यस्तो छ खीर खाने प्रचलनको इतिहास


काठमाडौं । आज साउन १५ अर्थात् खीर खाने दिन । मानव सरीरका लागि उत्तम खाद्य पदार्थ दूधको परिकार खीर खाने दिनलाई परापूर्व कालदेखि पर्वकै रुपमा मनाउदै आइएको छ ।

दूध तथा दुग्ध पदार्थको महत्वलाई दर्शाउने यो दिनलाई सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले पनि पर्वको रुपमा विभिन्न कार्यक्रम गर्दै मनाउने गर्दछन् । दूध मूल्य श्रंखलाका महत्वपूर्ण हिस्सेदारहरु कृषक, उद्योगी र उपभोक्ता सबैले आजको दीन खीर खाएर मनाउने भएकाले आज दूधको माग ह्वात्तै बढ्ने समेत गरेको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डको नेतृत्वमा नेपाल डेरी एसोसिएशन, डेरी उद्योग संघ, दुग्ध विकास संस्थान, केन्द्रिय दुग्ध सहकारी संघ, केन्द्रिय पशुपन्छी तथा मत्स्य पालन सहकारी संघ, नेपाल डेरी साईन्स एशोशिएसन लगायत सरोकारवालाको सहकार्यमा ललितपुरको हरिहरभवनमा खीर खाने कार्यक्रम आयोजना गरिएको छ ।

खीरको महत्वलाई दर्शाउन खीर खाने दिवस मनाउन थालिएको बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले बताए । पहिले पहिले किसानले मात्र मनाउदै आएको यो पर्व दूध तथा दुग्ध पदार्थको व्यवसायीकरणसँगै दूध तथा दुग्ध पदार्थ उत्पादन, प्रशोधन तथ वितरण प्रणालीमा संलग्न पक्षहरुले देशैभर विभिन्न कार्यक्रमको आयोजना गरेर दिवस मनाउन थालेका हुन् ।

“दूध मानव जीवनको लागि अति उत्तम खाद्यपदार्थ हो । बच्चा जन्मे पश्चात आमाले दूध सेवन गराउने सर्व विदित्तै छ । दूधमा चिल्लोपदार्थ, प्रोटिन, कार्वोहाइड्रेड, खनिज पदार्थ र भिटामिन जस्ता शरीरलाई चाहिने अति आवश्यक तत्वहरु पाइने हुनाले दूध एक सम्पूर्ण खाद्य पदार्थ हो,” खीर खाने दिनको उपलक्ष्यमा नेपाल डेरी एसोसिशनले जारी गरेको वक्तव्यमा उल्लेख छ । एसाेशिएसनका अध्यक्षा प्रल्हाद दाहालले दिवस उद्याेगीकाे पनि महत्वपूर्ण पर्व रेहेकाे बताउछन् ।

नेपालको खाद्य नियमावली अनुसार पास्चराइज (मानक प्रशोधित) दूधमा हुने ३.० प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट करिब ६० क्यालोरी शक्ति प्राप्त हुन्छ । डेरी उद्याेग संघका अध्यक्ष राजकुमार दाहालले दुग्ध पदार्थकाे विविधिकरणका लागि उद्याेगीकाे प्राथमिक कार्य भएकाले खीर दिवस प्राथमिकताकाे पर्व बनेकाे बताए ।

साधारणतया १०० ग्राम खीरमा ९२ क्यालोरी शक्ति प्रदान हुन्छ । खीरको वनावट अनुसार खीरमा पानी ८८.९ ग्राम, कावोहाईड्रेड १६.४ ग्राम, प्रोटीन ३.३ ग्राम, फ्याट् १.३ ग्राम, फाईवर ०.१ ग्राम पाइन्छ । वर्षाैंदेखि किसानले मात्र मनाउइरहेकाे पर्वलाइ सरकारले पनि प्राथमिकता दिएकाेमा केन्द्रीय दुग्ध सहकारी संघका महासचिव राम आचार्यले खुशी व्यक्त गरे।

खीर खाने प्रचलनको इतिहासः

विश्वमा खीर खाने प्रचलन १४ औं शताव्दीवाट शुरु भएको पाइन्छ । खीर खाने प्रचलनको शुरुवात छिमेकी मुलुक चाईनावाट भएको अनुमान गरीन्छ । हाल खीर विश्वका प्रायजसो मुलुकहरुले विभिन्न नामवाट (भारतको गुजरातमा दूधपाक, वंगालीमा पायस, श्रीलंकार्मा क्रीवाथ) प्रयोग गर्ने गरेको पाईन्छ ।
खासगरी मध्यपूर्व एशिया, उत्तर अफ्रिका, पश्चिम एशिया, सार्क क्षेत्रमा वढी मात्रामा खीरको प्रयोग हुने गरेको पाईन्छ । यूरोप र अमेरीकामा समेत खीर लाई एक विशिष्ट खानाको रुपमा प्रयोग गरेको पाईन्छ । बिशेषत भारतीय उपमहाद्वीपमा खीर वढी उपभोग गर्ने गरेको पाईन्छ ।

नेपालमा यसको प्रचलन परापूर्व कालदेखी नै गरी आएको पाईन्छ । विशेषत नेपाल कृषि प्रधान देश भएकोले धान रोपाई गर्ने कार्य आषाढ महिना सम्ममा सम्पन्न गरिन्छ । खेती कार्यमा ह्रास भएको शक्तिलाई पुनर्ताजगी प्रदान गर्नको लागि श्रावणमा खीर खाई खाने गरिन्छ ।

श्रावण १५ गतेको दिन खीर खाने प्रचलन रही आएकोमा बोर्डको मिति २०७७ फागुन १५ गते बसेको कार्यकारी समितिको १११ औं वैठकले श्रावण १५ लाई खीर खाने दिनको रुपमा (खीर दिवस) मनाउने निर्णय गरेकोले थियो ।

पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग बृद्धि गर्न प्रचार प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जागृत गराउने, दूध तथा दुग्ध पदार्थको उपभोगमा सवैको पहुंच पु-याउन पहल गर्ने र दूध तथा दुग्ध पदार्थको उपभोग मार्फत खाद्य पोषण सुरक्षणमा सुनिश्चित गर्न सहयोग पु-याउने जस्ता उद्देश्य लिएर खीर दिवस मनाउने प्रचलनले वर्षेनी निरन्तरता पाउन थालेको छ ।