दोस्रो बजारमा नेष्डो समृद्ध लघुवित्त, प्रतिकित्ता ७४७ रुपैयाँ ७० पैसामा पहिलो कारोबार


काठमाडाैं। नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको छ।

कम्पनीको आइपीओ हिजो चैत्र १३ गते नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएसँगै आजदेखि कारोबारमा आएको हो।

बजार खुलेसँगै आज स्पेशल प्रि ओपन सेसनमा कम्पनीको सेयर प्रतिकित्ता ७४७ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको छ।

पहिलो कारोबारका लागि नेप्सेले नेष्डोलाई न्यूनतम २६०.८४ रुपैयाँदेखि अधिकतम ७८२.५२ रुपैयाँ तोकेको थियो।

नेप्सेले कम्पनीको उक्त आइपीओलाई (एनईएसडीओ) कारोबार संकेत प्रदान गरेको छ।

नेप्सेमा उक्त कम्पनीको कुल २५ लाख ५० हजार कित्ता आईपीओ सूचीकृत भएको छ । जसमा संस्थापक समूहको १७ लाख २१ हजार २५० कित्ता (६७.५ प्रतिशत) र सर्वसाधारणको ८ लाख २८ हजार ७५० कित्ता (३२.५ प्रतिशत) रहेका छन्।

नेष्डोले गत फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ बिक्री गरेको थियो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको थियो।