व्यापार घाटा ५६.८ प्रतिशतले बढ्याे, तीन महिना यता आयात उच्च दरमा


काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को चार महिनामा कुल वस्तु आयात ६१.६ प्रतिशतले वृद्धिले बढेसँगै व्यापार घाटा बढेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो ४ महिनामा रु.६ खर्ब ५० अर्ब २९ करोडको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.६ प्रतिशतले घटेको थियो ।

आयात बढेसँगै आर्थिक वर्ष २०७८/७९ को चार महिनामा कुल वस्तु व्यापार घाटा ५६.८ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ६८ अर्ब १७ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२.५ प्रतिशतले घटेको थियो । विगत तीन महिना यता आयात निकै उच्च दरमा बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

साउनमा १ खर्ब ५० अर्बको वस्तु आयात भएकोमा भदौमा १ खर्ब ६३ अर्ब ८० करोड रुपैयाँको वस्तु आयात भयो भने असोजमा १ खर्ब ६४ अर्ब र कात्तिकमा १ खर्ब ७१ अर्ब ८० करोड रुपैयाँको वस्तु आयात भयो ।

आयातको तुलनामा निर्यातको अनुपात निकै कमजोर छ । साउनका २० अर्बको, भदौमा २३ अर्बको, असोजमा २१ र कात्तिकमा केबल १७ अर्ब रुपैयाँको मात्र वस्तु निर्यात भयो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४६.१ प्रतिशत, ५६.९ प्रतिशत र ११७.२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ ,यातायातका साधन तथा पार्टपुजा, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, चाँदी लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।

निर्यात तर्फ कन्चनपुर, कृष्णनगर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको र निर्यात तर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयात वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी रु. ७१ अर्ब ४० करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु. ४४ अर्ब २६ करोड बराबरको भएको थियो ।