एन प्याब्सनले विद्यालयहरूलाई भन्यो,‘बस सञ्चालन गर्दा जोखिम न्यूनिकरणमा ध्यान दिनु’


काठमाडाैं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन)ले आफू मातहतका सबै विद्यालयलाई बस सञ्चालनमा जोखिम न्यूनिकरण गर्न परिपत्र गरेको छ ।

गत कात्तिक १७ गते काठमाडौं लाजिम्पाटमा बसबाट टाउको निकालेका एक बिद्यार्थीको टाउँको रुखमा ठोक्किएर निधन भए लगत्तै एन प्याब्सनले आफू माततहका विद्यालयलाई सजकता अपनाउन परिपत्र गरेको हो ।

नेसनल प्याब्सन लगायत सरोकारवाला संस्थाहरु र ट्राफिक प्रहरी महाशाखा बिचमा कात्तिक २० गते भएको छलफलपछि विद्यालयमा सञ्चालन गरिने विद्यालय बस तथा भ्यानहरूमा हुनसक्ने जोखिमलाई न्यूनिकरण गर्न मातहतका सम्पूर्ण सदस्य विद्यालयलाई सर्कूलर छ ।

एन प्याब्सनले विद्यालय बस विहान ९.३० बजे भित्र र ४.०० बजे भित्र विद्यालय प्रवेश गराइसक्न भनेको छ । निर्देशिका/मापदण्डले तोकेको भन्दा बढी विद्यार्थीलाई बसमा यात्रा नगराउन समेत भनेको छ ।

तोकिएको स्थानमा मात्र विद्यार्थीलाई चडाउने र ओराल्ने गर्नुपर्ने, सका झ्यालहरूमा सुरक्षा डण्डी अनिवार्य हुनुपर्ने, बसमा सहचालक/सहयोगि अनिवार्य हुनुपर्ने,बसको कागजपत्र तथा प्राविधिक जाँच हुनुपर्ने गरी सर्कुलर गरिएको महासचिव पारशमणि दाहालले जानकारी दिए ।

अध्यक्ष पाण्डव हमालले जारी गरेको सर्कुलरमा दिउँसोको समयमा बस पार्किङ गर्दा स्कूल कम्पाउण्ड वा पार्किङ स्थलमा नै गर्नुपर्ने, सडक किनारमा गरेको पाइएमा कार्यबाही गरिने, बस चालक र सहचालकले टल्कने सेफ्टि ज्याकेट लगाउनु पर्ने, भाडामा प्रयोग गरिएका स्कूल बसमा स्कूलको नाम प्रष्ट देखिने गरी फ्लेक्स वा प्लेटबोर्ड हुनुपर्ने उल्लेख छ ।

त्यस्तै बस चालक अनुमति प्राप्त ब्यक्ति र निजको न्युनतम ३ बर्षको अनुभव भएको हुनुपर्ने,बस भित्र बिपरित सिट राख्न नहुने, चालक वा सहचालकले मदिराजन्य तथा लागुऔषध सेवन गर्न नहुने, यस्तो गरेको पाईएमा जरिमाना र जेल सजाय समेत हुने स्मरण समेत परिपत्रमा गरिएको छ ।

एन प्याब्सनले चालक, सहचालक/सहयोगीले यौन जन्य हिंसा झल्कने वा आभाष आउने क्रियाकलाप गर्न नहुने, विद्यार्थी, अभिभावक वा सम्बद्ध पक्षसँग नम्र, सभ्य र संस्कारयुक्त बोलिबचन र क्रियाकलाप (ब्यवहार) गर्न नहुने भनेको छ ।

परिपत्रमा समय समयमा नजिकको ट्राफिक कार्यालयले बसका चालक, सहयोगिहरुलाई एकिकृत ढंगले सचेतना कार्यक्रम सञ्चालन गर्ने, विद्यालय र सम्बन्धित ट्राफिक कार्यालयको संयोजनमा आवश्यकतानुसार विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम ट्राफिक कार्यालयले गर्ने, विद्यालय बस सुरक्षाका लागि उल्लेखित सम्पूर्ण प्रतिबद्धता देशभरका विद्यालय र ट्राफिक कार्यालयको पहलमा सञ्चालन गर्ने समेत एन प्याब्सनको परिपत्रमा उल्लेख गरिएको छ ।