अध्याय अध्ययन गराउने गरिएको थियो । भारतको त्यस्तो दुर्दशा हुनुमा आफ्नो देशको अर्थ–सामाजिक अवस्था अनुरूपको अर्थनीति अपनाउनुको सट्टा बेलायतीहरूले कोरिदिएको नीतिलाई अनुकरण गर्नु मुख्य कारण रहेको थियो । तत्कालीन भारतीय राजनीतिज्ञ तथा नीति निर्माताहरूमा तीन दशकसम्म देशको आर्थिक गतिलाई तीव्रता दिने भन्दा आत्मरतिमा रमाउने र जनतामा रहेको वैदिक संस्कृतिसहितको उद्यमशीतालाई उपेक्षा गर्नु मुख्य रहेको देखिन्छ ।
हाल भने भारतले गरेको औसतमा ७ प्रतिशतको आर्थिक वृद्धिदरसँगै यो शब्दावली विश्व अर्थजगतमा विलुप्त भइसकेको छ । यसबाट नेपालले पनि आर्थिक वृद्धिमा पाश्चात्य देशले कोरिदिएको मार्गचित्र र उनीहरूले नै दिएको स्वार्थसहितको अनुदान तथा ऋणमा भर परेर हिड्ने बाटो नछोडे रगत–रगतमा उद्यमशीलता हुँदाहुँदै पनि नेपालको दुर्दशा हुने खतरा विद्यमान देखिन्छ । नेपालका राजनीतिक वृत्त तथा नीति निर्माता यस्तो संवेदनशीलताप्रति संवेदनहीन छन् । के उनीहरू हाम्रा ऋषिमुनि विद्वान वैज्ञानिकहरूका शास्त्र एक पटक पुनः पल्टाउन इच्छुक हुन्छन्?
(पन्त ज्योतिषी, पण्डित/आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् तथा हस्तरेखाविद् हुन् ।)
प्रतिक्रिया दिनुहोस्