धितोपत्र बोर्डका अध्यक्ष हमालको पदबहाली


काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले आज पदभार ग्रहण गरेका छन् । बोर्डको कार्यालय ललितपुरमा उनलाई आज पदभार ग्रहण गराएको हो।

तत्कालीन बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानाले पदीय मर्यादा विपरीत एक सिमेन्ट कम्पनीसँगको सेयर खरिद प्रकरणमा जोडिएको भन्दै सरकारले हटाएको थियो ।

करिब छ महिनापछि गत बिहीबार सरकारले कैलालीका हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष हमालले साना लगानीकर्ताको हितमा प्रतिबद्ध भएर लाग्ने दृढता व्यक्त गरे। उनले नेपालको शेयर बजार र त्यसको नियामकका रुपमा रहेको बोर्डलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, साना लगानीकर्ताको हित तथा कारोबारमा विविधीकरण गर्न आफू लागिपर्ने बताउँदै आएका छन्।

शुक्रबार अध्यक्ष हमालले अर्थमन्त्री जनार्दन शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल संयोजकत्वको समितिले बोर्ड अध्यक्ष चयन गरेको थियो । नवनियुक्त अध्यक्ष हमालले लगानीकर्ताको मनोविज्ञानलाई पनि सम्बोधन गर्दै आफूले काम गर्ने विश्वास व्यक्त गरे ।