व्यापार घाटा ४६ प्रतिशतभन्दा बढि


काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा निर्यात कुल वस्तु निर्यात ९५.५ प्रतिशतले वृद्धि भई ११८ अर्ब ८५ करोड रुपैँया पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा निर्यात ६.१ प्रतिशतले वृद्धि भएको थियो ।

भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात १२१.८ प्रतिशत र ३०.२ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १०.२ प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकका अनुसार पाम तेल, सोयाविन तेल, पिना, जुस, ऊनी गलंैचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जडीबुटी, जस्तापाता, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा कुल वस्तु आयात ५१.१ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ९९९ अर्ब ३४ करोड रुपैँयाको कुल वस्तु आयात भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.८ प्रतिशतले घटेको थियो । भारतबाट ३७.५ प्रतिशत, चीनबाट ५१.५ प्रतिशत र अन्य मुलुकबाट ९८.२ प्रतिशतले आयात वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशक लगायतका वस्तुको आयात घटेको छ ।

राष्ट्र बैंकका अनुासर चालु आर्थिक वर्षको ६ महिनामा कुल वस्तु व्यापार घाटा ४६.६ प्रतिशतले वृद्धि भएको छ । व्यापार घाटा ८८० अर्ब ४९ करोड रुपैँया पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ५.८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा निर्यात– आयात अनुपात ११.९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा योे अनुपात ९.२ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुासर समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ११० अर्ब ९१ करोड रुपैँया रुपैँया बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु. ८३ अर्ब १ करोड बराबरको भएको थियो ।