नेप्सेको गिरावट रोकिएन, घट्दै कारोबार रकम


काठमाडौं । आज बुधबार पनि सेयर बजार घटेको छ । नेप्से परिसूचकसँगसँगै कारोबार रकम पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७.२१ अंकले घटेर २१३०.७१ अंकमा झरेको छ।

सेन्सेटिभ परिसूचक पनि १.१७ अंकले घटेर ४१४.४७ अंकमा झरेको छ । स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ३ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी १० वटा उपसमूहको सेयर घटेको छ।

आज कारोबार रकमका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १२ करोड १३ लाख ७३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो।

आज मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ।

त्यस्तै आजको दिन शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ।

कूल २२७ वटा कम्पनीको ३० लाख २० हजार ६७ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ७ करोड ८४ लाख ८४ हजार एक सय ८२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।