नेपालमा चालु आर्थिक वर्षमा एसेम्बल गर्न ६ अटो कम्पनी दर्ता


काठमाडौं । नेपालमा सवारी साधन एसेम्बल गर्नका लागि चालु आर्थिक वर्षमा मात्र ६ नयाँ कम्पनी दर्ता भएका छन् । उद्योग विभागका अनुसार गत वर्षको साउन यता करिव आधा दर्जन यस्ता कम्पनी दर्ता भएका छन् ।

यी कम्पनीले विद्युतीय र अन्य विभिन्न सवारी साधन एसेम्बल गर्नेछन् । हाल नेपालमा यामाहा, मोटरहेड, टारो आदि ब्रान्डका मोटरसाइकल तथा सुजुकी गाडी बिक्रेता कम्पनी सम्बद्ध एसेम्बलिङ कम्पनी समेत यही आर्थिक वर्षमै दर्ता भएका छन् । जेठ महिनामै यस्ता दुई एसेम्बलिङ उद्योग दर्ता भएका छन् ।

सीजी अटोमोटिभ इन्डष्ट्रिज प्रा.लि.

बाराको परवानीपुर गाउँपालिका ४ मा स्थापित हुने सीजी अटोमोटिभका लागि १ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ लगानी हुनेछ । कम्पनीले वार्षिक १० हजार दुई पांग्रे, ३ हजार तीन पांग्रे र १० हजार चार पांग्रे सवारी साधन उत्पादन गर्नेछ । यसले ११३ जनालाई रोजगारी दिनेछ । यो कम्पनी गत २०७८ साउन १० गते दर्ता भएको थियो ।

एमएडब्ल्यु अटो प्रा.लि.

२०७८ असोज १० गते विभागमा दर्ता भएको एमएडब्ल्यु अटो प्रालि मोरङको बुढीगंगा गाउँपालिका ३ मा स्थापित हुनेछ । यसमा १ अर्ब ५१ करोड ५० लाख लगानी हुनेछ । कम्पनीले ३१ हजार मोटरसाइकल र १९ हजार स्कुटर उत्पादन गर्नेछ भने १४४ जनालाई रोजगारी प्रदान गर्नेछ ।

ई बोल्ट मोबिलिटी प्रा.लि.

२०७८ कार्तिक ३० गते दर्ता भएको ई बोल्ट मोबिलिटीको स्थापना ललितपुरको गोदावरी ९ मा हुनेछ । २४ करोड ३० लाख रुपैयाँ लगानीमा स्थापित हुने यो कम्पनीले १५ हजार इलेक्ट्रिक स्कुटर उत्पादन गर्नेछ भने यसबाट १०० जनाले रोजगारी पाउने छन् ।

ग्लोबल अटोमोबाइल्स प्रा.लि.

२०७८ माघ २४ गते दर्ता भएको ग्लोबल अटोमोबाइल्स प्रा.लि. पर्साको विन्दवासिनी गाउँपालिका १ मा स्थापना हुनेछ । ४६ करोड ४५ लाख रुपैयाँ लगानीमा स्थापित हुने यो कम्पनीले ३० हजार दुई पांग्रे र ५ हजार तीन पांग्रे सवारी साधन उत्पादन गर्नेछ । यसमा १५० जनाले रोजगारी पाउने छन् ।

दुगड अटो क्लिनिक प्रा.लि.

मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रमा स्थापना हुने गरी दुगड अटो क्लिनिकको दर्ता गत जेठ १२ गते भएको हो । यसका लागि ३० करोड रुपैयाँ लगानी हुनेछ भने २४ हजार दुई पांग्रे र ४ हजार तीन पांग्रे सवारी साधन उत्पादन गरिने छ । यसमा १४५ जनाले रोजगारी पाउने छन् ।

एसजी अटोक्राफ्ट प्रा.लि.

गत जेठ १७ गते उद्योग विभागमा दर्ता गरिएको विवरण अनुसार एसजी अटोक्राफ्टले वार्षिक विद्युतीय मोटरसाइकल तथा स्कुटर २१ सय थान, विद्युतीय तीनपांग्रे १२ सय थान, विद्युतीय कार–जिप ६ सय र इ–बस १२० युनिट उत्पादन गर्नेछ ।