हिमालयन डिष्टिलरीको सेयरमा भित्री कारोबारको आशंका


काठमाडौं । हरेक वर्ष राम्रो मुनाफा दिने हिमालयन डिष्टिलरीले यस वर्ष पनि आर्कषक लाभांश घोषणा गर्यो । कम्पनीले अघिल्ला वर्षहरुमा पनि १०० प्रतिशत भन्दा धेरै लाभांश घोषणा गर्दै आएको थियो यस वर्ष भने गत आर्थिक वर्ष भन्दा यस वर्ष २५ प्रतिशत बोनस सेयर बढाएको छ ।

हिजो बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश घोषणा गर्नुका साथै वार्षिक साधारणसभाको मिति तय गरेको थियो।

हाल ८६ करोड ७७ लाख चुक्ता पुँजी रहेको कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना सेयर धनिलाई ७५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर सहित २५ प्रतिशत नगद लाभांश दिने घोषणा गर्यो ।

अघिल्लो आर्थिक वर्षमा भने कम्पनीले ५० प्रतिशत बोनस सेयर तथा ५० प्रतिशत नगद लाभांश गरेर कुल १०० प्रतिशत लाभांश वितरण गरेको थियो ।

कम्पनीले हरेक वर्ष आफ्ना सेयर धनीलाई आर्कषक लाभांश दिने भएकाले धेरै लगानीकर्ताको ध्यान तानिनु स्वभाविक नै हो तर यहाँ लाभांश घोषणा गर्नु अगावै सूचना चुहिनु आपत्तिजनक विषय भएको केही सेयर विज्ञको भनाई छ ।

अघिपछि सामान्य कारोबार भइरहेको हिमालयन डिष्टिलरीको सेयर मूल्यमा २ दिन अघि सोमबार भने एकाएक उछाल आयो ।

कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो भने हिजो सोमबार लाभांश घोषणा भएको दिन ३ प्रतिशतले बढ्यो भने आज यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य ९.१४ प्रतिशतले बढेको छ ।

यसरी लाभांश घोषणाको केही दुई दिन अगाडी कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्नु भनेको सूचना चुहिनु हो एक सेयरबजार विष्लेशकले बताए ।

उनका अनुसार समग्र बजार १७ अंकले घट्दा कम्पनीको मूल्यमा सर्किट ब्रेक लाग्नु र कारोबारमा पनि अग्रस्थानमा हुनु भनेको पक्कै पनि इन्साइडर ट्रेडिङ भएको हुनुपर्दछ ।

सामान्यरुपमा हेर्दा सोमबार सेयर किनेकाहरु भन्दा कम्पनीको लाभांश देखेर आजसेयर किन्ने लगानीकर्ता सिधै फस्ने सम्भावना देखिन्छ ।

कम्पनीको सेयर मूल्य बढ्नुपर्ने अन्य कुनैपनि आधारहरु छैनन् जसले गर्दा आज सेयर किन्ने लगानीकर्ता जोखिमा रहेको देखिन्छ ।

कम्पनीले आर्कषक लाभांश घोषणा गरेपछि अहिलेको मूल्यमा सेयर किनेका लगानीकर्ता मूल्य समायोजन पछि मर्कामा पर्नेछन् ।

बोनस बाँडेपछि कम्पनीको सेयर मूल्य समायोजन हुन्छ । बोनस कम्पनीको सेयर पुँजीमा बृद्धि हुन्छ र जारी सेयरको अंकमा पनि बृद्धि हुन्छ ।

यसकारण सेयरको बजार मूल्यांकनलाई उही राख्न बोनस गरेपछि कम्पनी को सेयरको बजार मूल्य समायोजन गरिन्छ ।

हिमालयन डिस्टिलरीको सेयर कारोबारमा इन्साइडर ट्रेडिङ भएको उजुरी आएमा नेप्सेले अनुसन्धान गर्ने र कारोबार अस्वाभाविक लागेमा नेप्सेको सुपरिवेक्षण विभागले आफैँ पनि अनुसन्धान गर्न सक्ने नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले बताए ।

“यदी अनुसन्धानमा इन्साइडर ट्रेडिङ भएको ठहर भएमा नेप्सेले नेपाल धितोपत्र बोर्डलाई कारबाहिको सिफारिस गर्न सक्छ” पराजुलीले भने ।
कुनै पनि व्यक्ति संस्थाले कुनै पनि कम्पनीको सेयर कारोबारमा भित्रि कारोबार गरेको ठहर भएमा धितोपत्र सम्बन्धी ऐन २०६३ को परिच्छेद ९ को उपदफा १०१ (१) मा भित्री कारोबार गरेको ठहरेमा विगो बमोजिम जरिबाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ व्यवस्था छ।

त्यस्तै, उपदफा १०१ ९२० मा भित्री सूचना सार्वजनिक गरी झुठो कारोबार गरेमा, मूल्यमा उतार चढाव भएमा, धितोपत्र बजारलाई प्रभावित पारेमा ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने र १ वर्ष कैद वा दुवै कारबाही हुने व्यवस्था ऐनमा उल्लेख छ ।