पर्ख र हेरकाे स्थितिमा पर्यटन


नेपालमा ‘मास पर्यटन’भन्दा पनि पदयात्रा, हिमाल आरोहणमा पर्यटक आगमन बढाउन सकिने अपेक्षा गरिए पनि सन् २०२१ मा हवाई मार्ग हुँदै नेपाल भित्रिने विदेशी पर्यटकको संख्या घटेको छ। 


कोभिड महामारीले विश्वको समग्र अर्थतन्त्रमा प्रभाव पारे पनि महामारीका कारण पर्यटन उद्योग सबैभन्दा धेरै प्रभावित क्षेत्र बन्न पुग्यो । वायुसेवा, होटल क्षेत्र, यातायात र रेष्टुराँजस्ता पर्यटनसँग जोडिएका क्षेत्रहरू शिथिल भए । फलस्वरुप यो क्षेत्रले ठूलो आर्थिक क्षति बेहोर्नु पर्‍यो । रोजगारीका क्षेत्रहरू तहसनहस भए । नेपाल जस्तो मुलुकमा पनि पर्यटन क्षेत्रसँग जोडिएको करिब ४ लाख प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाखौंको रोजगारी प्रभावित भयो ।

पछिल्लो समय विश्वका विभिन्न देशमा फैलिएको ओमिक्रोन भेरियन्टको संक्रमण छिमेकी देश भारतमा पनि तीव्र गतिमा फैलिएको र भारतका कतिपय सहरमा लकडाउन समेत भइरहेको परिपे्रक्ष्यमा यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ । विश्वव्यापी रूपमा फैलिन लागेको यो भेरियन्टको कारणले अन्तर्राष्ट्रिय पर्यटनमा यसको सिधै प्रभाव पर्नेछ । 

क्षेत्रीय पर्यटन बजारका रूपमा रहेको भारतमा बढेको संक्रमण र नेपाल भारत खुला सीमाका कारण नेपालमा यसको संक्रमण बढ्न थालिसकेको छ । अन्तर्राष्ट्रिय पर्यटन चलायमान हुन नसके पनि बीचका केही गतिविधिले आन्तरिक पर्यटन चलायमान हुने अपेक्षा गरिएको थियो । तर, पछिल्लो संक्रमण विस्तारले आन्तरिक पर्यटनलाई समेत प्रभाव पार्न थालिसकेको छ, जसले गर्दा नेपालको पर्यटन क्षेत्र पुनः पर्ख र हेरको स्थितिमा पुगेको छ ।

कोरोना महामारीका कारण देशको दोस्रो सबभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्र लगभग धराशायी भएको छ । सन् २०१९ मा करिब १२ लाख पर्यटक भित्र्याएको नेपालले २०२० लाई पर्यटन वर्षको रूपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको नेपालले वर्षको सुरुदेखि नै कोरोना संक्रमणका कारण क्षति बेहोर्नुपरेको थियो ।

छिमेकी मुलुकमा संक्रमण बढ्दो गतिमा देखिएको र नेपालमा समेत यसको संक्रमण दर बढ्न थाले पनि सरकारले समेत संक्रमण कम गर्न सचेत रहन अपिल गरिसकेको छ । पुस २३ गते शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना संक्रमण बढन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुले पनि हामी जोखिमको सन्निकट छौं भन्न सकिन्छ । 

सीसीएमसी निर्देशक समितिको बैठकमा प्रधानमन्त्री देउवाले ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन र संक्रमितहरूको परीक्षण तथा उपचारमा विशेष ध्यान दिन निर्देशन दिँदै सीमा नाकाहरूलाई चुस्तदुरुस्त बनाउन तथा कोभिड–१९ विरुद्ध खोप लगाउने कामलाई अझ तीव्रता दिन प्रधानमन्त्रीले निर्देशन दिए । 

नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट बढ्दै गइरहेका कारण सरकारले अक्सिजन सहितका अत्यावश्यक स्वास्थ्य सामग्री जोहो गर्दै अस्पताललाई तयार रहन निर्देशन दिएको छ । पुस २४ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोना संक्रमणदर ७ प्रतिशत पुगेको छ । एक हप्ता अघिसम्म दैनिक संक्रमणदर ३ प्रतिशत रहेको थियो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन भेरियन्टले गर्दा हुन सक्ने अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य सामाग्रीहरूको यथेस्ट जोहो गर्न, स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । योसँगै काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू सम्भावित जोखिम न्यूनीकरणका लागि आउने दिनमा चालिने कदमका बारेमा निरन्तर छलफलमा जुटेका छन् । ओमिक्रोन भेरियन्टले पुनः हाम्रो जनजीवनलाई प्रभाव पार्ने छ भने अर्थतन्त्रलाई संकटतर्फ धकल्ने छ । अन्ततः यसको पहिलो प्रभाव पर्यटन क्षेत्रमा पर्ने निश्चित छ । 

