पहिलाे चाैमासमा ७.५ प्रतिशतले घट्याे रेमिट्यान्स, पुनः श्रम स्वीकृति लिनेको संख्या ४९.१ प्रतिशतले बढ्याे


काठमाडौं । चालू आर्थिक वर्षको ४ महिनामा रेमिट्यान्स ७.५ प्रतिशतले कमी आएको छ ।

राष्ट्र बैंकको समीक्षा प्रतिवेदन अनुसार रेमिट्यान्स ७.५ प्रतिशतले घटेर रु.३ खर्ब १२ अर्ब ४२ करोड कायम भएको छ । मुख्य रेमिट्यान्स भित्रने समय मानिने दसैं–तिहारकै समयमा पर्याप्त रेमिट्यान्स भित्रिएन । राष्ट्र बैंकका अनुसार असोजमा ८३ अर्ब ९० करोड र कात्तिकमा ७३ अर्ब १० करोड रुपैयाँमात्रै रेमिट्यान्स भित्रियो ।

गत वर्ष कात्तिकमा ९३ अर्ब रेमिट्यान्स भित्रिएको थियो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ११.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ७.८ प्रतिशतले कमी आई २ अर्ब ६३ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा बढेर ९६ हजार ३८२ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९५.७ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४९.१ प्रतिशतले वृद्धि भई ५९,७२३ पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.९ प्रतिशतले घटेको थियो ।