कृषि क्षेत्र विकास कार्यक्रम र केन्द्रीय कृषि सहकारीबीच सम्झौता, कर्णालीमा वित्तीय साक्षरता बढाइने


काठमाडौं । कर्णाली प्रदेशका एक सय वटा सहकारी संस्थाहरुको क्षमता विकास लागि कृषि क्षेत्र विकास कार्यक्रम र नेपाल कृषि सहकारी केन्द्रीय संघबीच सझौता भएको छ। कर्णालीका आठ जिल्ला (सल्यान, जाजरकोट, जुम्ला, दैलेख, कालिकोट, पश्चिम रुकुम, सुर्खेत र मुगु) मा लागू गरिने कार्यक्रमकाे शुक्रबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा सम्झाैता सम्पन्न भएकाे हाे ।

मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेकाे कृषि क्षेत्र विकास कार्यक्रम मार्फत् संघले कर्णाली प्रदेशका १० जिल्लामा सहकारीको क्षमता विकास गर्दै वित्तीय संस्थागत आवद्ध गराउने लगायतका कार्यक्रम गर्ने भएकाे छ । तीन वर्षसम्म सञ्चालन हुने कार्यक्रम मार्फत् संघले कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा वसोवास गरिरहेका गरिबी तथा पोषण असुरक्षा न्यूनिकरण गरि नेपालको दिगो विकास लक्ष्य हासिल गर्न सहयोग गर्ने बताइएकाे छ ।

संघले संस्थाको संस्थागत क्षमता विकास, सदस्यहरुको सचेतना वृद्धि, वित्तीय साक्षरता लगायतका क्षेत्रमा सहयोग गरि सक्षम संस्था निर्माण गर्ने तथा साना किसान विकास लघुवित्त वित्तीय संस्थाले वित्तीय सहायता गर्ने जनाइएको छ ।

संस्था र सदस्यहरु सक्षम बनिसकेपछि व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने कर्जा प्रवाहको काम साना किसान लघुवित्तले गर्नेछ । सम्झौतामा संघकाे तर्फबाट महाप्रबन्धक रुद्र भट्टराई र परियोजनाको तर्फबाट परियाेजना प्रमुख भोजराज सापकोटाले हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यक्रममा कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा, सह–सचिवहरु, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. तथा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम बहादुर पाठक, महाप्रवन्धक रुद्र भट्टराई, नायव महाप्रवन्धक मीना पोख्रेल, साना किसान लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइराला लगायतकाे उपस्थिति रहेकाे थियाे।

कार्यक्रममा बाेल्दै सचिव शर्माले कर्णाली प्रदेशमा वित्तीय पहुँचको सिमितता रहेका कारण सहकारी मार्फत सञ्चालन हुने कार्यक्रमको प्रभावकारिता रहने बताए । उनले सहकारी मार्फत् सदस्यहरुको आयमूलक गतिविधिमा संलग्नता बढाउँदै त्यस क्षेत्रको आर्थिक, सामाजिक, सचेतनाको स्तर वृद्धिका लागि यस कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष पाठकले सहकारीले चेतना, सिप, पूँजी र प्रविधि हस्तान्तरणको काममा उल्लेख्य भूमिका खेलेको स्मरण गर्दै यस कार्यक्रमलाई पनि कर्णाली प्रदेशमा सफल बनाउने प्रतिवद्धता व्यक्त गरे ।

संघका महाप्रबन्धक रुद्र भट्टराईले नेपालको ग्रामिण क्षेत्रका किसानहरुलाई जोड्दै अगाडि बढेको केन्द्रीय संघले सरकारसंग सहकार्य गर्न पाउनु सुखद् पक्ष रहेको बताए । उनले अहिले पनि संघले पछि परेका दलित, महिला, मुसहर, राउटे, बनकरीया लगायतलाई सहकारीमा संलग्न गराई जीवन रुपान्तरणमा काम गरेको स्मरण गराउँदै कर्णाली प्रदेशमा पनि यस अभियानलाई सफल बनाउने प्रतिवद्धता व्यक्त गरे ।

एसएसडीपी कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशका उच्च पहाडी क्षेत्रमा वित्तीय पहुँच, प्रविधि, ज्ञान, सिप र सचेतनाको विकास गरी त्यस क्षेत्रमा उत्पादन हुने कृषि तथा पशुजन्य सामग्रीको बाजारीकरण मार्फत् आर्थिक रुपान्तरणका लागि सहयोग गर्ने कार्यक्रम सञ्चालन हुने विश्वास लिइएकाे छ । कार्यक्रममार्फत् प्रत्यक्ष, अप्रत्यक्ष रुपमा ७५ हजार घरधुरी लाभाविन्त हुने बताइएको छ।