आइपीओ जारी गर्दै अभियान लघुवित्त, बिक्री प्रबन्धककाे जिम्मा मुक्तिनाथ क्यापिटललाई


काठमाडौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ ।

संस्थाले सर्वसाधारणको लागि रू. १०० अंकित मूल्य दरको  रू.९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्ने भएको हो ।

संस्थाले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । दुइ संस्थाबीच बिहीबार एक कार्यक्रम आयोजना गरि सम्झौता पत्रमा हस्ताक्षर गरिएकाे हाे ।

लघुवित्तकाे तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत राेशन कुमार अधिकारी र मुक्तिनाथ क्यापिटलकाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जाेशीले सम्झाैतापत्रमा हस्ताक्षर गरेका छन् ।

गत कात्तिकमा सम्पन्न संस्थाको दोश्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियाे ।

सम्झाैतापछि सामूहिक तस्बिर खिचाइँदै । तस्बिरः अनिल सापकाेटा/टक्सार

हाल कम्पनीकाे चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ भने सर्वसाधारणलाई आईपीओ जारी गरेपश्चात् चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्नेछ ।

काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले देशभर ६० वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ । चालु आर्थिक वर्ष २०७८/७९ भित्र थप ६ वटा शाखा कार्यालय सञ्चानलमा ल्याउँने संस्थाको तयारी छ ।