सेयर बजारले गर्यो मौद्रिक नीतिको स्वागत, नेप्से परिसूचक ६१ अंकले बढ्याे


काठमाडौं । सेयरबजारमा मौद्रिक नीतिको प्रभाव देखिएको छ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर धितो कर्जामा लगाएको ४/१२ को क्याप हटाउनुका साथै २५ लाख सम्मको कर्जामा जोखिम भार १०० बनाउनुले पनि सेयरबजारमा साना लगानीकर्तालाई राहत पुगेको विज्ञहरु बताउँछन् ।

सेयरबजारलाई ४/१२ ले एकदमै गाँजेको थियो । राष्ट्र बैंकको यो कदमले बजारमा सकरात्मक प्रभाव परेको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए ।

अहिलेको मौद्रिक नीतिमार्फत राष्ट बैंकले सेयर बजार पनि केही हो भनेर सम्बोधन गरेको छ । अर्यालले भने “१२ करोडको सीमा त ठिकै हो तर हाम्रो विरोध भनेको त्यो १२ करोड ऋण लिन ३ बैंक धाउनुपर्ने बाध्यता किन बनायौ भन्ने हो, १२ करोडको सेयर लोन भनेको हाम्रो सेयरबजारमा यथेष्ट हो त्यसैले राष्ट बैंकलाई धारे हात लगाएर बस्नु पर्ने अवस्था छैन ।”

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६१.०५ अंकले बढेर २०७८.५१ अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि १२.०९ अंकले बढेर ३९८.३३ अंकमा पुगेको छ ।

विगतमा पुँजीबजारलाई विगार्ने कडा गर्ने हुन्थ्यो । यसपालिको मौद्रिक नीतिमा त्यस्तो नभएर केही हदसम्म सकरात्मक देखिएको नेपाल इन्भेर्टस फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले बताए ।

“राष्ट बैंकले ४/१२ को नीति ४/१ मा कायम गरेको छ,” रौनियारले भने, “हामीले त ४/१२ को सीमा मात्रै होइन १२ करोडको सीमा पनि खारेज गर्नुपर्छ भनेका हौं ।”

राष्ट बैंकले मर्जरमा जाने कम्पनीहरुको सेयर कारोबार रोक्का लगायतका विषयहरु नीतिमा समेटेको छ यो स्वागत योग्य रहेको रौनिहारले बताए ।

सेयर बजार डिमाण्ड र सप्लाईमा चल्ने हुनाले यसलाई कुनै पनि निकायले नियन्त्रण गर्न नहुने उनको भनाई छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेको छ ।

आइतबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३९ करोड ७१ लाख ३१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज ३ वटा कम्पनीले सबैभन्दा धेरै कमाएका छन् । सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टीपर्पस फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै आजको दिन १० प्रतिशत एनएमबी डिबेञ्चर २०८५ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त डिबेञ्चरको मूल्य १.५२ प्रतिशतले घटेको छ ।

कूल २१९ वटा कम्पनीको ६४ लाख २३ हजार एक सय ४६ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ७३ करोड ९ लाख २७ हजार २ सय ९७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।