सेयर बजारमा उछाल : नेप्से ७३ अंकले बढ्दा कारोबार रकम ७ अर्ब माथि


काठमाडौं । साताको कारोबारको पहिलो दिने नेप्सेमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक ७३ अंकले बढ्दा कारोबार रकममा पनि उछाल आएको छ ।

करिब ३ महिनादेखि लगातार ओरालो लागेको बजार कतै वियरिस ट्रेण्डमा त गएको हैन भन्ने हल्ला चलिरहेको बेला गत सातादेखि बजार फर्किएको हो । बजार पुन लयमा फर्किएसँगै मनोबल उच्च बनेको एक लगानीकर्ताले बताए ।

आइतबार नेप्से परिसूचक ७३.०१ अंकले बढेर २७६५.४७ अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि १३.२१ अंकले बढेर ५१९.३७ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहमा हरियाली छाएको छ ।

आज कारोबार रकमका आधारमा अपि पावर कम्पनी लिमिटेडको नै सर्वाधिक कारोबार भएको छ । कम्पनीको २९ करोड २२ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आइतबार नेप्सेमा नेपाल हाइड्रो डेभलपर्स कम्पनी लिमिटेड र हिमालयन उर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

यस्तै युनियन हाइड्रोपावरको सेयरमूल्य पनि ९.९८ प्रतिशत र मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

आज नेप्सेमा १०% नेपाल एसबिआई बैंक डिबेञ्चर २०८६ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त ऋृणपत्रको मूल्य १.४२ प्रतिशतले घटेको छ ।

कूल २३९ वटा कम्पनीको एक करोड ५० लाख ५८ हजार ६ सय २१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५ सय ९१ रूपैयाँ ११ पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।