जनसंख्या भन्दा बैंक खाता बढी, बैंक खाता खोल्ने महिलाको सङ्ख्या बढ्यो


काठमाडौं । नेपालका ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म ७५० स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ भने ३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार हुन बाँकी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तसम्म ७४९ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएको थियो । त्यसको एक वर्षमा १ स्थानीय तहमा मात्र वाणिज्य बैंकको शाखा विस्तार भएको हो । वाणिज्य बैंकको पहुँच पुग्न अझै ३ स्थानीय तहमा बाँकी रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

तीन स्थानीय तहमा बैंकिङ पहुँच पुग्न बाँकी भए पनि नेपालको कुल जनसंङ्ख्या भन्दा बढिले बैंकमा बचत खाता खोलेका छन् । राष्ट्र बैंकको विवरणअनुसार नेपालमा बचत खाता हुनेको सङ्ख्या भने जनसङ्ख्या भन्दा बढी देखिएको छ ।

केन्द्रिय तथ्याङ्क विभागका अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको छ । राष्ट्र बैंकले भने यसअघिको प्रक्षेपणका आधारमा नेपालको कुल जनसङ्ख्या ३ करोड ३ लाख ५५ हजार ८६२ रहेको भन्दै चालु आर्थिक वर्षको पुससम्म बैंकमा बचत खाता खोल्नेको सङ्ख्या ३ करोड ५५ लाख ३३ हजार २८४ जना पुगेको जनाएको छ ।

जनसंख्याका आधारमा पहुँच (प्यानिट्रेसन)का आधारमा बैंक खाता खोल्नेको ११७ प्रतिशत पुगेको देखिएको छ । एकै व्यक्तिका दुई वा सोभन्दा अधिक बैंकमा खाता हुँदा जनसंख्याभन्दा खाता बढी भएको हो ।

गत वर्षको सोही अवधिमा कुल जनसङ्ख्याको ९९ प्रतिशतको बैंक खाता रहेको थियो । गत वर्षको सोही अवधिमा २ करोड ९५ लाख ३९ हजार २ जनाको बैंक खाता रहेको राष्ट्र बैंकले जनाएको छ । पछिल्लो १ वर्षमा बैंक खाता खोल्नेको सङ्ख्या ह्वात्ते बढेको हो । पछिल्लो १ वर्षमा बैंकमा खाता खोल्नेको सङ्ख्या २०.२९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

स्थानीय निकायमा बैंकको पहुँचविहीन जनसङ्ख्या २० हजार ९८ रहेका छन् । कुल २ करोड ७१ लाख ८० हजार २६३ जनसङ्ख्या मध्ये २ करोड ७१ लाख ५९ हजार २८० मा बैंकिङ पहुँच पुगेको राष्ट्र बैंकको ‘वित्तीय पहुँच पोर्टल’को विवरणले देखाएको छ ।

बाग्मती प्रदेशमा सबैभन्दा बढि र मधेश प्रदेशमा कम खाता

जनसङ्ख्या अनुसार सबैभन्दा धेरै बैंक खाता बाग्मती प्रदेशमा खोलिएको छ भने सबैभन्दा कम मधेश प्रदेशमा खोलिएको छ । बाग्मती प्रदेशमा बैंक खाता खोल्नेको प्रतिशत २०१ रहेको छ भने मधेश प्रदेशमा ६८ प्रतिशत जनसङ्ख्याले मात्र बैंक खाता खोलेका छन् ।

गण्डकी प्रदेशमा कुल जनसङ्ख्याको १५९ प्रतिशत बैंक खाता रहेको छ भने लुम्बिनी प्रदेशमा १०८ प्रतिशत बैंक खाता रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै प्रदेश १ को कुल जनसङ्ख्याको ९६ प्रतिशत बैंक खाता रहेको छ।  सुदुरपश्चिममा ८० प्रतिशतको बैंक खाता रहेको छ भने कर्णालीमा ६९ प्रतिशतको बैंक खाता रहेको छ ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार सुगम मानिने मधेस प्रदेशमा जनसङ्ख्याको आधारमा सबै भन्दा कम बैंक खाता खोलिएका र पिछडिएको क्षेत्र मानिने कर्णालीमा ६९ प्रतिशतले बैंक खाता खोलेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक खाता खोल्ने महिलाको सङ्ख्या बढ्यो

बैंक खाता खोल्ने महिलाको सङ्ख्या भने बढेको छ । गत आर्थिक वर्षको सोही ३० प्रतिशत महिलाको मात्र बैंक खाता रहेकोमा यो वर्ष ८ प्रतिशतले बढेर ३८ प्रतिशत पुगेको छ । तर पुरुषको भने गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पुससम्म १ प्रतिशतले मात्र बढेको हो ।

गत आर्थिक वर्षमा ४८ प्रतिशत पुरुषको बैंक खाता रहेकोमा चालु आर्थिक वर्षको पुुस मसान्तसम्ममा १ प्रतिशतले मात्र बढेको राष्ट्र बैंकले जनाएको छ ।