सेयर बजारमा निरन्तर गिरावट, १८ अंकले घट्यो नेप्सेपरिसूचक


काठमाडौं । सेयरबजार साताको कारोबारको तेस्रो दिन पनि गिरावट रोकिएको छैन । बिहीबार नेप्से परिसूचक १८ अंकले घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । यसरी घट्दै गएको बजारमा लगानीकर्ताको मनोबल पनि घट्दै गएको सेयर विश्लेषकहरु बताउँछन् ।

लगानीकर्ताहरुले मौद्रिक नीतिको समिक्षासँगै आगामी आर्थिक वर्षको बजेटबाट पनि केही आशा गरेका थिए तर बजारलाई सर्पोट गर्ने केही विषय नआएपछि लगानीकर्ताको मनोबल गिरेको विज्ञहरु बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १८.२६ अंकले घटेर २११२.४७ अंकमा झरेको छ । यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ३.८१ अंकले घटेर ४१०.६६ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा माउन्टेन हाइड्रो नेपाल लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १२ करोड १२ लाख ५८ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

त्यस्तै आज नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक समूहका लगानीर्ताले सबैभन्दा धेरै गुमाएका छन् । बैंकको संस्थापक सेयरको मूल्य ९.९९ प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कूल २२७ वटा कम्पनीको ३५ लाख ६६ हजार ८ सय १९ कित्ता सेयर किनबेच हुँदा एक अर्ब १६ करोड १५ लाख १४ हजार एक सय ६९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।