ईभी एक्स्पोले भविष्यमा विद्युतीय सवारीको आयात र माग बढ्छ : सभापति बराल


काठमाडौं । आगामी दिनमा नेपालमा विद्युतिय सवारीको आयात र माग बढ्ने आकलन गरिएको छ । नेपालको इतिहासमा पहिलो पटक आयोजना गरिएको नाडा ईभी एक्स्पोले भविष्यमा सकारात्मक प्रभाव पार्ने नाडा ईभी एक्स्पोका सभापति अनुप कुमार बरालले बताए ।

‘नेपालमा विद्युतीय गाडीको भविष्य सुनौलो रहेको बरालले बताए। ”चार दिनसम्म चलेको एक्स्पो आइतबार सम्पन्न भएको छ । ”एक्स्पोमा सहभागि भएका कम्पनीहरुले बुकिङ लिन पाएका छन् भने अवलोकन गर्न आउने आगुन्तुक पनि विद्युतीय सवारीमा आफूहरुले सोचेको भन्दा फरक देख्दा खुशी रहेको छन् । त्यसैले हामी आयोजक टिम यसै खुशी रहेका छौं,” लुम्बिनीसञ्चारसँगको कुराकानीमा बरालले भने।

एक्स्पोमा करिब २५ ब्राण्डका चारपाङ्ग्रे र दुईपाङ्ग्रे ईभी बिक्रेता ब्राण्डका सहभागिता रहेको थियो । विद्युतीय सवारीमा अहिले नै मानिसमा विश्वास नभए पनि अहिलेको रौनक देख्दा भविष्यमा यसको उल्लेखनिय माग र आपूर्ति हुनेमा विश्वास रहेको बरालको भनाइ छ ।

“विद्युतीय स्कुटर, मोटरसाइकल होस् या कार तथा लाइट कमर्शियल भेहिकल, यसलाई हामीले देख्न र उपभोग गर्न थालेको भर्खर ८ अथवा १० वर्ष भएको छ । यो ८ अथवा १० वर्षमा पनि पछिल्ला ३ वर्षमा मात्रै ईभीको विक्री बढेको हो,’’ उनले भने ।

चार्जिन स्टेसनको विषयमा हेर्दा आजको दिनमा धेरै कम्पनीहरुले चार्जिन स्टेसनको योजना बनाएर आफ्ना ग्राहकहरुलाई सेवा सुविधा प्रदान गरेको बराल बताउँछन् । उनका अनुसार सबै कुरा आजको दिनमा नहुने र विस्तारै सरकारले पनि यसको बारेमा अध्यान गरेर देशभर चार्जिन स्टेसन निर्माणमा विशेष ध्यान दिएको छ ।

बरालले नेपाली चाड–पर्वहरुको पूर्वाधारमा आयोजना भएको यस एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्याधिक जनचेतना अभिवृद्धि गर्न एवं सम्बन्धित सम्पर्ण अटो व्यवसायीहरुको प्रवद्र्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्ने विश्वास रहेको बताएका छन् ।

एक्स्पोमा टाटा, हुन्डाई, टेस्ला, नेटा, बीवाइडी, चांगन, ज्यागका चारपांग्रे विद्युतीय गाडीको सहभागिता छ । अग्नी ग्रुपको ३ पांग्रे टेरो ब्रान्ड रहेको छ । दुई पांग्रेमा लेभ्निङ, एनआईयू, यडिया, ओला, सुपर सोको, हिरो इलेक्ट्रिक, दुहान, जोय, सेगवे, आइमा, टेलजी, पियोर, लेक्ट्रो, रेमोटर्स लगायतका ब्रान्डको उपस्थिति रहेको छ ।