विपन्न वर्गमा गएको कर्जाको अध्ययन गर्न सुझाव


काठमाडौं । विपन्न वर्गमा गएको कर्जाको सहिरुपमा सदुपयोग गराइ विपन्न वर्गको जीवनस्तर उकास्न अध्ययन हुनुपर्ने बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफन)ले उल्लेख गरेको छ ।

सिविफिनले तरलता अभावका कारणहरु र समाधानका लागि सुझाव सहितको अध्ययन प्रतिवेदनमा लघुवित्तले विपन्न वर्गमा गएको कर्जाको अध्ययन गर्न सुझाव दिएको हो ।

लघुवित्तले विपन्न वर्गमा बैंकिङ पहुँच पुर्याएर आत्मनिर्भर बनाएर जीवनस्तर माथि उठाउन महत्वपूर्ण भुमिका खेल्ने भएकोले कर्जाको सहि सदुपयोग गराउन सिविफिनले सुझाव दिएको हो ।

प्रतिवेदनका अनुसार २०७८ कार्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार लघुवित्तले अन्य क्षेत्रबाट २१९ अर्ब रुपैँया सापटी लिएको छ । यसमध्ये अधिकांश रकम बैंक तथा वित्तीय संस्थाबाट लिएको जनाएको छ ।

“कुनै एक वित्तीय संस्थाबाट लिएको कर्जा चुक्ता गर्नका लागि अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने परिपाटी लघुवित्तमा बसेको र त्यस्तै प्रवृति ग्राहकहरुमा पनि बढ्दै गएको सुनिन्छ ।” प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार २५ अर्व रुपैंयाँ चुक्ता पुंजी भएका लघुवित्तहरुको शेयर तथा अन्य लगानी शिर्षकमा करिव १३ अर्व रुपैंयाँ (करिव ५२ प्रतिशत) लगानी गरेको देखिएको जनाइएको छ ।