अर्थमन्त्रीको राजीनामाले छोएन सेयरबजारलाई?


काठमाडौं । विगत ११ महिनादेखि निरन्तर घटिरहेको सेयरबजारमा अर्थमन्त्री जर्नादन शर्माले बोलेका कुराहरु विवादिन बन्दै आएका थिए । अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरको आपसी टकराबको प्रत्यक्ष प्रभाव सेयरबजारमा परेको भन्दै लगानीकर्ताहरु अर्थमन्त्रीप्रति रुष्ट बनेका थिए ।

अर्थमन्त्रीले राजीनामा दिए बजार केही सकरात्मक बन्ला भन्ने अपेक्षा गरेका केही लगानीकर्ताहरु अहिले निराश बनेका छन् । ३२ सय को सेयर बजार १८ सयमा आउँदा अर्थमन्त्री र गर्भनर मध्ये कुनै एकजना पदबाट हट्नुपर्छ अनिमात्र बजारमा केही शुभसंकेत आउने लगानीकताहरु बताउँदै आएका थिए ।

यता, हिजो अर्थमन्त्री शर्माले राजीनामा दिएपछि सेयर बजार के होला ? भन्ने कौतुहलता यतिबेला आम लगानीकर्तामा देखिएको थियो । शर्माले राजीनामा दिएपछि शेयर बजार हरियो हुने आंकलन गरिए पनि यसो हुन सकेन ।

केही विष्लेशक, लगानीकर्ताकर्ता तथा सेयरबजारका जानकारहरु अर्थमन्त्री भन्दा पनि राज्यले ल्याउने नीतिगत कुराहरुले मात्रै बजारमा प्रभाव पार्ने बताउँछन् ।

अर्थमन्त्री आउने जाने भन्दा पनि नीतिगत कुरामा सुधार नभएसम्म सेयरबजार लयमा नफर्किने सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल बताउँछन् ।

राज्यले सेयरबजारलाई प्राथमिकतामा राख्नै सकेन महत्व नै बुझेन । अर्यालले भने अर्थमन्त्रीले कहिल्यै बुझेनन्, अर्थमन्त्री भन्दा पनि स्थायी सरकार भनेको व्यूरोक्रेसी हो त्यहाँ कसैले बुझेनन् । अब सेयरा शिक्षा लगानीकर्तालाई होइन राज्यको नीति निर्माण गर्ने व्यक्तिलाई दिनुपर्ने भयो ।

जुन कुराले बजारलाई असर गरेको छ त्यो कुरा सुधार हुनेपर्ने हो अहिले त नीतिगत निर्णयले पनि हान्ने, तरलताले पनि हान्ने, बैंक तथा वित्तीय संस्थाको आम्दानी पनि घट्दो अवस्थामा रहेको छ, आज सेयर किन्यो भोली सर्पोट हुने स्थिती छैन त्यस्तैले अन्य क्षेत्रको लगानी सेयरबजारमा नआएसम्म बजारको स्थिती यस्तै नै हुने अर्यालको भनाई छ ।

अर्थमन्त्री शर्माले राजीनामा दिएको भोलिपल्ट आज सेयरबजार दोहोरो अंकले घटेको छ । शर्माको राजिनामापछि बजारमा उत्साह देखिने विश्लेषकहरूले बताउँदै आए पनि त्यो हुन सकेन ।

अहिले सेयरबजार मन्त्री फेरबदल भन्दा पनि याँ नीतिगत कुराहरुमा के कति परिर्वतन हुन्छ भन्ने महत्वपूर्ण रहेको पुँजी बजार संघकी अध्यक्ष राधा पोख्रेल बताउँछिन् ।

अर्थमन्त्रीले त राजीनामा दिइसकेकाले उहाँको बर्हिगमन भन्दा पनि अब आउने अर्थमन्त्री पुँजीबजारमैत्री हुनुहुन्छ कि हुँदैन भन्ने मुख्य कुरा हो उनले भनिन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९बिहीबार० सेयर कारोबार मापक नेप्से परिसूचक १६.६० अंकले घटेर २०२७.३२ अंकमा झरेको छ । नेप्से ०.८१ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.४२ अंकले घटेर ३८५.४९ अंकमा झरेको छ ।

नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७ करोड ६५ लाख ८९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज आरबिबि म्युचुअल फण्ड १ को मूल्य सबैभन्दा धेरै बढेको छ । उक्त फण्डको मूल्य ३.९३ प्रतिशतले बढेको छ ।

यस दिन समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । संस्थाको सेयरमूल्य ५.२० प्रतिशतले घटेको छ ।

कूल २२९ वटा कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८० करोड ६२ लाख ४ हजार ७ सय ६५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।