तीन वर्षपछि लुम्बिनीका बिजुली बसको यान्त्रिक परीक्षण शुरु


काठमाडौं । दशैँको अवसर पारेर लुम्बिनी विकास कोषले आजदेखि विद्युतिय गाडीको अफिसियल यान्त्रिक परीक्षण शुरू गरेको छ । ५ वटा विद्युतिय बस लुम्बिनी एयपोर्ट बेलहिया हुँदै रामग्राम , लुम्बिनी एयरपोर्ट हुँदै बुटवल गोलपार्क, लुम्बिनीदेखि तिलौराकोट (बुद्व सर्किट) परिक्रमा, लुम्बिनी वरिपरि सटल बस, लुम्बिनीदेखि एयरपोर्ट बेलहिया मणिग्राम हुँदै देवदह रूटमा गाडी चल्ने छन्।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तय, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कोषाध्यक्ष सिद्विचरण भट्टराईले शुभारम्भ गरेका थिए ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजि क्षेत्र र कोषको तर्फबाट १/ १ वटा बस चालकहरुको व्यवस्था गरिएको छ । यी सबै रुटहरुमा निशुल्क गाडी चल्नेछन् ।

कोषको सचिवालय बैठकले बोर्ड सदस्य बिश्वराज पौडेलको संयोजकत्वमा ३ सदस्यीय परिक्षण इकाई पनि गठन गरेको छ ।
यसअघि कोषाध्यक्ष सिद्धिचरण भटराईको संयोजकत्वमा गठीत कार्यदलले बिद्युतिय बस सञ्चालनका लागि कार्यविधि बनाएर कोषका अध्यक्ष संस्कृती पर्यटन तथा नागरिक उडयन मन्त्री जिवनराम श्रेष्ठलाई बुझाईसकेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले पर्यटन दिवसमा विद्युतीय गाडी तुरून्त सञ्चालन गर्न निर्देशन दिएपछि हरियो नम्बरप्लेटका लागि प्रदेश पर्यटन मन्त्रालयले सहमति दिएको छ ।