सरकारले ताेक्याे धानको समर्थन मूल्य,


काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को कात्तिक १६ गते बसेको बैठकले धानको समर्थन मूल्य तोकेको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि मोटा धान प्रतिक्विण्टल रु. २९६७/– र मध्यम धान प्रति क्विण्टल रु. ३१२८/– न्यूनतम समर्थन मूल्य तोकिएको छ । गत आर्थिक वर्षभन्दा यसपटक मोटा धानमा २१५ र मध्यम धानमा २२६ रुपैयाँ प्रतिक्विन्टल मूल्य बढी छ ।
न्यूनतम समर्थन मूल्य अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. बाट धान खरिद हुने व्यवस्था छ ।

न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्न रु. ३३ करोड बजेट व्यवस्था गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिट्टै सूचना प्रकाशन गरिने कृषि मन्त्रालयले जनाएको छ ।

हाल स्वीकृत कार्यविधि अनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरूलाइ रु. ११२/– प्रति क्विण्टल व्यवस्थापन खर्च उपलव्ध गराउने व्यवस्था छ । गत वर्ष यस कार्यक्रम अनुसार करिब ९ हजार मे.टन धान खरिद भएको थियो ।

यस आर्थिक वर्षमा ३ लाख मे.टन धान खरिदका लागि रु.३३ करोड रकम विनियोजन गरिएको मन्त्रालयको भनाइ छ ।