पर्यटक निरन्तर घट्दै

सन् २०२१ को उत्तरार्धमा कोभिडको प्रभाव कम हुँदै गर्दा नेपालको पर्यटन बिस्तारै चलायमान हुने अपेक्षा गरिएको थियो । तर, कतिपय अन्तर्राष्ट्रिय सन्दर्भ र कतिपय नेपाल आफैले समयमा सही निर्णय गर्न र नेपालका बारेमा अन्तर्राष्ट्रिय बजारमा सही सूचना पुर्‍याउन नसक्दा यो बीचमा अपेक्षा गरिएको अनुरूप पर्यटक भित्र्याउन सकिएन ।

कुनै पनि पर्यटक घुम्न जानुपूर्व उसले कम्तीमा केही महिना अघिको योजना बनाउँछ, सोही अनुरूप तयारी गर्छ । तर हामीले छिनछिनमा परिर्वतन गर्ने मापदण्ड र त्यसको सूचना विदेशस्थित आफ्ना नियोग वा सम्बन्धित क्षेत्रमा सही समयमा सम्प्रेषण गर्न नसक्दा नेपाल आउन चाहने पर्यटकसमेत आउन नपाएको गुनासो पर्यटन व्यवसायीहरूको छ । 

सरकारको सूचना सम्प्रेषणमा देखिएको यही कमीकमजोरीले गर्दा कतिपय विदेशी पर्यटक त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि पुनः आफ्नै देश फर्काइएका छन् । यसले हाम्रो निर्णय प्रक्रिया र यसले पार्ने प्रभावका बारेमा निर्णय गर्ने तहमा बसेका अधिकारी थप गम्भीर हुनुपर्छ भन्ने देखाउँछ । 

नेपालमा ‘मास पर्यटन’भन्दा पनि पदयात्रा, हिमाल आरोहणमा पर्यटक आगमन बढाउन सकिने अपेक्षा गरिए पनि सन् २०२१ मा हवाई मार्ग हुँदै नेपाल भित्रिने विदेशी पर्यटकको संख्या घट्न पुग्यो । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० को तुलनामा सन २०२१ मा त्यस्ता पर्यटकको संख्या करिब ८० हजारले घटेको छ । अर्थात्, सन २०२० को तुलनामा सन २०२१ मा हवाई मार्गबाट भित्रिने विदेशी पर्यटकको करिब ३४ प्रतिशतले घटेको देखिन्छ । 

भारतबाट सन २०२१ मा ६४ हजार ६७३ जना पर्यटक नेपाल आए । यो संख्या सन् २०२१ मा कुनै एउटा देशबाट आएका पर्यटकमध्ये सबैभन्दा धेरै पनि हो । नेपालमा सबैभन्दा बढी पर्यटक आगमन हुने देशहरूमा भारत र चीन प्रमुख हुन् ।

बोर्डका अनुसार सन् ०२१ मा हवाई मार्ग भएर कम्तीमा ४० वटा मुलुकका १ लाख ५० हजार ९ सय ६२ जना पर्यटक नेपाल आएका छन् । सन २०२० मा दुई लाख ३० हजार ८५ जना विदेशी पर्यटक नेपाल आएका थिए । सार्क मुलुकबाहेक अन्य एसियाली देशबाट आउने पर्यटकको संख्यामा व्यापक गिरावट भएपछि समग्र पर्यटकको संख्या घटेको हो । ती देशबाट सन २०२० मा ८० हजार ५८४ पर्यटक भित्रिएकामा सन् २०२१ मा नौ हजार ८२४ जना मात्र भित्रिएका छन । 

यो गिरावट करिब ८८ प्रतिशत हुन आउँछ । चीन, जापान, मलेसिया, सिंगापुर, दक्षिण कोरिया, ताइपेइ, म्यानमार र थाइल्यान्डसहितका एसियाली देशहरूबाट पर्यटकको आगमन बढ्ने अपेक्षा थियो । तर सन् २०२१ मा चीन, थाइल्यान्ड र म्यानमारबाट भित्रिने पर्यटक सबैभन्दा धेरै घटेको देखिन्छ । म्यानमारबाट ३४४, थाइल्यान्डबाट ५७६ र चीनबाट ६ हजार १९६ पर्यटक नेपाल आएका छन् । सन् २०२० मा यी देशबाट क्रमशः २० हजार ९११, २० हजार ७७८ र १९ हजार २५७ पर्यटक नेपाल भ्रमणमा आएका थिए । 

