विदेशी विनिमय सञ्चिती १६ प्रतिशत भन्दा बढिले घट्यो


काठमाडौं । कुल विदेशी विनिमय सञ्चिति चालु अर्थिक वर्षको पुष मसान्तसम्म १६.७ प्रतिशतले कमी आएको छ । असार मसान्तमा १३९९ अर्ब ३ करोड रुपैँया बराबर सञ्चिती रहेकोमा पुष मसान्तसम्म ११६५ अर्ब ८० करोड रुपैँया रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

असार मसान्तमा ११ अर्ब ७५ करोड रुपैँया अमेरिकी डलर सञ्चिती रहेकोमा पुष मसान्तमा १५.९ प्रतिशतले कमी आएर ९ अर्ब ८९ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुल विदेशी सञ्चिती मध्ये राष्ट्र बैंकमा भएको असार मसान्तमा १२४४ अर्ब ६३ करोड रुपैँया रहेकोमा पुष मसान्तसम्म १८.४ प्रतिशतले कमी आई १०१५ अर्ब ५९ अर्ब करोड रहेको छ ।

नेपाल राष्ट्र बैंक बाहेक बैंक तथा वित्तिय संस्थासँग २०७८ असार मसान्तमा १५४ अर्ब ३९ करोड रुपैँया रहेको थियो । पुष मसान्तमा २.७ प्रतिशतले कमी आएर १५० अर्ब २१ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थि वर्षको पुष मसान्तसम्म कुल विदेशी विनिमय सञ्चितीको २४.५ प्रतिशत भारतीय मुद्रा रहेको  छ ।

चालु आर्थिक वर्षको ६ महिनाको आयातलाई आधार मानेर विदेशी विनिमय सञ्चिती ७.२ महिना वस्तु आयात र ६.६ महिना वस्तु तथा सेवा आयात धान्न पर्याप्त भएको राष्ट्र बैंकले जनाएको छ ।