साताको कारोबारको अन्तिम दिन ४३ अंकले बढ्यो नेप्से परिसूचक


काठमाडौं । साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेको छ । गत साता मंगलबार देखि लगातार बढ्दै आएको सेयर बजार हिजो भने केही करेक्सन आएको थियो । हिजोको करेक्सन बढ्दो बजारमा नाफा बुक गर्दा आएको र अब सेयर बजारले सकरात्मक लय समातेको लगानीकता बताउँछन् ।

एक पछि अर्को गर्दै सकरात्मक समाचार आउनुले पनि मनोबल बलियो बनेको लगानीकर्ताको बुझाई छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ४३.२९ अंकले बढेर २६९२.४७ अंकमा पुगेको छ भने राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ९.१६ अंकले बढेर ५०६.१६ अंकमा पुगेको छ ।

बिहीबार नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज व्यापार र उत्पादन तथा प्रशोधन उपसमूह बाहेक बाँकी ११ वटा उपसमूहको सेयर बढेको छ ।

आज नेप्सेमा कारोबार रकमका आधारमा अपि पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको १६ करोड ३७ लाख ६ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

त्यस्तै आज तेह्रथुम पावर कम्पनी लिमिटेड, नेपाल फाइनान्स कम्पनी लिमिटेड र मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यस दिन नेपाल बङ्गलादेश बैंकको डिबेञ्चर २०८५ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त ऋृणपत्रको मूल्य ३.५३ प्रतिशतले घटेको छ ।

कूल २३८ वटा कम्पनीको ७३ लाख ३६ हजार ३ सय ३४ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३ सय ४९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।