बैंक तथा वित्तीय संस्थाले खराब कर्जा लुकाएका हुन् ?


एक वाणिज्य बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृतले मुद्रा स्फिति, घर जग्गा कारोबारमा मन्दी भएका कारण खराब कर्जा कतै ढाकछोप गरेको त होइन भन्ने प्रश्न उब्जिएको बताएका छन् ।

काठमाडौं । वाणिज्य बैंकहरूले गत वर्ष आर्थिक वर्षमा २३ प्रतिशतभन्दा बढी नाफा कमाए । गत वर्षको सुरुको ६ महिनामा अत्यधिक लगानी गरेका बैंकहरूले पछिल्लो ६ महिनामा लगानी गर्न नसकेपनि २३ प्रतिशतभन्दा बढी नाफा कमाएका हु्न् ।

बैंकहरुले नाफा कमाए सँगै खराब कर्जा लुकाएका त होइनन् भन्ने प्रश्न उठेको छ । वाणिज्य बैंकहरुको खराब कर्जा १.२० रहेको छ भने बैंक तथा वित्तीय संस्थाको औषतमा खराब कर्जा १.३१ रहेको छ । मुद्रा स्फिती, घर जग्गा कारोबारमा मन्दी, व्यापारीहरूले भन्दै आएका ऋण तिर्न नसक्ने अवस्थाको कारण पनि बैंक तथा वित्तीय संस्थाले खराब कर्जा ढाकछोप गरेका हुन् कि भन्ने प्रश्न उठेको हो ।

जेठमा औषतमा १.४४ रहेको खराब कर्जा असारमा १.३१ रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । अघिल्लो वर्ष असारमा १.४८ रहेको खराब कर्जा यो वर्ष घटेको हो । अघिल्लो वर्ष वाणिज्य बैंकको मात्र खराब कर्जा १.४१ रहेको थियो । तर गत वर्ष भने खराब कर्जा घटेको छ । एक वाणिज्य बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृतले मुद्रा स्फिति, घर जग्गा कारोबारमा मन्दी भएका कारण खराब कर्जा कतै ढाकछोप गरेको त होइन भन्ने प्रश्न उब्जिएको बताएका छन् ।

उनले भने,“अहिलेको अवस्था पहिलेको जस्तो बजारमा पैसा पनि छैन, मुद्रास्फिती पनि बढि रहेको छ, घर जग्गा कारोबारमा पनि मन्दी आएको छ, यस्तो बेलामा कहाँबाट पैसा आयो ।” बैंकहरुको खराब कर्जा घट्नुमा उनले शंका व्यक्त गरे ।

गत वर्ष बैंक तथा वित्तीय संस्थाको ऋण घाटा प्रावधान (लोन लस प्रोभिजन) २५ अर्ब ३६ करोड ७० लाख रुपैँया रहेको छ । जेठमा २३ अर्ब ९३ करोड रुपैँया ऋण घाटा प्रावधान रहेकोमा असारमा मात्रै २ अर्बभन्दा बढिले बढेको हो । अघिल्लो वर्ष बैंक तथा वित्तीय संस्थाको ऋण घाटा प्रावधान ३८ अर्ब ८७ करोड ४० लाख रुपैँया रहेको थियो । अघिल्लो वर्षभन्दा गत वर्ष ऋण घाटा प्रावधान घटेको भए पनि विभिन्न कारणले गर्दा खराब कर्जा लुकाएको अनुमान गर्न सकिने पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले बताए ।

“उद्यम व्यवसायीले पनि कोभिडले गडबढ गर्यो हामी ब्युँतिएको छैन भनेर छुट मागि रहेको छ । बैंकहरुको ऋण व्यवसायीहरुले चुक्ता गरिराखेको देखिएको छ, राष्ट्र बैंकले छानबिन गरेर ननिकालेसम्म हामीले अनुमान गर्ने हो, खराब कर्जा लुकाएको भन्ने हामीले अनुमान मात्र गर्ने हो,” क्षेत्रीले भने ।

उनले व्यावसायीले एद्यम व्यवसाय पनि खत्तम छ ऋण तिर्न सक्दैनौ भनेका कारण पनि अनुमान गर्न सकिने उनले बताए । “कर पनि तिरिराखेका छन् उठिराखेकै छन्, ९० प्रतिशत भन्दा बढि राजस्व उठ्यो, यता खराब कर्जा पनि घटेकोले त्यहाँ भित्र केहि न केहि नभएसम्म त्यसै घटेको छैन खराब कर्जा नबढ्नु बैंक तथा वित्तीय क्षेत्रको लगानी बढ्यो हामीलाई पैसाले पुगेन भन्नु सबै कुराले बाघ कराउने बाख्रा हराउने बाराबर भएको छ,” उनले भने ।

बैंक तथा वित्तीय संस्था परिसंघका वरिष्ठ उपाध्यक्ष भोज बहादुर शाह बैंकको खराब कर्जा नघटेको बताउँछन् । हरेक बैंकको प्रोभिजन बढेको कारण खराब कर्जा घटेको भन्न नमिल्ने उनले बताए । “गत आर्थिक वर्षको सुरुमा बैंक तथा वित्तीय संस्थासँग तरलता (लगानी योग्य रकम) पर्याप्त भएको कारणले कहाँ लगानी भन्ने थियो । बैंक तथा वित्तीय संस्थाले टे«डिङमा, कम उत्पादनशील क्षेत्रमा लगानी गरेका थिए,” उनले भने,“अहिले बैंक तथा वित्तीय संस्थासँग तरलता नभएको कारणले अब पनि ढाकछोप गर्ने ऋणहरुले ब्याज साँवा तिर्न नसकेको भन्दै बैंक तथा वित्तीय संस्थाले सोधभर्नाको लागि ऋण दिने काममा लागे भने बिस्तारै संकुचनमा गएर एकदिन देखिन्छ ।”

राष्ट्र बैंकका सूचना अधिकारी नारायण प्रसाद पोख्रेलले गाह्रकहरुले बैंक स्विप्mट गरेका कारण पनि खराब कर्जा घटेको हुन सक्ने उनले बताए । कर्जाको वर्गीकरण गरेर राष्ट्र बैंकमा प्रस्तुत गर्नुपर्ने र राष्ट्र बैंकले अनुगमन निरिक्षण गर्ने भएको बदमासी गर्न नसक्ने उनले बताए ।

“ग्राहकहरुले कहिलेकाँही बैंकहरु स्विफ्ट गर्ने, एउटा बैंकमा ३० लाखको कर्जा छ भने अर्को बैंकमा ५० लाखको कर्जा एप्रुभ गराउने यता ३० लाख तिर्ने उता ५० लाख ऋण लिने गरेको देखिन्छ, यसो हेर्दा एभरग्रिनिङ हो कि जस्तो देखिन्छ,बैंकको रिकभरी र बैंकको लोन प्रोभिजन इन्टरयाक्ट छ, त्यसले बैंकलाई अप्ठेरो पर्ने स्थिती छैन,” पोख्रेलले भने ।