पुँजी बजारको आकार ३९ खर्ब नाघ्यो


काठमाडौं । पुँजी बजारको आकार ३९ खर्ब १६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । २०७७ कात्तिक मसान्तसम्म २३ खर्ब २ अर्ब ७६ करोड रुपैयाँ रहेको पुँजी बजार बढेर ३९ खर्ब १६ अर्ब ४५ करोड रुपैयाँ पुगेको हो ।

कात्तिक मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२२ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १४३, बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरू रहेका छन् ।

त्यस्तै ४३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल,५ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका कम्पनी सूचीकृत रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०७७ कात्तिकमा सूचीकृत कम्पनीहरूको संख्या २१२ थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६८.५ प्रतिशत छ ।

त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १० प्रतिशत, लगानी कम्पनीको हिस्सा ७ प्रतिशत, उत्पादन तथा प्रसोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा १.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ कात्तिकसम्ममा सूचीकृत ६ अर्ब १ करोड सेयरको चुक्ता मूल्य ५ खर्ब ९१ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को चौथो महिनासम्ममा ३४ अर्ब ५३ करोड रुपैयाँ बराबरको डिबेन्चर, ८ अर्ब ९३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको साधारण सेयर, २ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड र २ अर्ब ३ करोड रुपैयाँ बराबरको बोनस सेयर गरी कुल ५५ अर्ब ४५ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ३ अर्ब रुपैया बराबरको म्युचुअल फन्ड, १ अर्ब ५८ करोड रुपैयाँ बराबरको साधारण सेयर, १ अर्ब ६० करोड रुपैयाँ बराबरको डिबेन्चर र २४ करोड ३३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल ६ अर्ब ४२ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको बैंकको तथ्यांकमा उल्लेख छ ।