धितोपत्र बोर्डको कार्यकारी निर्देशकमा अधिकारी र आचार्य सिफारिस


काठमाडौं । नेपाल धितोपत्र बोर्डको कार्यकारी निर्देशकको पदमा दुई जनाको नाम सिफारिस गरेको छ । बोर्डको पदपूर्ति समितिको विहिबार बसेको बैठकले कार्यकारी निर्देशकको पदमा बढुवाको लागि डा. नवराज अधिकारी र विनयदेव आचार्यलाई सिफारिस गरेको हो ।

पदपूर्ति समितिले कर्मचारीहरुको कार्यक्षमता मूल्यांकनका आधारमा डा. नवराज अधिकारी र विनयदेव आचार्यलाई कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) पदमा बढुवाको लागि सिफारिस गरेको हो । आचार्य हाल बोर्डको कार्यवाहक कार्यकारी निर्देशकका रुपमा कार्यरत छन् भने अधिकारी उपकार्यकारी निर्देशक हुन् ।

कर्मचारीहरुको कार्यक्षमता मूल्यांकनका आधारमा बढुवाद्वारा कार्यकारी निर्देशकको पदपूर्ति गर्ने सूचना जारी गरेको ९ महिनापछि पदपूर्तिका लागि सिफारिस गरिएको हो ।

लामो समय देखि रिक्त रहेको बोर्डको अध्यक्ष २०७८ फागुन ११ गतेमात्र नियुक्त भएको र पछि स्थानीय तहको निर्वाचनका लागि आचार संहिता लागु हुँदा बढुवा सिफारिसमा ढिलाई भएको पदपुर्ति समितिले जनाएको छ ।