यस्तै युरोपबाट भित्रिने पर्यटकको संख्या पनि घटेको छ । तथ्यांकमा समेटिएका १६ वटा युरोपेली देशबाट सन २०२० मा ३७ हजार २१० जना भित्रिएका थिए । सन् २०२१ मा भने यी देशबाट २५ हजार ३०५ जना भित्रिएका छन् । समीक्षा अवधिमा सबैभन्दा धेरै बेलायतबाट आउने पर्यटकको संख्या घटेको छ । बेलायतबाट सन २०२० मा ११ हजार ७६२ जना विदेशी भित्रिएकामा सन २०२१ मा आठ हजार ६८० जना भित्रिएका छन् । 

यस्तै ओसियना क्षेत्रअन्तर्गतका अस्ट्रेलिया र न्यूजिल्यान्डबाट भित्रिने पर्यटकको संख्या पनि व्यापक घटेको छ । सन २०२० मा यी देशबाट सात हजार ५०० पर्यटक भित्रिएकामा सन २०२१ मा दुई हजार ५७१ जना भित्रिएका छन । यसमध्ये अस्टे«लियाबाट ६ हजार ७९३ पर्यटक भित्रिएकामा सन् २०२१ मा दुई हजार ४७५ जना पर्यटक मात्र भित्रिएका छन् ।

सार्क मुलुकबाट भने वृद्धि

सार्क क्षेत्रबाट भित्रिने पर्यटकको संख्यामा भने वृद्धि देखिएको छ । सन २०२० मा यस क्षेत्रबाट ६१ हजार ७७९ पर्यटक आएकामा सन् २०२१ मा ७१ हजार ६१० जना भित्रिएका छन् । सार्क मुलुकमध्ये सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट सन २०२१ मा ६४ हजार ६७३ जना पर्यटक नेपाल आए । यो संख्या सन २०२१ मा कुनै एउटा देशबाट आएका पर्यटकमध्ये सबैभन्दा धेरै पनि हो । नेपालमा सबैभन्दा बढी पर्यटक आगमन हुने देशहरूमा भारत र चीन प्रमुख हुन । चीन भने कोभिड– १९ को पहिलो संक्रमण पछि नै बन्द छ । 

यस्तै अमेरिकी क्षेत्रमा पर्ने संयुक्त राज्य अमेरिकाबाट भित्रिने पर्यटकको कुल संख्या बढेको पनि क्यानाडेली पर्यटकको संख्या भने घटेको छ । संयुक्त राज्य अमेरिकाबाट सन २०२० मा १७ हजार ७७६ जना पर्यटक भित्रिएकामा सन २०२१ मा २२ हजार ८५३ जना भित्रिए भने क्यानाडाबाट अघिल्ले वर्ष तीन हजार १०२ जना पर्यटक आएकामा सन् २०२१ मा दुई हजार ४३८ जना पर्यटक मात्र आएका छन् ।

सन् २०२१ मा समग्र पर्यटन आगमन संख्यात्मक रूपमा घटेको देखिए पनि सन २०२० को तुलनामा भने सुधारोन्मुख नै देखिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेको धारणा छ । सन २०२० को जनवरी, फेबु्रअरी र मार्चमा नेपाल भित्रिने पर्यटकको संख्या त्यसअघिको निरन्तरताजस्तै थियो । त्यतिबेला कोरोना सङ्क्रमणको असर पर्यटक आगमनमा परेको थिएन । अप्रिलदेखि जारी लकडाउनपछि मात्र पर्यटक आगमनको संख्या घटेको उनले बताए । 

सन् २०२२ को आगमनदेखि नै पर्यटनमा केही सुधार हुने अपेक्षाका बावजुद ओमिक्रोनले गर्दा २०२२ लाई उल्लासपूर्वक स्वागत गर्न सकिने अवस्था रहेन । देशका विभिन्न सहरहरूमा छिट्टफुट्ट आयोजना गरिएका सड्क महोत्सव तथा फुड फेस्टिबलबाहेक २०२१ मा ठूला कार्यक्रम आयोजना गर्ने महौल भने बन्न सकेन ।  

कोरोना महामारीका कारण देशको दोस्रो सबभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्र लगभग धराशायी भएको छ । सन् २०१९ मा करिब १२ लाख पर्यटक भित्र्याएको नेपालले २०२० लाई पर्यटन वर्षको रूपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको नेपालले वर्षको सुरुदेखि नै कोरोना संक्रमणका कारण क्षति बेहोर्नुपरेको थियो । 

कोरोना भाइरस नियन्त्रण गर्न नेपालको सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन गरेको र त्योभन्दा अगाडि नै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि नेपालको पर्यटन प्रायः ठप्प छ । पछिल्लो अवस्था हेर्दा कोभिडको असर कुनै न कुनै रूपमा पर्यटनमा पर्ने देखिन्छ । यो अवस्थामा कोभिड विरुद्धको खोपको विस्तार तथा यसको प्रभावकारितालाई हेर्दै सोही अनुरूपको पर्यटन रणनीति बनाउन आवश्यक देखिन्छ । 

(टक्सार म्यागजिन, माघ २०७८ मा प्रकाशित)